समस्या समाधानमा म्याग्दीका सहकारीकर्मीकाे साथ

आदर्श अनलाइन, म्याग्दी
बेनी र आसपासमा भएका सहकारीको भेलाले समस्या समाधान गर्न सरोकारवाला साथ दिने भएका छन् । राष्ट्रिय सहकारी बैंक जिल्ला सम्पर्क समन्वय उप–समिति, म्याग्दीको संयोजक रमेश गिरीको अध्यक्षतामा भएको भेलाले राष्ट्रिय सहकारी महासंघले थालेको आन्दोलनलाई अगाडी बढाउने निर्णय गरेको छ ।

वर्तमान अवस्थामा समग्र सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्नका लागि सरकार उदासिन देखिएकोले त्यस तर्फ पहलकदमीका लागि आफ्नो ठाउँबाट सबैले साथ दिने बताएका छन् । कार्यदलले दिएको सुझाव कार्यन्वनतर्फ अगाडी नबढेपछि महासंघले थालेको दवावमुलक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जिल्ला सहकारी संघ म्याग्दीको अगुवाईमा थप आन्दोलनका कार्यहरुलाई अगाडी बढाउने निर्णय गरिएको बुद्ध बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो ।

भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण सु्वेदीले जिल्ला सदरमुकामा र आसपासका क्षेत्रका सहकारीकर्मीहरुले विगतमा पनि नियमित छलफल तथा गोष्ठीहरु गरेर समस्या सँग जुध्नका लागि प्रयास गरेको बताउनुभयो । उहाँले सहकारी राज्य निर्माणको तीन खम्बा मध्येको एक भएकोले सहकारी मजबुत हुन नसकेमा अन्य क्षेत्र पनि कमजोर हुने भएकाले सहकारीलाई कुनै हालतमा मजबुत बनाउन तर्फ लाग्नु पर्ने बताउनुभयो ।

पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले सहकारी आन्दोलनलाई मजबुत बनाउनका लागि विषयगत संघहरु तथा जिल्ला संघले नेतृत्व गर्नु पर्ने बताउनुभयो ।

भेलाले म्याग्दी जिल्ला स्थित सहकारी संस्थाहरुमा समस्या परेको भए त्यस्तो समस्या समाधानका लागि अनुगमन, छलफल गर्नुका साथै विषयगत संघ र जिल्ला संघलाई आग्रह गर्ने निर्णण गरेको छ ।

राष्ट्रिय सहकारी महासंघ, नेपाल सहकारी समस्या समाधान सहजिकरण कार्यदलले पेश गरेको १३ बुँदे मागपत्र प्रति ऐक्यबद्धता जनाउँदै जिल्लाका सबै सहकारी संस्थाहरुमा १३ बुँदे मागपत्र सबैले देख्ने गरी टाँस गरी कर्मचारीहरुले कालोपट्टी लगाएर दैनिक कामकाजमा सहभागी हुने निर्णय गरीएको धवलागिरी बचत तथा ऋण सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *