मालिकाका व्यापारीले पाए आफ्नै गाउँमा दर्ता तथा नविकरणको सेवा

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको दरवाङ र आसपासका क्षेत्रमा व्यापार व्यवसाय गरेका व्यवसायी तथा नयाँ व्यवसायीहरुले आफ्नै क्षेत्रमा व्यवसाय दर्ता तथा नविकरणको सुविधा पाएका छन् ।

दरवाङमा आयोजना गरिएको व्यवसाय प्रवद्र्धन तथा राज्यको निकायमा दर्ता तथा नविकरणका लागि एक दिने अन्तरक्रिया तथा शिविरबाट उक्त सुविधा पाएका हुन् । म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाइ दरवाङको आयोजना तथा मालिका गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा मालिका गाउँपालिका क्षेत्रका पनि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्पूर्ण व्यापार व्यवसाय दर्ता गरौं, करको दायरामा रही सभ्य व्यवसायको पहिचान गरौं भन्ने मुल नारा साथ आयोजना भएको कार्यक्रममा मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी पुनले सबै ब्यवसायीको हीत हुने गरी नै गाउँपालिकाले काम गर्दै आएको बताउनुभयो । उहाँले सबैलाई राम्रो हुने तर्फ नै स्थानीय तहले सोच्ने बताउँदै आफ्नो व्यवसाय दर्ता गरेर करको दायरामा आउनु आम व्यवसायीको कर्तव्य भएको तर्फ सचेत गराउनु भएको थियो ।

आन्तरीक राजश्व कार्यालय बागलुङका कर अधिकृत शालिकराम आचार्यले व्यवसायीले आफ्नो दायित्व अनुरुपको राजश्व तोकिएको समयमा तिर्ने काम गरेमा अन्य जरिवानाबाट बच्न सकिने बताउनुभयो । उहाँले पान नम्बर लिने र त्यसलाई तोकीएको समयमा अपडेट गर्ने काम पनि गर्नु पर्ने बताउनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोणलाई सुधार्नु पर्ने बताउनुभयो । अहिले व्यवसायीहरु निकै जटिल अवस्थामा पुगेकोले अहिले पनि सँधैको नजरले हेर्ने हो भने ब्यापारीहरु पलायन हुने अवस्थामा पुग्ने बताउनुभयो । विश्वमा भएको आर्थिक मन्दी अनि नेपालमापनि त्यसको मार परेकोले अहिले राज्यले करलाइ ताकेता गर्ने र व्यवसायी सँग कर तिर्ने पैसा नहुने अवस्था देखिन सक्ने तर्फ सचेत हुन पर्ने बताउनुभयो ।

गाउँपालिकाको ७ वटा वडाबाट उत्कृष्ट कर तीर्ने एकएक जनालाई गाउँपालिकाको सिफारिसमा उत्कृष्ट करदताहरुलाइ सम्मान गरिएको उद्योग बाणिज्य संघ मालिका इकाइका सचिव अमृत सापकोटाले बताउनुभयो ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले घरेलुबाट प्रदान गरीने सेवाको बारेमा जानकारी गराउनुका साथै दर्ता नविकरण र खारेजीका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले उद्योग तथा व्यवसाय दर्ता गर्नका लागि आवश्यक पर्ने कागजातका बारेमा समेत जानकारी गराउनु भएको थियो । साथै अहिले प्रदेश कार्यालय अन्तरगत पर्यटन पनि थपिए पछि कार्यालयले के के सेवा दिन्छ र बजेट के कस्ता छन् भन्ने पनि उहाँले जानकारी दिनुभएको थियो । दरवाङमा पर्यटन तथा उद्योग कार्यालयले एक दिने दर्ता तथा नविकरण शिविर पनि गरेको थियो । उक्त शिविरबाट १० वटा नयाँ व्यवसाय दर्ता र २८ वटा पुराना व्यवसाय नविकरण भएको शर्माले बताउनुभयो ।

मालिका इकाइ अध्यक्ष लेकबहादुर पुनको अध्यक्षता, सचिव अमृत सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा पश्चिम म्याग्दी क्षेत्रका एक सय ३० भन्दा धेरै व्यवसायीको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *