हरि बुढा : साहस र प्रेरणाको संगम

सम्पादकीय
भनिन्छ, संसारमा असम्भव भन्ने कुरा केही छैन । मानिसको संघर्षको शिलशिलामा यो कहिले सत्य हो जस्तो लाग्छ, कहिले चाहीं कोर्रा कल्पना र भावनात्मक अभिव्यक्ति मात्रै जस्तो अनुभूति हुन्छ । तर, आत्मबल, साहस र दृढ इच्छा शक्ति भए असम्भव लाग्ने धेरै कुरा सम्भव बनाउन र सफलतामा अनुवाद गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्ने समाज र देशमा अनगिन्ती पात्रहरु छन् । यसको एक ज्वलन्त उदाहरणीय पात्र हुन् रोल्पाको थवाङ गाउँपालिकामा जन्मेका हरि बुढा मगर । जसको दुवै खुट्टा छैनन् तर दोस्रो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमान रचेका छन् । समाजमा बिभिन्न कारणले अपांगता भएर चरम अपमान, बोझ र तनावका जीवन व्यतित गरिरहेका तमाम व्यक्तिलाई बुढाको यस किसिमको साहसिक कार्यले उत्साह भरिरहेको छ ।

पूर्व गोरखा सैनिक समेत रहेका बुढाले बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाए । शारीरिक अशक्तता भएर पनि बुढामगर सगरमाथा आरोहण गर्ने उत्कट चाहनाले असम्भव लाग्दो चुनौती मोल्न तयार भए । अपांगता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोर हुन सक्लान् । कसैको खुट्टा कमजोरी होला, कसैको हात कमजोरी होला, कसैको आँखा कमजोरी होला, त्यसो भन्दैमा केही गर्न सक्दैनन् भन्ने कुरा गलत भएको जिवन्त सन्देश र प्रेरणा बुढाले भरेका छन् । उनले स्की, कायाकिङ, ह्विलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटी फुलबल, सिटिङ भलिबल लगायतका खेलमा विभिन्न मेडलसमेत जितेका छन् । दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने उनको दृढ विश्वास छ । यसअघि पनि बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरिसकेका छन् । उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटर भन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडामाथि (दुवै अंगविच्छेदन) डबल एम्प्युटी गर्ने बनेका थिए ।

१५ वर्षसम्म विश्वका विभिन्न देशमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चामा सामेल भएको बुढाको सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमेको थियो । त्यसपछिको दुई वर्ष रक्सीको कुलतमा परेको र आत्महत्या गर्ने सोचमा समेत पुगेका थिए । त्यो पीडा र चरम निराशाबाट उठेर दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने त्यो साहस धेरैका लागि प्रेरक त छ नै, आरोहणले नेपालको एक अर्को विश्व कीर्तिमान राख्दै आम मानिसहरूलाई गौरवान्वित बनाएको छ । बिभिन्न कारणले अपांगता भए पनि एउटा सफल, सार्थक र अर्थपूर्ण जिन्दगी बिताउन सक्छन् भन्ने उनले देखाएका छन् । हरेक मानिससँग केही न केही कमजोरी भए पनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने उनको जीवन आदर्श पनि धेरैका लागि उर्जाको विषय बन्छ । १५ वर्षसम्म ब्रिटिस सरकारको लागि काम गरेँर दुइटा खुट्टा पनि समेत दिए । बरु आफ्नै देशलाई के दिएँ भन्ने कुराले सताउने उनको वाणीले पनि देशप्रेम र दायित्व झल्काउँछ । यो अभुतपूर्व साहसिक र प्रेरक कर्मका लागि हरि बुढा मगरलाई हार्दिक बधाई । भोलिको दिन समेत यस्तै सार्थक र सफल बन्न सकोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *