मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिदै


खेमराज गौतम, बागलुङ

विकास निर्माणको चरम लापरबाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डकका ठेकेदारको ठेक्का रद्द गर्ने प्रकृया शुरु भएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङमा पर्ने १४२ किलोमिटर मध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्रे सम्पन्न हुन सकिरहेको छैन भने अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रकृयामा छ ।

समस्या ग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौर देखि घोडाबाँधे सम्मको २५ किमि सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रकृयामा लगिएको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पवतले जनाएको छ ।

बागलुङको उपल्लाचौर देखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधे सम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसंगको ठेक्का सम्झौता रद्द गर्नका लागि मध्यपहाडी राजमार्ग निर्देशनालय पठाउने तयारी गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।

“निर्माण व्यवसायीको चरम लापरबाही भयो, तल्लो खण्डमा चार पटक र उपल्लो खण्डमा पाँच पटक म्याद थप्दा समेत कालोपत्रे सम्पन्न भएन, अब रद्द गर्नुको विकल्प रहेन, उपल्लो सुर्य कन्ट्रक्सनको रद्दको तेस्रो प्रकृयामा पुगेका छौं, तल्लो भारत सिद्धसाई कम्पनीको मंगलबार सूचना निकालेका छौं” आयोजना प्रमुख अधिकारीले भन्नुभयो “दुई वर्षमा सक्ने काम पटक–पटक म्याद थप गर्दा समेत नसक्नु भनेको चरम लापरबाही हो दुबै ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रकृयामा जान्छौं ।”

दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको ७ वर्ष सम्म कालोपत्रे गर्ने काम नसक्दा मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले ठेक्का रद्द गर्ने प्रकृया अगाढी बढाएको छ ।

मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी तथा बागलुङ बजार देखि घोडाँबाधे सडक खण्डको इन्चार्ज इन्जिनियर पवन सुवेदीले दुबै खण्डमा गरी १३ किमी सडक कालोपत्रेका लागि पूर्वाधार समेत निर्माण नगरेका कारण असार सम्म म्याद भएका दुबै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्नेगरी प्रकृया अगाढी बढाइएको जानकारी दिनुभयो ।

“निर्माण कम्पनीको ढिलाईले सिमा नाघ्यो, नागरिक स्तरबाट समेत आन्दोलन भइरहेका छन्, असार सम्म कालोपत्रे सक्ने कुनै संकेत देखिएन फिल्डमा कामदार देखिएनन् उपल्लो १२ किमि सडकको सुर्य कन्ट्रक्सनलाई पत्रिकामा सूचना प्रकाशित गरी धरौटी रकम जफत गरिसकेर निर्देशनालय पठाउन थालिएको छ, तल्लो भारत सिद्धिसाईको ठेक्का रद्द गर्ने विषयमा पत्रिकामा सूचना प्रकाशित गरिएको छ” इन्जिनियर सुवेदीले भन्नुभयो “असारको २० सम्म तल्लो खण्ड र असार ५ गते सम्म उपल्लो खण्डको सम्झौता म्याद छ तर काम नसक्ने भएपछि म्याद अगावै ठेक्का रद्द प्रकृयामा गएका हौं ।”

उपल्लाचौर देखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेवी संग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिले सम्म चार पटक म्याद थप गर्दा समेत बल्ल सात किमि सडक मात्रै कालोपत्रे गरेको छ भने अझै छ किमि सडक कालोपत्रे गर्न बाँकी रहेको छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतीक प्रगती र ६९ प्रतिशत आर्थिक प्रगती भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको काम समेत बाँकी छ ।

यस्तै बिहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्रेका लागि २०७२ माघमा दुईवर्षमा कालोपत्र सक्नेगरी सुर्य कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको थियो । हाल सम्म पाँच पटक ठेक्का सम्झौता म्याद थप भएको उक्त सडक खण्डको म्याद असार सम्म भएपनि ठेक्का रद्द गर्न लागिएको हो ।

असार ५ सम्म उपल्लो खण्डको सम्झौता म्याद भएपनि काम नगरेपछि ठेक्का रद्द गर्नेगरी धरौटी रकम जफत गरेर ठेक्का रद्दका लागि निर्देशनालय पठाइने र निर्देशनालयले सडक विभागमा लगेर ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइनेछ । १२ किलोमिटर सडक मध्ये हाल सम्म उपल्लो खण्डमा ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएपनि पाँच पटक म्याद थप्दा समेत छ किलोमिटर सडक कालोपत्रे गर्न अझै बाँकी रहेको छ ।

उक्त सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तिय प्रगती भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

साढे दुई दशक अगाडी ट्रायक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्र्तरगत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्रे हुन नसक्दा नागरिले सास्ती खेप्नु परेको छ । अहिले बिहँुमा दैनिकजसो निर्माण व्यवसायीका विरुद्ध स्थानीयले विरोध जनाएर आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको स्थानीय खिमानन्द कंडेलले जानकारी दिनुभयो ।

जिल्लाको गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलामा सडक कालोपत्रे भइसक्दा समेत जिल्ला सदरमुकाम खण्ड कालोपत्रे हुन नसक्दा यहाँका जनता निर्माण व्यवसायी विरुद्ध आन्दोलनमा उत्रेको कंडेलको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *