भेडीगोठालालाई शहर भन्दा भेडीगोठमै आनन्द


खेमराज गौतम, बागलुङ

५७ वर्षका रसा गुरुङको भेडीगोठमा अहिले २५० भेडा छन् । सानै उमेरबाट बाबु बाजेसंगै भेडा पालनमा होमिनुभएको गुरुङले भेठी गोठको कस्टकर जीवनलाई खुसीमा परिणत गर्दै आउनुभएको छ ।

रुर्वी रुकुमको लुकुम घर भएका रसा गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेको भेडीगोठमा एक महिनादेखि हुनुहुन्छ ।

अहिले पातीहाल्ने सिमानाको भेडी गोठमा गुरुङ सहित चार जना भेडी गोठालाको एक हजार १०० भेडाहरु छन् । “सानै उमेरबाट बाबु बाजेसंगै भेडा चराउन जंगलमा आइयो, बाबु बाजेले गरेको पेशालाई निरन्तरता दिनु पर्दछ भन्ने मान्यता थियो, युवा अवस्थामा दुई वर्ष मलेसिया गए चार वर्ष दुवै, शहर बजारको रमाईलो देखियो तर शहरमा भन्दा भेडी गोठमै आनन्द आउदो रहेछ” भेडी गोठाला रसा गुरुङले भन्नुभयो “आफ्नै बाबु बाजेले गरेको भेडापालनमै सन्तुष्ट बन्न सिके, अहिले भेडा चराउदै बागलुङको सिमानामा आएका छौं, असार सम्म बागलुङको ढोरपाटन स्थित बुकी पुग्नेछौं, बागलुङ, रोल्पा, रुकुम, प्यूठान लगायतबाट हजारौं भेडाको जमघट बुकीमा हुनेछ ।”

अहिले साँढ र भेडा खरिदका लागि रोल्पा, रुकुम र बागलुङबाट भेडीगोठमै खरिदकर्ता पुग्ने गरेको भेडापालक किसान गुरुङको भनाई छ । साँढलाई ३० हजार मुल्यमा गोठबाटै बिक्रि हुने गरेको रसा गुरुङको भनाई छ ।

“भेडा पालनमा निकै दुःख छ, तर जति दुःख भएपनि पुर्खाले गरेको पेशामा रमाउने बानी प¥यो, भेडा विक्रि हुँदा आनन्द आउछ,” उहाँले भन्नुभयो “लुकुमबाट शुरु भएको भेडा चराउने यात्रा बागलुङको बुकीमा पुगेपछि पुन फर्किन शुरु हुन्छ, लुकुममा मात्रै सय जना भन्दा बढीको भेडाका बथान छन्, हामीलाई शहर बजार भन्दा जंगलकै भेडीगोठ प्यारो लाग्छ ।”

भेडा चराउन जंगल आउदा फूर्सद नभएर भेडा फर्म दर्ता नगरेको बताउदै सरकारले गोठमै आएर भेडा फर्म दर्ताको अभियान चलाउनुपर्ने उहाँको सुझाव छ ।

भेडामा रोग लाग्दा समेत जंगलकै जडिबुटी खुवाएर उपचार गर्ने गरेको बताउदै हामीलाई फर्म दर्ता गर्ने, अनुदान ल्याउने तथा उपचारका लागि प्राविधिक बोलाउने फुर्सदै नभएको गुरुङको भनाई छ आम्दानीका हिसावले भेडापालन राम्रो भएपनि लामो झरी, हिउँपर्दा भेडाहरु मर्ने गर्दा नोक्सानी समेत व्यहोर्दै आएको उहाँले बताउनुभयो ।

राम्रो घाँसपाइने भएकाले वर्खामा सबै भेडाहरु बुकीमा लैजाने गरिएको अर्का भेडा पालक ३४ वर्षका जोर प्रसाद घर्तीले जानकारी दिनुभयो । ४०० भेडा पाल्दै आउनुभएका जोर प्रसाद घर्ती बुबा संगै भेडा पालनमा रमाउदै आउनुभएको छ ।

“पानी पर्दा र हिउँ पर्दा निकै समस्या हुन्छ, बेमौसमी वर्षाका कारण चिसोले ६० भेडा वैशाख दोस्रो साता मरेका थिए, भेडा चराउदै लैजादा दाङ सम्म पुगिन्थ्यो, त्यहाँ छेरुवा रोग लागेपछि अहिले चार÷पाँच वर्ष भयो बुकी तर्फ लगिन्छ” युवा भेडापालक घर्ती भन्नुहुन्छ, “बाबु बाजेले गरेको पेशाप्रति गर्भ लाग्छ, भेडापालनमा धेरै दुःख कष्ट छ, तर सन्तुष्ट विदेशमा भन्दा भेडीगोठमै भइन्छ, भेडापालनको आम्दानीले परिवार पाल्न पुगेकै छ ।” अर्काको देशमा गएर ज्याला मजदुरी गर्नभन्दा आफ्नै देशमा भेडा गोठालो हुन बेस लागेको घर्तीको भनाई छ ।

भेडापालक किसनाहरुलाई सरकारले नहेरेको बताउदै घर्तीले भेडाहरु लगातार पानी परे भोकै मर्ने गरेको बताउनुभयो । जंगली जनावारको आक्रमणका कारण भेडापालक किसानहरुलाई चुनौती भइरहेको छ । बुकी तर्फ भेडा लगिदै गरिएको बताउदै जोर प्रसाद घर्तीले भदौं पछि मात्रै भेडापालनलाई बेसी तर्फ झारिने बताउनुभयो ।

“बुकी तर्फ जादै छौं अहिले, भेडा चराउदै असार सम्म बुकी पुगिन्छ, बुकीको घाँसमा चरेका भेडाहरु स्वस्थकर हुन्छन्, बढी मुल्य पर्दछ जब बुकीमा हिउँ पर्न थाल्छ तब हामी पुन भेडा लिएर बुकीबाट झर्ने गरेका छौं, भरियालाई बोकाएर गोठालो खर्च लगिन्छ” जोर प्रसाद घर्तीले भन्नुभयो “भेडा गोठालाको छुट्टै संसार छ, लेकमा मोवाईल समेत चल्दैन, अत्यावश्यक परे खबर पठाउने हो, नत्र दुई महिना भुमिगत जस्तै भइन्छ, हामी गोठमै रमाउनेहरुलाई शहर बजारको त्यति चासो छैन ।”

घर्तीले भेडापालन छोडेर वैदेशिक रोजगारीमा गएपनि राम्रो कमाई नभएपछि पुन भेडापालनमै फर्किएको र अब विदेश नजाने बताउनुभयो । अस्थायी भेडीगोठ निर्माण गर्दै भेडा चराउदै हिड्दा निकै दुःख कष्ट भएपनि बाबु बाजेले गर्दै आएको पेशामा सन्तुष्ट हुँदै आएको अर्का भेडी गोठाला सत गुरङले बताउनुभयो । “पातीहाल्नेमा अहिले एक हजार १०० भेडा एउटै गोठमा छन् चरनका लागि बाहिर ल्याउदा आ–आफ्नो छुट्टाइन्छ, अब हिमलतर्फ लाग्ने दिन आयो” सत गुरुङले भन्नुभयो “यस पटक बेमौसमी वर्षाका कारण यही गोठमा ६० भेडा मरे, अहिले घाटा भयो, अब भदौ सम्मका लागि बुकी तर्फ लागियो ।”

भेठीगोठको कष्टकर दैनिकीबाट बचत भएको आम्दानीले परिवार पाल्दै छोराछोरीलाई अध्ययनका लागि पुग्ने गरेको गुरुङको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *