भ्रष्टाचार आरोपको अपरिहार्य तथ्य जाँच

सम्पादकीय
नेपाल देश यस्तो भइसकेको छ कि जहाँ दैनिकजसो कुनै न कुनै नयाँ काण्ड आइरहन्छ, नत्र जबरजस्त पनि गराइन्छ । अनि त्यही विषय, काण्डका पक्ष विपक्षमा मानिसहरु विभाजित हुन्छन्, तथानाम गालीगलौज र बदनामीमा उत्रिन्छन् । विवादमा मुछिने कुनै एक व्यक्ति या समूह अदालतको कठघरामा नउभिदै सामाजिक सञ्जालहरुबाटै अपराध करार गरिन्छ । चरित्र हत्या यसरी भइसकेको हुन्छ कि सम्बन्धित व्यक्ति डिप्रेसनमा पुगिसकेको हुन्छ । तर, अदालतबाट न्याय निसाफको फैसला निर्दोष भएको आउँछ । अब कसले दिन्छ त्यो निर्दोष व्यक्तिको चरित्र इमानको क्षति पुर्ति ? केले पुर्ति गर्न सक्छ त्यो बदनामीको हिसाब ? कुनै व्यक्ति प्रतिशोध, पूर्वाग्रही सोचले केही आरोप लगायो भने त्यसको तथ्य जाँच नगरी ठुलो भिड त्यसकै पछि दौडिने र बदनाम गर्ने प्रवृत्ति नेपालमा निकै खतरानक ढंगले मौलाउँदो छ ।

यो अझ नेपाली राजनीतिमा बाक्लो छ । कुनै एक नेताले अर्कोलाई जे आरोप लगाइ दिए पनि हुने, आक्रोशमा या संवेगमा जे भने पनि हुने प्रवृत्ति हुर्किदो छ । फलतः नेपाली राजनीति चरम बदनामीको बाटोमा छ । आम रुपमा राजनीति प्रति घृणा र तिरस्कार बढ्दो छ । यसका अनेकन कारण छन् । त्यसमध्येको राजनीतिक दल र नेताहरुको बिचको सतही आरोप प्रत्यारोप एक कारण हो । अहिले संघीय संसद एउटा विषयले तरंगित छ । प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुन गायब बनाइएको विषय उठ्यो । नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाए । त्यसलगत्तै नेकपा एमालेले दाहालको भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर संसद नै अवरुद्ध ग¥यो । जुन विषय महालेखा परीक्षकको कार्यालयले पनि औल्याएको छ । यद्यपि, यो विषय पशुपति विकास कोषसँग बढी सम्बन्धित विषय थियो । सांसद दाहालले पूर्व प्रधानमन्त्री ओलीलाई जबरजस्त लाञ्छित गरे । उसो त ओली नेतृत्वको कार्यकालमा भएकाले नैतिक जिम्मेवारीबाट पन्छिन मिल्दैन । तर, जलहरी प्रकरण मुख्यतः पशुपति विकास कोषसँगै सम्बन्धित विषय र प्रश्न हो ।

सत्ता पक्ष जिम्मेवार हुनुपर्ने विषयलाई मोड्ने सांसदको तरिका र त्यही विषयमै संसद अवरोध नै गर्ने प्रमुख प्रतिपक्षको दुवै प्रवृत्ति संसदीय राजनीतिका लागि सुखद विषय होइनन् । नेपाली राजनीतिमा नैतिकताको चरम खडेरी छ । त्यो प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म, सांसददेखि नेता कार्यकर्ता सम्म आफ्नो भए छोप्ने र अरुलाई जे जसरी भए पनि उदांगो बनाउने कुत्सित मानसिकताबाट गुज्रिएको छ । जुन नेपाली समाजको विकास र परिवर्तनमा बाधक बनिरहेको छ । भ्रष्टाचार, बेथितिजन्य कार्यमा सम्लग्न भएकाहरुको कुनै पनि दल, जात, धर्म, क्षेत्र हेरिनु हुन्न । त्यसलाई विधि विपरितको अपराधजन्य कार्यका रुपमा मात्र हेर्ने संस्कार अपरिहार्य छ । सडकदेखि संसद सम्म आग्रह पूर्वाग्रह, आरोप प्रत्यारोप भन्दा माथि उठ्न जरुरी छ । यदि तथ्य र अध्ययनबाट दोषि देखिए पूर्वप्रधानमन्त्री केपी ओली मात्र होइन, वर्तमान प्रधानमन्त्री प्रचण्ड समेतलाई सजाय हुने प्रणालीको विकास आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *