अमेरिकन स्वाइन फिवर : चार सय बङ्गुर मरे


आदर्श अनलाइन, बगालुङ

अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्नथालेपछि बागलुङका किसान चिन्तित भएका छन् ।

धमाधम बङ्गुर मर्नथालेपछि यहाँका किसानहरुले लाखौको नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर १,२,३ र ४ मा व्यावसायीक रुपमा पालिएका बङ्गुरहरुमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म ४०० बङ्गुर मरेको किसानको भनाई छ ।

किसानले व्यावसायिक रुपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको बङ्गुरपालक किसान गणेशबहादुर पुनले बताउनुभयो ।

“केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्” पुनले भन्नुभयो “बिहान ठिकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरेनरी अस्पतालमा हार गुहार गरेका छौं, उहाँहरुले परिक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ ।”

बागलुङ बजार क्षेत्रमा ५४ जना किसानले व्यावसायीक बंगुरपालन गर्दै आएकोमा अहिले धमाधम बङ्गुर मर्नथालेपछि किसानहरुले दुई करोड बराबरको क्षति पुगेको बङ्गुर पालक किसान डिलमाया थापाले बताउनुभयो ।

“बंगुरपालन गर्न थालेको वर्षो भयो, अहिले सम्म यस्तो थाहा पाइएको थिएन, पहिलो पटक बङ्गुर धमाधम ढलेर मर्नथाले अहिले मेरै खोरमा १५ वटा बङ्गुर मरिसकेका छन्” थापाले भन्नुभयो “दैनिक खोर रित्तिदै गएपछि म जस्ता किसानहरुको उठिबास लागेको छ ।”

यस क्षेत्रका ५४ जना किसानले पालेका तीन सय ९२ वटा बङ्गुरको मृत्यु भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले किसानको समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसंग ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।

किसानले पालेका बङ्गुर तथा सुँगुर एक्कासी मर्न थालेपछि रोगको विषयमा पहिचान गर्न नमूना संकलन गरिएको भएपनि अहिले मरिरहेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

“लक्षण पुरै ‘अफ्रिकन स्वाइन फिभर’को देखिएको छ, बागलुङको जैमिनी नगरपालिकामा पहिलो पटक किसानले पालेका बंगुरको परिक्षण गर्दा गत पौषमा मात्रै ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको थियो” सापकोटाले भन्नुभयो “मरेका ४० वटा बंगुरबाट नमूना संकलन गरी पोखरा पठाइएको छ, किसानले खोरलाई निर्मलीकरण गर्न आवश्यकता देखियो, हामी रोग नियन्त्रणका लागि लागि परेका छौं ।”

बर्ड फलुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातीमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिभर’ रहेको पशु प्राविधिक केशव शर्माले जानकारी दिनुभयो ।

यो संक्रमण भएमा सुँगुर, बङ्गुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्ने लक्षण देखा पर्ने गरेको छ, उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग रहेको शर्माको भनाई छ ।

यो रोग विरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचार समेत हुन नसक्ने भएकोले उच्च सतर्कता अपाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाई छ ।
कुनै स्थानमा अस्वाभाविक रूपमा बङ्गुर मरेमा वा लक्षण देखा परेमा तत्काल कार्यालयमा जानकारी गराउन केन्द्रले किसानलाई आग्रह गरेको छ । बागलुङमा दुई सय भन्दा बढि किसानले १२ हजारको सङख्यामा सुँगुर, बङ्गुर पाल्दै आएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

रोगी बङ्गुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकोले सावधानी अपनाउनुपर्ने छ ।

अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन् २०१८ मा चीनमा र त्यसपछि भारत, भुटानमा पनि देखा परेको थियो । दुईवटा फर्मबाट शुरु भएको महामारी ५२ वटा फर्ममा फैलिसकेको किसानको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *