आदर्श अनलाईन, बागलुङ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको ३० औं अधिवेशन प्रक्रिया विपरित एक पक्षीय रुपमा भएको अधिवेशनका सभासदहरुले आरोप लगाएका छन् । अधिवेशनका प्रतिनिधिहरुको नाम अनुमोदन लगायत विषयमा सुनुवाई नगरी एक पक्षीय ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाई कार्यसमिति घोषणा गरिएको भन्दै आपत्ती प्रकट गरेका छन् ।
माघ २८ गतेदेखि बागलुङ बजारमा जारी अधिवेशनमा जिल्ला शाखाको वैठकबाट प्रतिधिनीलाई अनुमोदन नगराई निर्वाचन प्रक्रिया अगाडी बढाईएको, प्रतिनिधिको नाम पटक–पटक परिर्वतन गरिएको, कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा गम्भिर प्रश्न उठेको तर पास नभएको अवस्थामा ध्यानकर्षण गराउदा समेत एकपक्षिय ढंगले अधिवेशन गरिएको भन्दैं १ सय जना भन्दा बढी प्रतिनिधिहरुले विरोध जनाएका छन् ।
विज्ञप्तीमा विभिन्न शाखाबाट सिफारिस नभएका व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गरिएको, मालिका उपशाखा, बा.न.पा–४ उपशाखा, बाटाकाचौर उपशाखा सिफारिस भएर आएका व्यक्तिको नाम परिर्वतन गरिएको, जिल्ला शाखाको कुनै पनि वैठकमा छलफल नभई व्यक्तिगत आधारमा नाम टिपाएका व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गरिएको, २९ औं साधारणसभामा तंङग्राम लगाएतका उपशाखाबाट आएका नाम ३० औं अधिवेशनमा जस्ताको तस्तै समावेश गरिएको उल्लेख गरिएको छ ।
अधिवेशनका प्रतिनिधिहरुको विषयमा छानविन गर्न निर्वाचन अधिकृतलाई गरिएको अनुरोध अनुसार पटक पटक निर्वाचन कार्यक्रम सारिए पनि उक्त विषयमा नेतृत्वमा रहेको पक्षले छलफल नगरी पद बाँडफाँडमा केन्द्रीत भएको तथा असन्तुष्ट पक्षलाई अलमल्याएर एकलौटी गर्ने तरिकाले अगाडि बढेको विज्ञप्ती मार्फत जनाइएको छ ।
पछिल्लो समय रेडक्रसमा समेत पार्टीगत रुपमा निर्वाचन हुने प्रचलन बढेको छ । बागलुङ रेडक्रसमो कांग्रेस समर्थकहरुको बहुमत भएपछि बामपन्थी समर्थकहरुलाई पेलेर अगाडि बढ्ने प्रक्रिया अनुरुप समस्या सिर्जना भएको अधिवेशनका एक प्रतिनिधिले बताए ।
निर्वाचन समितिले जब्बर बहादुर लामिछाने सभापति रहेको कार्यसमिति निर्विरोध भएको घोषणा गरेको छ । यस सम्बन्धमा निर्वाचन समितिका संयोजक सूर्य ढकालसंग सम्पर्क गर्दा जिल्लाले प्रमाणीत गरेर पठाएका नाम नै केन्द्रले अनुमोदन गरेको भन्दैं आफुहरुले प्रक्रियाम रहेर काम गरेको दावी गर्नुभएको छ ।