एमालेको बाध्यकारी तर अपरिहार्य ‘छोराछोरी’ अभियान

सम्पादकीय
नेकपा एमालेले गत मंसिरको संघीय निर्वाचन पश्चात चामत्कारिक सत्ता आरोहण ग¥यो । इतर चुनावी गठबन्धनका कारण पहिलो दलबाट मुलुकको दोस्रो दलमा खुम्चिए पनि सत्ताको गणितमा एमालेले सुरुवाती सफलता हासिल गरेको थियो । एमाले माओवादी गठबन्धनबाट नयाँ सरकार बने पछि एउटै गठबन्धन बनाएर चुनाव लडेका नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दल विपक्षीमा सीमित भए । तर, एमालेले राष्ट्रपति निर्वाचनमा आफ्नो अडान नछोड्दा माओवादीले पुनः पुरानै गठबन्धन ब्युँताएर कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायतको सरकार बनायो । र सरकारको तीन महिना कार्यकाल पुरा नहुँदै केन्द्रदेखि प्रदेश सरकारबाट बाहिरिनु प¥यो । उसो त एमालेले अघिल्लो निर्वाचनबाट पहिलो दल बने पछि सरकारको नेतृत्वमा रहँदा देखाएको गतिविधि, पटक पटकको संसद विघटन लगायतका कारण पार्टी बिभाजनदेखि धेरै क्षति बेहोर्न बाध्य बन्यो । अहिले त जनमत र जनविश्वास जोगाउन नसक्दा प्रमुख प्रतिपक्ष बेञ्चमा एमाले पुगेको छ ।

अझ हालै सम्पन्न भएको संघीय उपनिर्वाचनसम्म आइपुग्दा थप कमजोर सावित भयो । चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा एमाले तेस्रो, चौथो, पाँचौ दलमा सीमित हुन पुग्यो । यसले एमाले रन्थनिएको छ । मतदाताको बदलिएको रोजाइले राजनीतिक दलहरूमा सच्चिने वा सक्किने भन्ने बहस तिब्र बनिरहेको छ । सायद यही दबाबका कारण होला एमालेले १० वैशाखको उपचुनावपछि अरु दलभन्दा पहिले चुनावी समीक्षा र संगठन सुदृढीकरण तथा विस्तार योजनासहित पार्टीको पाँचौं केन्द्रीय समिति बैठक सम्पन्न गरेको छ । बैठकबाट एमालेले संगठन सुदृढ र विस्तारको लक्ष्यसहित ‘देशैभरी–छोराछोरी’ को अभियानको नयाँ योजना ल्याएको छ । गत मंसिरमा सम्पन्न निर्वाचनपछि सञ्चालन गरिएको दुई महिने ग्रासरुट अभियानले पार्टीमा युवाको आकर्षण र सहभागिता विस्तार गर्नुपर्ने देखिएकाले नयाँखाले अभियान सञ्चालन गर्ने लगायतका १४ वटा निर्णय गरेको छ । यसबाट एमालेले पार्टी संगठन सुदृढीकरण र विस्तारलाई महत्वका साथ उठाएको देखिन्छ । त्यसमा पनि युवा पुस्तालाई बढी केन्द्रमा राखेको छ ।

निःसन्देह आजको राजनीतिमा युवा पुस्ताको चरम निराशा मात्र होइन, तिब्र आक्रोश छ । नयाँ पुस्ता यस्तो राजनीति र बेथितिमा फसिरहेका पुराना नेताहरुको विकल्प खोज्न उद्यत छन् । यसको ज्वलन्त उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टी प्रति देखिएको नयाँ पुस्ताको आकर्षण र विश्वास हो । त्यो गत मंसिरको निर्वाचन र हालै वैशाख १० मा भएको उपनिर्वाचन हेरे पनि काफी पुग्छ । यसर्थ, युवा पुस्तामा घट्दो राजनीतिक चेतना, बढ्दो असन्तुष्टि र निराशा रोक्ने तथा भावी नेतृत्व पंक्ति तयार गर्ने उद्देश्यका साथ एमालेले ‘देशैभरी छोराछोरी’ लगायत संगठन सुदृढीकरण र विस्तार अभियान सञ्चालन गर्ने जुन निर्णय गरेको छ । यो उसका लागि अपरिहार्य निर्णय र कदम हो । यद्यपि, यो पछिल्लो चुनावी नतिजा र परिदृश्यबाट झस्किएर हतास मानसिकताबाट सिर्जित हो या साँच्चिकै एमाले आफ्नो पुराना कमजोरीहरुबाट पाठ सिकेर सच्चिने, सुध्रिने ध्येय र संकल्पका साथ यस्तो निर्णयमा पुगेको हो ? त्यो उसको कार्यशैली र व्यवहारहरुले निश्चय पनि निकट समयमै देखाउने छन् । सकिने कि सच्चिने विकल्प र बहसका बिच एमालेको अहिलेको कदम भने सकरात्मक छ । अब अरु पुराना मूलधारका पार्टी र नेताहरुले पनि नयाँ पुस्ताको अपेक्षा, असन्तुष्टि र आवश्यकतालाई गम्भिरतापूर्वक बोध गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *