प्रधानमन्त्रीको भारत भ्रमण र संशयपूर्ण परिदृश्य

सम्पादकीय
हुन त भारत र चीन छिमकी राष्ट्र हो । छिमेकी भएर नै यी देशहरुसँगको सम्बन्ध विश्वका अरु देशहरु भन्दा पृथक छ । दुई छिमेकी देश मध्ये पनि भारतसँगको सम्बन्ध नेपालको अझ बलियो र नजीक छ । यद्यपि, यही निकट सम्बन्धको फाइदा उठाएर भारतले पटक पटक नेपालको सार्वभौमिकता, अखण्डता लगायतका सवालमा धावा बोल्ने गरेको छ । जस प्रति नेपालको सरकार, राजनीतिक दल र नेताहरु मुकदर्शक बन्ने गरेको तथ्य दर्जनौ छन् । त्यो कुनै एक दलमा सीमित छैन, कुनै एक नेतामा सीमित छैन । जुनसुकै पार्टीको सरकार आए पनि भारत प्रति अनुग्रहित हुने र दास मनोवृत्तिबाट गुज्रेको इतिहास जनताको माझमा छिपेको छैन ।

अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा उस्तै बिडम्बनापूर्ण परिदृश्य देखिएको छ । चारदिने भारत भ्रमणमा जानुको केही घण्टा पूर्व मात्रै विवादास्पद नागरिक विधयेक राष्ट्रपतिबाट प्रमाणिकरण गरिएको छ । देशका विषयमा गम्भिर भएको निश्कर्ष सहित निवर्तमान राष्ट्रपतिले रोकेको विधयेक ताजा जनमत प्राप्त गरेको संसदमा कुनै छलफल नगरी वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरिनु, त्यो पनि जुन संशय बिद्यमान थियो र छ, त्यसलाई बल पुग्ने गरी प्रधानमन्त्रीको दिल्ली यात्राको केही घण्टा अघि मात्र गरिनु सामान्य विषय कदापि होइन । अर्को तर्फ नेपालका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । यो विषयमा पनि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण बुधवार बल्ल सुरु भएको छ । त्यसैले यसका बारेमा अहिले नै आलोचना गर्नु हतारो हुनेछ । यद्यपि, भ्रमणको सुरुवातमै जे जस्ता दुरगामी देशलाई असर गर्ने परिदृश्यका गतिविधि देखिएका छन् । त्यो त्यति सुखद र सकारात्मक छैनन् । नागरिकता विधयेक जस्तो गम्भीर विषय अध्यादेश जस्तो मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गर्ने बेथिति सिर्जना गरिएको छ । यसका लागि बहस पैरवी हुनुपर्ने संसद यति गम्भिर सवालमा बेखबर छ । सर्वोच्चको फैसलाको मसी सुक्न नपाउँदै रेशम चौधरीलाई कैद मिनाहा गरेर चौतर्फी आलोचित राष्ट्रपतिको यो पदिय मर्यादा, विधिको शासन र विषयवस्तु सबै दृष्टिले भत्र्सनायोग्य छ । अर्को तर्फ भारतको नेपाल, सरकार प्रति जहिले पनि हेयको दृष्टि र व्यवहार छ । जुन स्वागतमा देखियो भन्ने आवाज चर्को छ । यही बेला भारतीय नक्सामा नेपाली भूमिको विषय सार्वजनिक छ । अब बाँकी भ्रमणका समयमा के कस्तो हुनेछ ? त्यसले नेपाल, प्रधानमन्त्रीको असली हैसियत र अनुहार प्रष्ट हुनेछ । आशा गरौं, यस्तो चौतर्फी चासो र संशयका बिच प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक र उपलब्धिमूलक बन्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *