बजेटमा बागलुङ : वन्यजन्तु पार्कदेखि करिडोर कालोपत्रसम्म

आदर्श अनलाइन, बागलुङ
आज संसदमा प्रस्तुत भएको बजेट भाषणमा बागलुङका केही योजनाहरु समावेश भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदमा प्रस्तुत गर्नुभएको बजेट भाषणमा बागलुङमा वन्य जन्तु पार्क, मगर संस्कृति पर्यटनको रुपमा विकास र कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई कालोपत्रलाई पूर्णता दिने बताउनुभएको छ ।

बागलुङ जिल्लाको माथिल्लो पहाडी भेगमा वन्यजन्तु पार्कको रुपमा विकास गर्न अध्ययन थाल्नेगरी बजेटमा समावेश गरिएको छ । यस्तै सरकारले बागलुङ, म्याग्दी र पर्वत गरी तीन जिल्लालाई समेटेर मगर संस्कृति र पर्यटन क्षेत्रको रुपमा समेत विकास गर्ने योजना अगाडी बढाएको छ ।

मगर समुदायको बाहुल्यता रहेको तीन जिल्लाको मगर संस्कृति संरक्षण र पर्बद्धन गर्ने सरकारको योजना रहेको र त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताउनुभएको छ । यस्तै बागलुङको भाग्यरेखाको रुपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रे गर्नका लागि बजेट सुनिश्चितता गरेको बजेट भाषणमा जनाइएको छ ।

भारत, नेपाल र चीनलाई जोड्ने त्रिदेशिय मार्गको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको ३८ किलोमिटर सडक कालोपत्रेका लागि आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिनुभयो । यस्तै बागलुङ बजारमा सञ्चालित जिल्लाकै ठूलो लिफ्ट आयोजना सम्पन्नताका लागि समेत आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री महतले बताउनुभयो ।

यस्तै बहुचर्चित उत्तरगंगा जलाशययुक्त आयोजनाको विषयमा सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश नगरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *