बोवाङका सुत्केरीले ६ महिना पानी पिउन पाउँदैनन्

सिर्जना पन्त, बागलुङ ।

‘सुत्केरी भएको ८ महिना भयो, यो अवधिमा पानी भन्दा धेरै रक्सी पिए ।’ बागलुङको ढोरपाटन नगरपालिका–७ बोबाङकी सपना कायत आफ्नो कहाली लाग्दो सुत्केरी अनुभव सुनाउदै हुनुहुन्थ्यो । दुई वर्ष पहिले ढोरपाटन नगरपालिका–६ ओख्रेनीका बिजय कायतसंग विहे गर्नुभएकी १९ बर्षिया सपनाको छोरी जन्मिएपछि दैनिकी फेरिएको छ ।

मनतातो रक्सीको सुर्पीसँग सुरु भएको सपनाका दिन रक्सीको सुर्पीसंगै सकिन थाले । ‘शुरु शुरुमा त बानी पार्नै गाह्रो भयो । तर यहाँको चलननै यस्तै रहेछ,’ सपना भन्नुहुन्छ,–‘जाँडरक्सी नखाने हो भने बच्चाको पेट दुख्छ, सुत्केरी कमजोर हुन्छन् र दुध पनि आउँदैन भन्दा रहेछन् ।’ सासु ससुरा, श्रीमान र घरका सबैजसोले रक्सी पिउने । नानी जन्मे पछिको एक महिना तिर्खा लाग्दा पनि रक्सी मात्रै दिएको र पिएको सपना बताउँनुुहुन्छ ।

सपनाले १२ कक्षा सम्म अध्ययन गर्नुुभएको छ । गर्भवति र सुत्केरी महिलाले मादक पदार्थ सेवन गर्नु हुँदैन भन्ने उहाँलाई जानकारी नभएको पनि होइन । तर, समाज र परिवारमा बर्षौ देखि चलि आएको परम्परागत संस्कार र परम्पराको आँफुले चाहेर पनि प्रतिकार गर्न नसकेको उहाँको कथन छ ।

सपनाको मात्र होइन, बागलुङको बोबाङमा बसोबास रहेको कायत समुदायका हरेक महिलाको एउटै अनुभव छ । यहाँका सुत्केरीलाई दैनिक ४ देखि ६ बोतल रक्सी र जाँड खुवाउने गरेको स्थानीय सुनी कायत बताउँनुहुन्छ । ‘शुरुमा अप्ठ्यारो लाग्यो, महिला मान्छे यसरी रक्सी खानु राम्रो होइन भन्ने पनि लाग्यो, खाँदै गएपछि विस्तारै नशा नभई नहुने अवस्थामा पुग्ने डर भइसक्यो,’ सुनी भन्नुहुन्छ–‘तीन छोराछोरी हुँदा सम्म सासु र परिवारको करले खाए, मेरा पाँच छोराछोरी छन्, खाँदा–खाँदै दिनदिनै खाने बानी परिसक्यो ।’ छोराछोरी जन्मदा रक्सी खान सिक्नुभएकी सुनी अहिले ५० वर्ष पुग्नुभएको छ । जाड रक्सी नखाने हो भने काम गर्न नसकिने र कमजोर हुने डर रहेको उहाँको भनाई छ । आफ्नो समुदायमा रक्सी खानु नौलो विषय नभएको भन्दै छोरी र बुहारीलाई आफैले रक्सी पारेर खुवाउने गरेको उहाँ बताउनुहुन्छ ।

सोही ठाउँकी पुनम कायत अहिले २७ बर्ष हुनुभयो । एक छोरा र एक छोरीका आमा बन्नुभएका पुनमले दुई सन्तान जन्मदा ६ महिना सम्म पानी पनि नपिएर जाँड रक्सी मात्र खाएको बताउनुहुन्छ । ‘सुत्केरी हुँदा बच्चा बिरामी हुन्छ भनेर हामीलाई पानी पनि पिउन दिँदैनन्’, पुनमले भन्नुभयो–‘यहाँ गाउँभर सुत्केरीका बेला तिर्खा लाग्यो भने रक्सी नै पिउने हो ।’ सपना, सुनी र पुनमको मात्र होइन, लालमाया, खगिसरा, भिमकुमारी र दिलकुमारीको पनि कथा एउटै छ । सानैमा विवाह, विवाह पछि बच्चा र बच्चा जन्मेपछि मादक पदार्थ सेवन गर्न सुरु गरेका महिला कायत समुदायको घर–घरमै छन् ।

बोबाङका गाउँघर र टोलमा घर–घरमै जाँडरक्सी बनाउने गरिन्छ । यसरी सुत्केरी हुँदा साथ जाँड रक्सी खुवाउने गरे पछि आमा र बच्चालाई धेरैबेर निद्रा पनि लाग्ने स्थानीय बताउँछन् । तर, यो स्वास्थ्यका हिसावले कति उपर्युक्त हो त ? यसबारे सरोकारवालाको यथोचित ध्यान, अध्ययन र खोज पुग्न सकेको छैन ।

गर्भवती भएको अवस्थामा महिलाले मादक पदार्थ सेवन गर्दा बच्चा खेर जान सक्ने, जन्मिए पनि शारीरिक रुपमा अपाङ्गता भएको, वौद्धिक रुपमा अपाङ्गता भएको जन्मन सक्ने धौलागिरी अञ्चल अस्पताल बागलुङका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सौगात कोइराला बताउनुहुन्छ । ‘गर्भवती महिलाले जाँड रक्सी सेवन गर्दा बन्दै गरेको बच्चाको वृद्विविकासमै खलबल पुग्छ,’ डा.कोइराला भन्नुहुन्छ–‘आमालाई त असर हुन्छ नै बच्चाको कलेजो निर्माण हुने देखि जन्मेको बच्चा पनि अपाङ्गता भएर जन्मने सम्भावना निकै बढी हुन्छ ।’ आमाले मादक पदार्थ सेवन गरेको प्रभाव बालबालिकामा तत्काल देखिएन भने पनि दीर्घकालिन रुपमा समेत असर देखिने उहाँको भनाई छ । बच्चा ख्याउटे हुने, खाएको खाना नपच्ने, आमाको दुध मात्र खुवाउनुपर्ने बच्चालाई आमाले रक्सी खाएर दुध चुसाउदा पोषणमा असर पर्न गई औसत आयु कम हुने, मानसिक र वौद्विक रुपमा कमजोर हुने सम्मको समस्या हुन सक्ने उहाँको भनाई छ ।

गर्भवती र सुत्केरीले मादक पदार्थ सेवन गर्नु हुदैन भनेर आफुले पटक–पटक भन्ने गरेको भएपनि आफ्नो कुरा कसैले नमानेको स्थानीय बिश्वास कायत बताउनुभयो । कायत समुदायकै पहिलो स्वास्थ्यकर्मी समेत रहनुभएका हेल्थ असिष्टेन्ट बिश्वासले आफ्नो समुदायका महिला, पुरुष, बालबालिका र युवा युवतीलाई सचेतनाको आवश्यकता रहेको बताउनुहुन्छ । यहाँका महिला, बालबालिका, युवा युवती र जेष्ठ नागरिकले समेत खुलेरै मादक पदार्थ सेवन गर्ने गरेका छन् । यसरी मादक पदार्थ सेवन गर्दा घर परिवार र समाजमा झै–झगडा मात्र होइन, बर्षेनी भिरबाट लडेर मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको बिश्वास बताउँहुन्छ । ‘यहाँको मुख्य अन्नबालीको रुपमा रहेको मकै, गहुँ, जौं र उवा हो,’–स्वास्थ्यकर्मी बिश्वासले भन्नुभयो,‘यहाँका मनिसहरु स्थानीय स्तरमा उत्पादन हुने अधिकांश अन्न जाँड रक्सी बनाएरै सक्छन्, यसले स्वास्थ्यमा असर त परेको छ नै, आर्थिक रुपमा पनि क्षति भएको छ ।’

लामो समयदेखि मदिरा सेवा गर्दै आएकालाई एक्कासी रोक्न ग्राहो हुने भन्दै वडाले मदिरा नियन्त्रण अभियान सुरु गरेको वडा अध्यक्ष दिपक थापाले बताउँनुभयो । यहाँका युवा युवती, बालबालिका देखि जेष्ठ नागरिकले समेत मदिरा र सुर्तिजन्य पदार्थ सेवन गर्नुहुन्छ, थापाले भन्नुभयो यस्लाई एक्कासी रोक्न नसकिने रहेछ, अभियान सुरु भएको छ विस्तारै नियन्त्रणमा आउँने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *