कहिले चल्छ बलेवा विमानस्थलमा जहाज ?

डम्मर बुढा मगर, बागलुङ
बागलुङ बलेवा विमानस्थल कालोपत्रे गरेर रंगरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर संचालन हुन नसकेको यो विमानस्थल कालेपत्रे गरि सक्दा पनि विमान कहिले संचालन हुन्छ भन्ने अत्तोपत्तो छैन । वि.सं. २०२२ सालमा स्थानीयले श्रमदान गरि तयार गरेको विमानस्थल वि.सं. २०४८ सालसम्म संचालन भयो । वि.सं. २०४८ मा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमान चल्न बन्द भएको थियो ।

२६ वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले वि.सं. २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन ग¥यो । त्यस बेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान नियमित उडान भरे । धावनमार्ग कच्ची हुँदा विमान संचालनमा समस्या आएपछि उडान रोकिएको थियो । लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल संचालनका लागि धावनमार्ग कालोपत्रे गरेपछि स्थानीय नियमित विमान संचालन हुने आश पलाएको थियो । तर अहिलेसम्म संचालनका लागि कुनै पहल नहुँदा स्थानीयको आशा निरासामा परिणत भएको छ ।

विं.सं. २०७८ चैम महिनामा विमानस्थलको सात सय मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्ग कालोपत्रे गरिएको थियो । धावनमार्ग कालोपत्रेसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ । धावनमार्ग नागरिक उड्यन प्राधिकरणको सात करोड रुपैयाँ लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्रे निर्माण गरेको थियो । लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम बढेको छ । राज्यले चासो नदिँदा करोडौँको पूर्वाधार प्रयोगविहीन बनेको स्थानीय कुमार पौडेलले बताउनुभयो ।

पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्र रुपमा भइरहेको भन्दै विमानस्थल संचालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ । उहाँ भन्नुहुन्छ– “विमानस्थल संचालन गर्नकै लागि राज्यले यति ठूलो करम खर्चेको छ, तर संचालन गर्न ढिलाई गरि रहेको छ, विमानस्थल छ, विमान छैन, बलेवा बजारका रुपमा विकास भएको छ, पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोत साधानहरु गुमान बनेका छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरि आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल संचालन गर्न जरुरी छ ।”

बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान संचालन नहुनु दःखद भएको बताउनुभयो । विमानस्थल संचालनका लागि मन्त्री सांसदहरुसँग पटक–पटक माग गरे पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । यहाँदखि नियमित विमान संचालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका भन्दै रोजगारका अवसरहरु सृजना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन सकिने उहाँको भनाई छ ।

“पहिले यहाँका स्थानीयले खनेरै यति ठूलो विमानस्थल बनाए, उतिबेला अहिलेको जस्तो मेशिनहरु आएका थिएनन् र पनि विमान चलेको थियो, अहिले मेशिन आए काम पनि भयो तर विमान आएन,” अध्यक्ष खत्रीले भन्नुभयो– “जहाज संचालनमा आए, यहाँका नागरिकका लागि रोजगारीको अवसर सृजना हुने थियो, पहिले अहिलेको जस्तो बाटोघाटो थिएन, मान्छेहरु टाढा–टाढाबाट आएर ‘प्लेन’ मार्फत गन्तव्यमा पुग्थे, अहिले सडकले यति धेरै सुविधा बनाउँदा पनि जहाज चलाउन गाह्रो भयो, माथिल्लो निकायले तदारुकता देखाए चल्न समस्या छैन ।”

यस विमानस्थलबाट ०४८ सालसम्म काठमाण्डौ, पोखरा, भैरहवा र जोमसोमको उडान हुने गरेको उहाँको भनाइ छ । विमानस्थल संचालन नभए यहाँ के गर्ने त्यस विषयमा सरोकारवाला निकायले विकल्प दिनु पर्ने बताउनुहुन्छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले कालीगण्डकी कोरिडोर कालोपत्रे नहुँदा विमान संचालनमा समस्या भएको बताउनुभयो । कच्ची सडकमा बजारदेखि विमानस्थलसम्म पुग्न धेरै समय लाग्ने र यात्रु कम हुने हुँदा तत्काल विमान संचालन गर्न नसकिएको उपप्रमुख खड्का बताउनुहुन्छ ।

“कालीगण्डकी कोरिडो पिच गर्नका लागि माननीयहरुसँग पनि कुरा गरि रहेका छौँ, बागलुङ नगरपालिकाले छिमेकी जिल्ला पर्वत, म्याग्दी र त्यहाँका पालिकासँग सहकार्य गर्न थालेका छौँ, यहाँबाट दिनदिनै जहाज नचले पनि सातामा एक पटक संचालन गर्ने योजना छ,” उपप्रमुख खड्काले भन्नुभयो – “नागरिक उड्ययन प्राधिकरणले पनि यहाँ जहाज चलाउन सकिने बताएको छ, विमान संचालन गर्ने तर्फ हामीहरु गम्भीर भएर लागेका छौँ, सडक कालोपत्रे हुँदा साथ संचालन हुन्छ ।”

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोर कालोपत्रे हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उहाँको भनाइ छ । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै साविकको धौलागिरी क्षेत्रको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । तर सरकारले यस आगामी वर्षको बजेटमा यस विमानस्थललाई समावेश गरेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *