कुश्मामा सहकारी बैंकको शाखा माग

आदर्श अनलाइन, ललितपुर
पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड पर्वतको अगुवाईमा पर्वतका सबै स्थानीय तहका सहकारीकर्मीहरुका तर्फबाट जिल्ला सदरमुकाममा सहकारी बैंकको शाखा सञ्चालन गर्न माग गरिएको हो ।

संघका अध्यक्ष शेषराज रेग्मी र कोषाध्यक्ष देवी क्षेत्री सहितको टोलीले बुधवार बैंकको केन्द्रीय कार्यालय ललितपुर कुपण्डोलमा पुगेर बैंकका अध्यक्ष के.बी.उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईलाई माग पत्र बुझाएको हो ।

पर्वत जिल्लाका सात वटा स्थानीय तह र प्रदेशबाट नियमन हुने गरी ३ सय ८८ वटा सहकारी संघ संस्था रहेका र ति मध्ये १ सय २५ वटा सहकारी संस्था बैंकको सदस्य भइ कारोबार समेत गर्दै आएको संघको माग पत्रमा उल्लेख छ । सदस्य नभएका सहकारीहरु पनि बैंकको सदस्य बन्ने प्रक्रियामा रहेको र सबै सहकारीहरुले आफ्नो कारोबार सहकारी बैंकमार्फत नै गर्नका लागि शाखा माग गरेको जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले जानकारी दिनुभयो ।

बैंकका अध्यक्ष के.बी.उप्रेतीले पर्वत जिल्लाको सदरमुकाम कुश्मामा शाखा सञ्चालनका लागि बैंकको साधारणसभाबाट निर्णय गरी नियमनकारी निकायमा पठाइएको जानकारी दिनुभयो । उहाँले शाखा सञ्चालनका लागि बैंकका तर्फबाट प्रक्रिया अगाडि बढाइएको छ, नियमनकारी निकायले अनुमति दिदासाथ कुश्मामा शाखा सञ्चालन गरिने बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा हाल ७ वटा शाखामार्फत कारोबार गर्दै आइरहेको छ । बागलुङ, तनहु र नवलपुरमा एक एक वटा शाखा तथा कास्की र स्याङ्जामा दुई दुई वटा शाखा सञ्चालन भइरहेका छन् । गण्डकी प्रदेशका पर्वत, म्याग्दी, लमजुङ, गोर्खा र तनहुको पश्चिम क्षेत्र (शुक्लागण्डकी) मा सञ्चालन हुने गरी थप शाखा माग गरिएको बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *