कृषिलाई आधुनिकीकरण गर्न कृषकलाई अनुदानमा उपकरण

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रबिधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । कृषकलाई घाँस तथा पराल र छवाली काट्ने इलेक्ट्रिक च्यापकटर, मिनीटेलहर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

व्यक्तिगत कृषि दर्ता गरेका कृषक, सहकारी र कृषि समुहहरुलाई यस पटक कृषि औजार उपलब्ध गराइएको अधिकारीको भनाइ छ । १७ वटा चाप कटर, १८ वटा मिनिटेल हलो १४४ वटा प्लास्टिक टनेल वितरण गरेको उहाँले बताउनुभयो । सबै औजार पचास प्रतिशत अनुदानमा उपलब्ध गराइएको अधिकारीले बताउनुहुन्छ । कृषक र समुहहरुले माग गरे अनुसार कृषि औजार नगरपालिकाले खरिद गरेर वितरणरेको अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो – “नगरपालिकाले कृषकलाई आवश्यक औजार माग गर्नका लागि सूचना आह्वान गरेका थियौँ, सोही अनुसार ३ लााख ५० हजारको चापकटर, साढे चार लाखको मिनिटेलर र साढे चार लाखकै प्लास्टिक टनेल वितरण भएको छ, कृषि सामग्रीहरु पाएपछि कृषकहरु हषित हुनु भएको छ, यसले उहाँहरुलाई उत्पादन बढाउन मद्दत पुग्ने छ भने थप सक्रिय भएर कृषि कर्ममा लाग्न प्रेरणा मिल्ने छ ।”

कृषि औजार प्राप्त गर्नु भएका रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष रेशमराज रेग्मीले नगरपालिकाले दिएको औजारले ग्रामीण क्षेत्रमा घाँस काट्न किसानलाई ठूलो मद्दत पुग्ने बताउनुभयो । उहाँले आधुनिक प्रबिधिको विकाससँगै कृषिमा पनि आधुनिकीकरण हुन जरुरी रहेको भन्दै नगरपालिकाले कृषकलाई प्रबिधिसँग जोड्न थालेको बताउनुभयो ।

“हामी अहिले पनि धेरै पछाडि छौँ, प्रबिधिले फड्को मारि सक्दा पनि हामी अझै त्योसँग जोडिन सकेका छैनौँ, अहिले पनि परम्परागत शैलीमा काम गरि रहेका छौँ,” उहाँले भन्नुभयो – “अब कृषक पनि प्रबिधिसँग नजिक हुन जरुरी छ, अहिले बल्ल गाउँमा मिनीटेलर हलो आउन थालेका छन्, अन्य सामग्री अझै आइसकेका छैनन् ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले कृषिमा आधुनिकीकरण गर्न कृषकलाई आधुनिक औजार वितरण गरेको बताउनुभयो । कृषि उपकरणले कृषकको समय बचत हुनुका साथै उत्पादन बढाउन टेवा पु¥याउने अपेक्षा लिएको उप प्रमुख कायतको भनाइ छ । परम्परागत रुपमा पशुपालन र खेतीपाती गर्दा परनिर्भरनै हुनु परेको भन्दै अब हरेक कृषकलाई प्रबिधिसँग जोड्ने उहाँले बताउनुभयो ।

उपप्रमुख कायतले भन्नुभयो – “हाम्रो नगरपालिका भित्र धेरै खेतीयोग्य जमिन छन्, अहिलेसम्म कृषकहरुले पुरानै शैलीमा कृषि गर्दा धेरै उत्पादन हुन सकेको छैन, वर्ष दिन काम गरेर छ महिना खान नपुग्ने अवस्था छ, यो अवस्था नयाँ प्रबिधि नअपनाउँदा आएको हो, अब कृषकलाई आधुनिक प्रबिधिसँग जोड्ने र सामान्य ज्ञान दिने, उन्नत जातका बिउ भिजन वितरण गरेर कृषिबाट आत्मनिर्भर बनाउने प्रयास हामीहरुले गरि रहेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *