मेयर नेपालीलाई एमालेले गर्‍यो पार्टीबाट निलम्बन


आदर्श अनलाइन, बागलुङ

सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ । नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन् ।

एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए ।

सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै उनले छानबिनका लागि निलम्बन गरेको बताए । ‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं,’ दवाडीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशिघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं ।’


सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ ।

ढोरपाटनका मेयर एवं सहकारीका अध्यक्ष नेपाली माओवादी पृष्ठभूमिका हुन् । माओवादीले २०७४ को स्थानीय निर्वाचनमा ढोरपाटनको मेयर उम्मेदवार नबनाएपछि उनी एमालेमा प्रवेश गरेर मेयरको टिकट पाएका थिए ।

त्यतिबेला मेयर जितेका नेपाली गत वर्ष भएको स्थानीय निर्वाचनमा एमालेकै तर्फबाट दोस्रो पटक ढोरपाटनको मेयर जितेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *