अलपत्र लोकमार्ग र स्थानीयको आन्दोलन

सम्पादकीय
मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाबासीका लागि विकासको एक सुखद अध्यायको रुपमा भित्रिदाँ जे जस्तो उत्साह थियो, त्यो अहिले चरम निराशामा बदलिने अवस्थामा आइपुगेको छ । कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम—अक्षेते बिहुँ खण्डमा समयमा काम हुन नसक्दा जिल्लावासीका लागि वर्षौदेखि टाउँको दुखाइको विषय बनेको छ । तीन तहको सरकार पटक पटक बन्दा पनि अपेक्षित प्रगति हुन नसक्नु बिडम्बनापूर्ण कुरा हो । जसले गर्दा यस क्षेत्रका बासिन्दा हिउँदमा धुलाम्य र बर्खामासमा हिलाम्य भएर सकसपूर्ण यात्रा गर्न बाध्य बनिरहेका छन् । र पनि प्रधानमन्त्री, मन्त्री, प्रदेश मुख्यमन्त्री, मन्त्री, पालिका मेयर अध्यक्ष, जनप्रतिनिधि, उच्चस्तरका सम्बन्धित कर्मचारीलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत यस आयोजनाको अवस्था अझै उदेकलाग्दो छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ—बिहुँ खण्ड अलपत्र पर्नुमा ठेकेदारको चरम लाहपरवाही छ । यसरी लापरवाही बेवास्ता गर्ने ठेकेदारलाई तत्काल कारवाही गरेर आयोजनाको काम अघि बढाउन नसक्ने सरकार र सरोकारवाला निकायको उस्तै लाचारीपन देखिदै आइएको छ । यसबाट आजित भए पछि अहिले काठखोला गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीय नागरिक बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको अगुवाईमा आन्दोलित हुन बाध्य भएका छन् । उनीहरुले लोकमार्ग कालोपत्रे र पटक पटक म्याद थपेर काम नगर्ने निर्माण कम्पनीको ठेक्क रद्द गर्न माग गर्दै ठेकेदार कम्पनीको कार्यालयमा ताला लगाएका छन् भने सडक अवरुद्ध पारेर प्रदर्शन गर्दै आएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पनि सदरमुकाम आसपास बाहेकका अधिकांश ठाउँमा कालोपत्रे गरिसकिएको छ । तर, बागलुङ अक्षेत बिहुँ खण्डमा काम गरे जस्तो गरेर जनताको आँखामा छारो हाल्ने काम मात्रै भएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाको बागलुङ बिहुँ खण्ड वर्षौदेखि अलपत्र छ । यही अलपत्र खण्डबाट दर्जनौ पटक प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद, जनप्रतिनिधिहरु यात्रा गरेका पनि छन् । जनता र जिल्लाबासीले पटक पटक ध्यानाकर्षण पनि गराएका छन् । तर, आयोजनाको हालत आज पनि दुर्भाग्यपूर्ण अवस्थामा छ । पटक पटक म्याद थप्दा पनि काम नगर्ने ठेकेदार कम्पनी माथि कालोसूचीमा राखेर कारबाही हुन सकेको छैन । बरु यसमा सरकार, राजनीतिक दल र कर्मचारी संयन्त्रबाट उल्टै संरक्षण भइरहेको छ । यहाँका मन्त्री, सांसद, सचिव भन्दा ठेकेदार शक्तिशाली भएर देखिएको दर्जनौ दृष्टान्त छन् । अलपत्र यस आयोजनाका विषयमा विगतमा सांसद, नेता, जनप्रतिनिधिले पहल नगरेका होइनन्, संसदमा आवाज नउठाएका पनि होइनन् । आवाज उठाउदा, निरन्तर पहल गर्दा समेत ठेकेदारले छुट पाइरहने र काम नहुने प्रवृत्तिबाट लाचार बन्नु परेको विगत छ । यसका बाबजुद पनि लोकमार्ग आसपास र जिल्लाबासीले धैर्य नै गरेका थिए । अहिले अति नै हुन थाले पछि धैर्यताको बाँध टुट्न लागेको छ । यसको एक उदाहरण स्थानीयको आन्दोलन हो । अब पनि सुनुवाई नभए, सरकारले ध्यान नदिए मौनता साधेर अब बागलुङबासी बस्ने छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *