सरकार ! विदेश पलायन हुन बाध्य नबनाउ

सम्पादकीय
कोभिडकालको लामो संकट र सकस लाग्दो क्षणबाट विस्तारै लयउन्मुख दैनिकीमा हिँड्ने बेलामा फेरि आर्थिक मन्दीको जटिल समस्याले मानिसहरु थलिएका छन्, लखेटिएका छन्, पिरोलिएका छन् । सामान्य मानिसदेखि ठुला सम्पन्नशाली भनिएका धनाढ्यहरु पनि यसबेला आ–आफ्नै समस्या र पिरलोबाट ग्रसित बनिरहेका छन् । वार्षिक लाखौ, अरबौ मुनाफा बाँड्ने बैंक, वित्तीय संस्था, सहकारीहरु पनि कठीन संकटबाट गुज्रिरहेका छन् । समाज र देशमा बिद्यमान यस परिस्थिति आँखै अघि छरपष्ट छ भने अर्को तर्फ देशको अस्थिर राजनीति, शासन सत्ता सम्हालेकादेखि कर्मचारीतन्त्रबाट नीतिगत र अरु भ्रष्टाचार, बेथितिको घटना र समाचारले नागरिकमा चरम निराशा बढिरहेको छ । जसका कारण देशमै केही गरौं भनेर एउटा छुट्टै आदर्श बोकेर बाँचिरहेकाहरु पनि अहिले विदेशलाई विकल्प खोज्न र सोच्न थालेका छन् ।

देशबाट परदेश पलायन भइरहेको पछिल्लो तथ्यांक र परिदृश्यले पनि त्यही बिडम्बनापूर्ण अवस्था प्रष्ट झल्काउँछ । चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदै वैशाखसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ६० हजार २५५ पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष पुनः नयाँ कीर्तिमान राख्ने बाटोमा अग्रसर छ । खाडी देशहरुबाट श्रमिकको माग केही सुस्ताए पनि निराशाजनक अवस्था छैन । यो वर्ष मलेसियामा नेपाली श्रमिकको माग बढेको छ । अरु देशमा पनि जाने नेपालीहरुको दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उस्तै भिड देखिएको छ । अनि देशको दुरावस्थाले विदेश जान बाध्य र लालायित पंक्ति पनि उल्लेख्य छ ।

देशको यस्तो उदेक लाग्दो अवस्थाका बिच पनि राज्य सञ्चालक, तीन तहको सरकार, प्रधानमन्त्री, मन्त्रीहरुलाई किन दुख्दैन, किन यस्तो परिस्थितिले पिरोल्दैन ? यदि पिरोल्छ भने आफ्नै देशमा केही न केही सुरुवात गर्ने ठोस नीति, योजना, कार्यक्रम किन ल्याउन सक्दैनन् ? किन देश बदल्छु भनेर सत्तामा गएकाहरु आफै मात्र बदलिने ध्याउन्नामा हुन्छन् ? किन पुष्पगुच्छा सहित सत्तामा पुगे पछि भ्रष्टाचार र बेथितिमा मुछिएर बदनाम बनेर बहिगर्मन हुन्छन् ? बाहिर गरे जस्तो या गर्न खोजे जस्तो गरेर सर्वसाधारण जनताका आँखामा किन छारो हालिन्छ ? निश्चय पनि यी र यस्ता अनगिन्ती प्रश्न र संशयकै कारण उर्जाशील युवा जनशक्ति दैनिक हजारौको संख्यामा विदेश पलायन हुन बाध्य भइरहेका छन् । अहिलेको मन्दीले त अझ बढि संख्यामा विदेशिने देखिन्छ । उसो त गाउँघर रित्तिदो छ, बृद्धबृद्धाहरु मात्र देखिन थालेका छन् । शहर बजारमा पनि बुढेसकाल लागेका बाबुआमाहरु मात्र हुन थालेका छन् । यसले देशको भविष्य माथि गम्भिर प्रश्न खडा गरेको छ । अब पनि तीन तहको सरकारले गम्भिरतापूर्वक राजनीतिक स्थिरता कायम गरेर मुलुकको प्रणाली सुदृढ बनाउँदै विकास र समृद्धिलाई तिब्रतर गतिमा अघि बढाउन अपरिहार्य छ । अन्यथा, त्यसको महँगो मूल्य सरकार, सत्ता सञ्चालक, नेताहरुले मात्र होइन, सिंगो नेपाल र नेपालीले चुकाउनु पर्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *