शिवशरण ज्ञवाली
बागलुङ बजार, हाडीखोला, गुल्मीको वामीटक्सार, भुवाचिदी, तल्लोफाँट मझुवा, आराटुङ, झिर्बास हुँदै म हिडेर र गुडेर दुवै शैलीमा घर ओहोरदोहर गरेको छु, तेर चौध वर्षको बागलुङ बसाइको दौरानमा । बागलुङ छाडेसँगै यो यात्राले सम्भवतः विश्राम लिनेछ । फेरि म हाडीखोलाबाट हिडेर घर पुग्ने अवसर शायदै जुट्ला । भविष्यमा गुडेर यात्रा गर्ने कुरालाई भने नकार्न सकिन्न ।
मझुवाबाट भित्र सेरामा बुढो मावल, आराटुङमा ठूलीआमाको घर र झिर्बासमा मेरो मावल पर्दछ । बाटो काट्नै नमिल्ने आफन्तहरुको घरमा पस्दै र बस्दै म पटकपटक घर बागलुङ आतेजाते गरेको छु । दशैँ तिहारको बेला सबै बुटबल काठमाडौँ फर्कन्थे तर म गौंडाकोटबाट मझुवातिर लाग्थे । त्यस्तो बेला म कताकता निराश पनि हुन्थे, किनकिन ? मनमा सुविधासम्पन्न ठाउँमा बस्ने नपाएकोमा पछुतो पो रहेछ कि ? एक्लै भए पछि त्यस्तो निराशा बढी आउँथ्यो ।
सुविधासम्पन्न ठाउँ कहाँ सजिलो हुन्छ र ? यो त काँडेधारीको यात्रा हो । सामान्य दैनिकी चलाउन पनि ‘हस्पिटालिटी’ जान्नैपर्छ । भनेको मान्नैपर्छ । ट्रकको पानी खानैपर्छ । विद्रोह र क्रान्तिका कुरा दलीय आवरणमा आउनुपर्छ । राम्रोभन्दा पनि हाम्रो हुनैपर्छ । नेताका स्वास्नी, छोराछोरी, सालासालीको वर्थ डे, एनिभरसरी, राइस फिडिङ फुडिङ्को बधाई र शुभकामना फेसबुकभरि पोष्टाउनैपर्छ । तब न सुविधा पाइन्छ । तब न पद पाइन्छ । तब न ‘इजी मनी’ हात पार्न पाइन्छ । नभए त गारो पो छ त हो, शहरतिर । नक्कली भुटानी नभए पनि नक्कली शरणार्थी भने बन्नैपर्छ । दल अदलुबदलु गर्नैपर्छ । ठाउँ कुठाउँमा नियुक्ति पाउँदा गजक्क पर्नैपर्छ । बधाई र शुभकामना थाप्नै पर्छ । बरु साँझमा वाथरुममा पसेर स्वाभिमान बेचेकोमा आफैलाई धिक्कार्दै धारा खोलेर बेस्सरी रुनैपर्छ । पखालिनु पनि मोज हो । हाँस्नुमात्रै मोज होइन । रुनु पनि जिन्दगी हाँस्नु पनि जिन्दगी । जिन्दगीको रेलिमाई….
कहाँ आजकाल मावल जान भ्याइन्छ र ? न मावली नै भान्जाभान्जीकोमा आउन भ्याउँछ । काम परे चेपारो लाउनेमा आफन्तहरु पनि कम छैनन् । नभए साला भाडामा जाओस्, सबैकुरा । म पनि परिस्थितिले मामाघर पसिरहन्थे । माइजूले चिया र रोटी निकै ख्वाउनुभयो, मलाई । मामाले सुन्तला निकै टिपिदिनुभयो । बुवैले मायाले बोलाइरहनुभयो ।
बुबैले उनपरारै चौरासी गरिसक्नु भएको छ । उमेरले अहिले नब्बे पुगिसक्नुभयो । तापनि मेरो मोटरसाइकलमा पछाडि बसेर यसपालि चारपाला आउनुभयो । परार साल आफ्नो भाइको चौरासी पूजामा आर्शिवाद दिन झिर्बासबाट सेरा झर्नुभयो । बुढोमावल हजूरबाले साते दिने सप्ताहमा आफ्नो चौरासी गर्नुभयो । म उपवाचक भइ टोपलें । चन्द्र अंकल वाचक र मामा गणेश बन्नुभयो । दशैंको टीका सप्ताहको भव्यतामा लगायौँ, हामीले त्यो वर्ष ।
अर्को वर्षको तिहारमा भाइलाई टीका लगाइदिन बुबै बुटबल पुग्नुभयो । भाइ परलोक भए पछि अहिले उहाँले माइतीको न्यास्रो भदाहरु, बुहारीहरु, नातिनातिना मार्फत मेटाइरहनु भएको छ ।
बुबैका नब्बे वर्षे जीवनका आफ्नै अनगिन्ती कथा छन् । उहाँलाई माटोले च्यापेन कि सर्पको काँडा बिझेन कि ? ती बाट पनि बालाबाल उहाँ उम्कनुभयो । काल नआउँदासम्म कोही डराउनुपर्दो रहेनछ । सानामा पटकपटक कहिले देवरसँग त कहिले आमासँग बाजी राखेर एकपटकमा तीन माना ध्यू खाएका कथा सुनाउँदा म चकित परें । उहाँ आजपनि ध्यू खानुहुन्छ । मामा हाम्लाई डाक्टरले ध्यूभन्दा एक कोस पर बस्नु भनेर सल्लाह दिएका छन् । उहाँका ध्यूका जस्तै मैले थाहा नपाएका अनगिन्ती कथा होलान् । उहाँ हाम्रो वंशवृक्ष । छोराछोरी नातिनातिनाको कुरै छाडौँ पनातिपनातिना समेत बिहे गर्ने भइसके ।
हरेक मान्छे एउटा अनुहारमा अनेक कथा लिएर जीवन बाँच्दो रहेछ । म बाहिर जस्तो देखिन्छु, भित्र म त्यस्तो नहुन सक्छु । कोही भने बाहिर भित्र बराबर पनि हुन्छन् । बिहे गर्ने वरबधुको प्रशंसालाई म पनि सम्मान गर्छु । गर्नुपर्छ । नभए बिहे नै हुँदैन । पुरुषप्रधान समाजमा प्रेमिकालाई अँगालो मारेर चुम्बन गर्ने प्रेमी पनि एकछिन पछि त्यही प्रेमिकालाई चरित्रहीनको आक्षेप लगाउन बेर लगाउँदैन । त्यसकारण प्रशंसा राम्रै लाग्छ । वरबधुका अनेक कथा ती आफैले मात्रै जान्दछन् । हजूरआमाका कथा पनि म त्यति धेरै जान्दिन । हजूरबा बर्मा जानुभयो, सानैबाट यही सुनें । उतै हराउनुभयो, सानैमा बिहे गरी छाडेर । मैले देख्दा हजूरबाले एउटा आँखा सफा एउटा आँखा कालो भएको चस्मा लगानुहुन्थ्यो । लौरो टेकेर थर्कु र घर गर्नुहुन्थ्यो । ‘साइद्वा’ हाम्रा हजूरबुबाहरुको गाली गर्दा भन्ने थेगो थियो ।
६÷७ वर्षकी सानी नानी बिहे गरेर छाडेकी बुबै २२÷२३ वर्षे तरुनी हुनुभयो । तर निठूरी हजूरबा फर्केर आउँदै आउनुभएन । वर्षौ बित्यो । खोज खबर आएन । जीवित भएको सूचना मात्रै आउँथ्यो । बुहारीको चिन्ता सासुलाई पनि हुने भइहाल्यो । पति परित्यक्ता बुहारी सासुकी प्रिय ! बिनाकारण बुबाले बुबैलाई छाड्नभएको रहेछ । बुबैले बर्माबाट आउनेलाई सोध्नुहुन्थ्यो रे, ‘मेरा बाउनले कतै बिहे त गरेका छैनन ?’ सन्देश ल्याउने बिहे गरेको सन्देश कहिल्यै पनि ल्याएनन् रे ! न त परस्त्रीसँग सल्किएको सन्देश नै दिए रे ! तैपनि ‘बाउन’ फर्केर नआएपछि बुबैले खबर पठाउनुहुन्थ्यो रे, ‘उतै बस्नुहोला । तपाईलाई काँडाले नकोत्तरोस् ।’
तर सासुमाले बुहारीको चिन्ताले छोरालाई अनेक सन्देश पठाउनुभयो रे । बुहारीले पनि आफ्ना खसमलाई अनेक सन्देश पठाउन छाड्नुभएन रे । त्यस्तै सन्देशमध्ये कुनै एक प्रेमिल सन्देशले हजूरबाको मन फर्कियो । लोग्ने स्वास्नीले एक अर्कालाई नचिन्ने अवस्थामा उहाँहरुको पुर्नमिलन भयो । पुर्नमिलनपछि आमा, सानिमा र मामा जन्मनुभयो । सानिमा बाटो काटेर अगाडि लाग्नुभयो । आमा र मामा बलिया हुनुहुन्छ । हजूरआमाले ध्यू खानुभएको थियो नि त । उहाँका ध्यूका अनेक कथा कतै कोरिएलान् ।
म बागलुङबाट फर्केर एक दिन साँझ मावल बसेको थिएँ । साँझ खाना खाए पछि ठूलो ओछ्यानमा बसेर गफ गर्दै थियौँ । बुबैले मसँग अनायासै सोध्नुभयो, ‘बाबु म मरेपछि मेरो पुराण कसले कहिदिन्छ ?’ मैले आवेश र भावनामा आफैतिर औंला फर्काएर फ्याट जवाफ दिएँ, ‘अरे ! बुबै चिन्ता नगर्नुस् । म कहिदिन्छु ।’ उतिबेला बासँग आमाको बिहे गरिदिंदा बुबै र सेरा बुबाले भन्नुभएको थियो रे, ‘पण्डित ज्वाइ पायाँै । हाम्रो चौरासी ज्वाइले गरिदिनु हुन्छ ।’
उहाँहरु दुवैले चौरासीको आकांक्षा राख्नुभएको थियो । दुवै जनाको आकांक्षा पूरा भयो । आजकाल हामी आकांक्षा राख्न सक्दैनाँै । हाम्रो उमेरप्रति हामी आफैंलाई विश्वास छैन । स्वाथ्यप्रति हामी आफैलाई विश्वास छैन । हाम्रा सन्तानप्रति हामीलाई विश्वास छैन । हाम्रा आस्थाप्रति हामीलाई विश्वास छैन । हाम्रो भाषाप्रति हामीलाई विश्वास छैन । हाम्रो माटोप्रति हामीलाई विश्वास छैन । अरु त अरु हामीलाई हाम्रै क्षमताप्रति विश्वास छैन । विश्वासहरु डगमगाएका छन् । विश्वासहरु नडगमगाइकन अगाडि बढ्नुभएका उहाँहरुको चौरासी बाले गरि दिन सक्नुभएन, खस्कदो स्वाथ्यका कारण । अन्य ब्राह्मण बोलाएर उहाँहरुले चौरासी सम्पन्न गर्नुभयो । सेरा बुबाको पुराण मामाले कहिदिनुभयो । हजूरआमाले मलाई जिम्मा लगाउनुभएको छ । म वाचा गरेको छु ।
पुराणको धार्मिक महत्व फरक होला । शैक्षिक महत्व फरक होला । अन्धविश्वास र विश्वासका कुरा पनि आफ्नै ठाउँमा होलान् । कर्मकाण्ड भनेर हेला अर्घेलो पनि गरिएला । तर मलाई पुराण वाचन गर्ने हुटहुटी छ । संस्कृतप्रति मोह पो जागिरहेछ । खै के रहेछ त्यो भाषा, त्यस्तो आनन्दित कुरा मैले नेपाली अंग्रेजीमा पाउन सकिन । नबुझे पनि लय समात्न सकिदो रहेछ । लय गुन्गुनाउन मिल्दो रहेछ, ‘कस्तुरी तिलकम् ललाट पटले…. ।’ पढ्दापढ्दा अर्थ आफै खुल्दोरहेछ । नेपालीमा अङ्ग्रेजी पढाउने गूरुहरुले यो कुरो कहिले पत्तो
पाउनुहोला ।
दाइले आठ वर्षमा र मैले नौ दश वर्ष पुग्दा जनै लगायौँ । भव्यतापूर्वक नै हाम्रो व्रतबन्ध भएको थियो । त्यसपछि हामी बाका पछि लाग्यौँ । नाग टाँस्यौँ । डोरो बाँध्यौँ । पैसा कमायौँ । चण्डी गीता लटरपटर पढ्यौँ । दाइले भागवत नै आँट्नुभयो । दाइले धर्मशास्त्रका कुनै पुस्तक बाँकी राख्नुभएन । धर्मकर्म पनि बीस वर्षभित्रै सक्नुभयो । सन्तोषी माताको व्रत होस् या श्रीस्वस्थानी लगायतका सबैका व्रत गर्नुभयो । अनेक कथा पनि पढ्नु भयो । आजकाल दाइ धर्म निरपेक्ष !
म अल्छेलाई भागवतको भीमकाय पुस्तक पल्टाउन मन लाग्दै लागेन । महामृत्युञ्जय मन्त्र खुब मिठो गरी पढ्थे मैले, सानोमा । मनिषा कोइरालाको आत्मकथा हिल्डमा भेटेपछि मलाई मृत्युञ्जय मन्त्र पढ्न मन लागेको छ । मृत्युञ्जय मन्त्र पढे पनि पनि म डरपोक छु । डर के को हो ? मानिसलाई डरलाग्ने कुरै मृत्यु हो रे ! सबैभन्दा माया लाग्ने कुरा प्राण हो रे !
ठगठाग चन्डी गीता पठनले हाम्रो संस्कृत पठन बलियो बनेन । कालान्तरमा दाइ अंग्रेजीतिर लाग्नुभयो म नेपालीतिर । सामाजिक कर्म बाले नै गर्नुभयो । बा कर्मकाण्डमा मात्रै अडिनुभएन । पण्डित भएका कारण सामाजिक पनि बन्नुभयो । मलाई बेलाबेला लाग्थ्यो, ‘बाको शिक्षा सामाजिक हाम्रो व्यक्तिवादी !’
मैले नौ दश कक्षा पढ्दा होला, वंशावली लेख्ने मेसोमा पशुपति ज्ञवाली हाम्रो घरमा आउनुभयो । उहाँले भोलिपल्ट बिहान बासँग स्कुल जाँदा सोध्नुभएछ, ‘गुरू ! तपाईं आफ्नो शिक्षा लिएर जानुहुन्छ कि छाडेर ?’
बाले जवाफ दिदैं भन्नुभएछ, ‘शायद लिएर जान्छु होला ।’ त्यतिबेला दाइले रेसुङ्गा क्याम्पसमा अंग्रेजी विषय पढ्न थालिसक्नुभएको थियो । बाले मेरो आशा गर्नुभएन । म लोफर नै थिएँ, पढाइमा । तापनि झिनो आशाले एकपटक माधव सरलाई बाले सोध्नुभएछ, ‘शिवलाई संस्कृत पढ्न पठाए कसो होला ?’ सरले जवाफ दिनुभएछ, ‘तलैबाट संस्कृत नपढेकाले गारै होला । त्यो भन्दा आधुनिक शिक्षा नै उचित ।’
माधव सरले त्यसो भनेपछि बा खुम्चिनुभएछ । अनि म लागे, नेपाली पढ्नतिर । बासँग सानोमा ठगठाग कर्मकाण्डमा जाँदा मैले गीता पढ्थे । गीताको र महामृत्युञ्जयको लय मलाई मिठो लाग्दथ्यो । महामृत्युञ्जय मन्त्र थियो, ‘त्रम्बक्म यजामये सुगन्धिम् पुष्टिवद्र्धनम् ।’
चण्डी पनि कहिलेकाही पढ्थें । गीताको दोस्रो अध्याय स्नातकोत्तर तहमा पनि पढ्याँै । ठाकुर पराजुली सरको संस्कृत साहित्यको इतिहास भन्ने पुस्तकमा पढ्यौँ । त्यही किताबबाट चिनेको थिएँ, उहाँलाई मैले । उहाँ बितेको खबर सुन्दा मन चिसिक्क भयो, जातस्य हि धु्रवो मृत्यु.. जान्दाजान्दै पनि । गीताको ‘कर्मयेवा धिकारस्ते मा फलेषु कदाचन’को मोहनीमा म लठ्ठिएकै छु ।
कतै मैले काले राईका बारेमा पढें । ती तेत्तीस वर्षसम्म अनपढ थिए रे । तेत्तीस वर्षमा पढाइ सुरु गरेका ती राई संस्कृतका प्रकाण्ड विद्वान भए । स्वामी प्रपन्नाचार्यका नामले ती प्रख्यात पनि भए । मलाई राजीव कामरेडले उनको वेदमा के छ ? शीर्षकको पुस्तक उपहार दिनुभएको छ । त्यो कथा पढेपछि मेरा मनमा लाग्यो, ‘मैले संस्कृत किन पढ्न नसक्ने ?’ यो मनमा भए पनि मैले पुस्तक पल्टाएको थिइन ।
वि. सं. २०७६ को दशैं दैवी विपत्तिका साथ आइहाल्यो, हामीलाई । त्यो दैवी विपत्तिका बेला मन बहलाउने उपाय खोज्दै थिएँ । घरमा भागवतको गुटिका देखें । यसो पल्टाएर हेरेको पढ्न सकिएला जस्तो लाग्यो । बिस्तारैबिस्तारै संस्कृतका श्लोकहरु पढ्दै जाँदा त्यसमा एक प्रकारको लयात्मकता भेटिदैं गयो । लकडाउनका बेला घर भुल्ने बाटो मेरो त्यही गुटिका भयो । बासँग सोध्दै पढ्दै गर्थे । अप्ठ्यारो थियो, ती संस्कृतका श्लोक फुटाल्न । कतिबेला त सक्दिन कि जस्तो पनि लाग्थ्यो । तर नआतिइकन पढ्दै जाँदा यसले एकातिर मानसिक आनन्द दियो अर्कोतिर पठन संस्कृतिको विकास ग¥यो । यसको लयात्मक साहित्यिक सौन्दर्य विछट्टैको रहेछ । संस्कृतका अधिकांश रचना लयात्मक प्रकृतिका पाइन्छ । त्यही लयात्मकताका कारण साहित्यिक सौन्दर्य उच्च छ । पढ्न सजिलो हुन्छ, लय समातेपछि । नबुझ्दा पढ्न सकिदो रहेछ ।
हाम्रो शिक्षण शैली कुहिराको कागजस्तै छ । पश्चिमाहरुले पनि आफ्नो ढाँचा तय गरेका छन् । पूर्वीय संस्कृतको पनि आफ्नै शैली छ । आठ वर्ष बालबालिकालाई पठनपाठन आवश्यक छैन भन्ने कुरा अङ्ग्रेजीले पनि मान्दछ भने संस्कृतले पनि मान्दछ । हामी नेपाली ग्वाङ्ग्रा ! हाम्रो केही छैन । बा मेरो छोरालाई आठ वर्षमा व्रतबन्ध गराइदिने सोचमा हुनुहुन्छ । व्रतबन्ध भनेको संस्कृत शिक्षा आरम्भको दिन पनि रहेछ कि ! बाले परारै भन्नुभयो, ‘यसकी आमाको श्राद्ध पहिलो वर्ष वसन्तले गरिदेला । दोस्रो वर्ष म गरिदिन्छु । तेस्रो वर्ष जनै लगाइदिएर आफ्नी आमाको श्राद्ध आफै गर्छ ।’ पहिलो र दोस्रो वर्षको श्राद्ध बाले भनेजस्तै भयो । तेस्रो वर्ष छोराको जिम्मामा छ । यस्तो धर्मभीरु कुरा गर्ने हो भन्नेहरुलाई मेरो प्रश्न छ, ‘आफ्नी आमालाई सम्झनु के धर्म अन्धता हो ? के त्यसो भए बिर्सनु आधुनिकता हो ? विज्ञान हो ?’ हरेक दिन बाले भागवत पढेको सुन्ने उसले संस्कृत शिक्षा पनि व्रतबन्धपछि सिक्ला कि ?
मैले मनको अन्तरकुन्तरको आवश्यकताले गर्दा भागवत पढ्न थाले । हजूरआमालाई दिएको वचन पनि भागवत पठनमा जोडियो । भागवत पढेपछि अरु कसो पढ्न नसकिएला र ? अर्को कुरा अर्थ त आफसेआफे पढ्दापढ्दै खुल्दै जाँदो रहेछ । आवश्यकता र वातावरण भयो भने पठन संस्कृति कसो नउकासिएला र ?
पढ्न पढाउन सजिलो रहेनछ । हामी शिक्षक विद्यार्थीले त यो कुरा बुझेका छैनौँ भने अरुले के बुझ्लान र ? पढाइको आवश्यकता कहाँ गएर जोडिन्छ ? थाहा छैन । बिना आवश्यकताको पढाइले ‘साइड इफेक्ट’ गर्दो रहेछ । गरिरहेको छ । मलाई रहर जान्ने विद्यार्थीहरुलाई होइन, नजान्ने लोफर भनेर होचो अर्घेलो गरिएका विद्यार्थीलाई पढाउन छ । मलाई रहर उपल्ला कक्षाका विद्यार्थीहरुलाई मात्रै होइन, सानासाना कक्षाका विद्यार्थीहरुलाई पढाउने छ । जान्नेनजान्नेको सीमा मेट्न मन छ । नजान्नेलाई जान्ने बनाउन मन छ । थोरै पढाएर धेरै परिणाम निकाल्न मन छ । किचिएका थिचिएका बालबालिकाका मुहारमा मुस्कान ल्याउन मन छ । मानिसहरुलाई अनुशासनहीन बन्न नदिने मन छ । पेपरमा लेखिएको ‘रिसर्च’लाई व्यवाहरमा उतार्ने मन छ ।
हिजो मैले मेगा कलेजमा मधुकरसँग यो विषयमा छलफल गरें । त्यहाँ नाम सुनेका दिनेश सरसँग पनि मिठो भेटघाट भयो । न्युटन स्कुलमा नवीन दाइसँग यो क्षेत्र अपूरो छ भन्ने कुरा भयो । ती साना बालबालिका जो नजान्ने नाममा पछाडि पारिएका छन् । ती साना बालबालिका जसले नजान्ने नाममा होचो अर्घेलो व्यहोर्नु परेको छ । ती साना बालबालिका जो सानैबाट सीमान्तकृत बनाइदै छन् । तिनीहरुसँग अन्तक्र्रिया गर्ने मन छ । तिनहरुलाई सुधार्ने मन छ । तिनीहरुका लागि कुनै अवसर सिर्जना पो गर्न सकिन्छ कि ? योजना छ नजान्ने पढाउने । जान्ने त आफै सक्षम छन् । तिनलाई त पढाउनै पर्दैन ।
यो मुलुकमा सबैभन्दा बढी इमान्दार को छ ? विद्यार्थी । सबैभन्दा बढी कसले मेहनत गर्छ ? विद्यार्थीले । निद्रामा बाहेक यिनीहरुलाई फुर्सद छैन । पढाइको बोझले निकै थिचिएका छन् । स्कुलमा कक्षाका कक्षा । घरमा होमवर्कको होमवर्क ! काठमाडौँले यस्तो पढाइ तरङ्गित गरेको छ, देशभरि । सरकार आफ्नै पार्टीको ! पढ पढ बाबुनानी हो डाक्टर इन्जिनियर बनौँलाको सुगा रटाइ धेरै पो भयो कि ? शिक्षकहरुकै मुखबाट सुन्छु, ‘विचरा !’
उमेरले चालिस काट्दा म संस्कृततिर लहसिएको छु । अधिकांश युवाहरु जापनीज र कोरियन भाषामा लहसिएका छन् । नेपाली अनि अंग्रेजी भाषाको गहिरो ज्ञान बालबालिकालाई दिनुछ । चालचलन परम्परामा प्राप्त संस्कृतलाई पनि नछाड्नुस् । आजकाल गाउँघरतिर संस्कृतलाई अंग्रेजीमा रुपान्तरण गरिएका पुस्तक बेच्ने व्यापारी आइपुगेका छन् । त्यस्ता किताब किनेर संस्कृत अंग्रेजीमा पढ्ने आधुनिक रहर नगर्नुस् । संस्कृत संस्कृतमै पढ्नुस् । तब न मज्जा छ ।
अभिभावकलाई मेरो सल्लाह छ, किताब, पर्चा, पम्पेलट, कापी कोठामा यत्रतत्र छर्नुस् है । सुतेर, उठेर, मोबाइल हेरेर, गफ गरेर पढ्दा गाली नगर्नुस् है । एक शब्द पढे पनि ज्ञान आर्जन हुने हो । एक लाइन केरे भने पनि केरे । कोठा अवस्थित भयो भनेर नआतिनुस् । शिक्षा आर्जन अव्यवस्थामै हुन्छ । च्यात्यो भने गाली नगर्नुस् है । बरु खुशी हुनु्स् । छोराछोरीले पढेछन् भनेर । मेरो छोराले आजकाल मेरा किताब हेर्छ कि नाइ कुन्नि ? यत्रतत्र सर्वत्र घरमा किताबकापी छरेर हिडेको हुँ म । तल्लो कोठामा पनि किताबै किताब माथिल्लो कोठामा पनि किताबै किताब । म नभएको बेला नाति बज्यै मिलेर पत्रिकाहरु बेचिदिएको कथा उसैले मलाई एकदिन सुनायो । उसले बाटो हिड्दा साइनबोर्ड पनि पढ्थ्यो । भन्थ्यो, ‘बाबा ! बाबा ! मोटरसाइकल स्लो गर्नुस् त बोर्डमा के लेखेको रहेछ ?’ म उसले भनेपछि मोटरसाइकलको गति घटाउँथे । उसले साइनबोर्ड पढेर सुनाउँथ्यो । नभन्दै सात वर्षमा ऊ रेसुङ्गा क्याम्पसमै पुग्यो । यसपालि घर जाँदा नयाँ किताब किनेर जानुपर्ने छ किनकी तिनको नाम ठेगाना छोराले पढिहाल्छ । पुरानोप्रति कसैलाई रहर छैन । पुरानोले उसैलाई तान्दैन । नयाँ लगे नपढी छाड्दिन । मंहगो शहरमा किताब किन्न खुम्चिने हो भने छोराले पढ्न पाउँदैन ।
मैले रेडियो किनेको कथा सुनाए पछि भूपाल सर पार्वती म्याडमले पनि रेडियो किन्नुभयो । प्रकृति र वरदान बराबर हुँर्कदै छन् । उनीहरुलाई सुनाउनु छ । दुई चार दिन मोबाइलले काम चलाउनु भयो । तर पछि रेडियो किनेर ल्याउनुभयो । त्यो रेडियो पनि शिक्षक हो नि !
पढ्न गारो छ भन्ने कुरा भागवत पढ्दा मैले बुझेको छु । संसारमा पढ्नु जत्तिको दुखको काम के पो होला र ? हामी आफू पढ्न लोफर छोराछोरीलाई आदेश दिन भने माहिर ! भागवतको अर्थ कहिले जानेर म पुराण वाचन गरुँला र खै ? बुबैलाई यसपालि भनिदिएको छु, ‘आशा त गर्नुस् नातिको भर नपर्नुस् ।’