पर्यटक लोभ्याउँदै गलकोट दरबार

आदर्श अनलाइन, बागलुङ
बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक आकर्षणको केन्द्रको रुपमा रहेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास हो गलकोट दरबार । पुरानो सदरमुकाम, गलकोट दरबार र अहिले मात्रै पर्यटकीय गन्तव्यको रुपमा थपिएको टेउवाको खुल्ला मुर्तिकला संग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ ।

हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ । अहिले गलकोट दरबारमा आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकहरुको संख्यामा वृद्धि भएसंगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरतबम मल्लका नाती मञ्जेशबम मल्लले बताउनुभयो ।

जीर्ण बन्दै गएको बागलुङको गलकोट दरबारका यो वर्ष पाँच वटा झ्याल पुरानै शैलिमा फेरिएको मल्लको भनाई छ । दरबारको वरपर फैलिएको बगैचामा अहिले सुन्तलाका बोट समेत हुर्किरहेका छन् । “दरबार एक सय दुई वर्ष पुरानो हो, यहाँ सिमेन्टको प्रयोग गरिएको छैन, नितान्त स्थानीय कच्चा सामाग्रीको प्रयोग गरेर बनाइएको छ, बगैचालाई व्यवस्थित गराउन सुन्तला समेत रोपिएको छ” नाती मल्लले भन्नुभयो “दरबार संरक्षण गर्नका लागि यहाँ सिसौको काठ खोजिरहेको छु, पुरानै शैलीमा झ्याल तथा ढोकाहरु फेर्न आवश्यक छ, अहिले पाँच वटा मात्रै झ्याल फेर्न सके, पुरानै शैलीमा निर्माण गर्दा झ्याल तथा ढोका निकै खर्चिलो रहेछ ।”

मल्लका अनुसार दरबार हेर्न आउनेहरुले इतिहासको विषयमा खोजी गर्ने भएकाले दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुननिर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफुलको बोटलाई व्यवस्थित गराने योजना रहेको सुनाउनुभयो । बिदाको समयमा दरबार घुम्न आउने पर्यटकको संख्या सबैभन्दा बढी भएको उहाँको भनाई छ ।

हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउनेगरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातीका माछाहरु समेत पालेको बताउनुभयो । “दरबार नजिकै माछा पोखरी थियो रे त्यसैले अहिले बाबु, बाजेको सम्झनाका लागि माछा पोखरी बनाएको हु, यहाँ रंगिन माछा छन् जुन खानका लागि भन्दा पर्यटकहरु आकर्षित गर्नका लागि हो” मल्लले भन्नुभयो “दरबारको रेखदेख गर्ने जिम्मा मेरै काधमा छ, मैले दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु, दरबार पुननिर्माणका लागि काठको खोजी समेत भइरहेको छ ।”
उक्त गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधबममल्ल आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वका समयमा हत्या भएको थियो ।

विसं २०५९ वैशाखमा भएको हत्यासंगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गएपनि दरबारको संरक्षणका लागि राजका नाती मञ्जेशबम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेको बताउनुभयो ।
कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गइरहेकाले उक्त दरबारलाई अध्ययन केन्द्रका रुपमा समेत विकसित भइरहेको छ । वि.स.१९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाण्डौ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् ।

तस्विरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभुती भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलोपटक पुगेका दिलिप प्रतेलले जानकारी दिनुभयो ।

“पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो, भुगोल दरबार तथा बगैचा देख्दा राजा बस्ने ठाउँ जस्तै छ” प्रतेलले भन्नुभयो “यसको पुननिर्माण गर्न आवश्यक देखे, केही कामको थालनी भएको रहेछ, दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने संभावना रहेछ ।”

दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्दित भएको उहाँको भनाई छ ।

बाबुको हत्यापछि विस्थापित परिवार नफर्कदा दरबारको विभिन्न संरचना लथालिङ्ग भएपनि पछि नाती मन्जेशबममल्ल आएर दरबारलाई संरक्षण गर्न थाल्नुभएको हो ।

२०१७ साल सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालन समेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो । वि.स.२०१९ सालमा बागलुङ जिल्लाको सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो ।

पर्यटकीय स्थल घुम्टेपहाडको काघमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाइघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकहरुलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्त हेमन्त भण्डारी जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *