बागलुङका एमाले नेताले पाए जिल्ला र पालिकाको इन्चार्ज

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेले पार्टीका केन्द्रीय पदाधिकारी, स्थायी कमिटि, पोलिटव्यूरो र केन्द्रीय कमिटिका नेताहरुको कार्यक्षेत्र विभाजन गरेको छ । पार्टीको हालै सम्पन्न सचिवालय वैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

गत वैशाख २८ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय कमिटि वैठकमा प्राप्त सुझावका आधारमा केन्द्रीय सचिवालय वैठकले केन्द्रीय कमिटिका पदाधिकारी एवं सदस्यहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ ।

कार्य विभाजनको मुख्य उद्देश्य मिसन ग्रासरुटबाट पहिचान भएका संगठनात्मक समस्याहरुको समाधान गर्नु, काममा रहेको दोहोरोपन र अस्पष्टता हटाउन र प्रत्येक पदाधिकारी र सदस्यहरुलाई मापन गर्न सकिने जिम्मेवारी दिनु रहेको पोखरेलको भनाइ छ ।

एमालेले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहलाई विभागीय कामको संयोजनको अतिरिक्त जिम्मा दिएको छ । एमालेका ३३ विभागलाई ७ समुहमा विभाजन गरी उपाध्यक्षहरुलाई त्यसको संयोजनको जिम्मेवारी दिइएको छ ।

सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कार्यविभाजन अनुसार बागलुङ जिल्लाको इन्चार्जको जिम्मवारी पोलिटव्यूरो सदस्य जगत विश्वकर्माले पाउनु भएको छ ।

बागलुङबाट एमाले केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने ७ जना मध्ये ३ जनाले जिल्ला इन्चार्ज र अन्यले पालिका तथा विभाग र जनसंगठनको संयोजन गर्ने जिम्मेवारी पाउनु भएको छ ।

पोलिटव्यूरो सदस्य लिल बहादुर थापा मगरलाई म्याग्दी जिल्लाको इन्चार्ज र पोलिटव्यूरो सदस्य मन कुमारी जिसी केसीलाई नवलपुर जिल्लाको इन्चार्ज तोकिएको छ ।

यस्तै केन्द्रीय सदस्य गोविन्द बहादुर नेपालीलाई म्याग्दी जिल्लाको इन्चार्ज, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटालाई बागलुङ प्रतिनिधिसभा क्षेत्र नं १ अन्तरगतका पालिकाको इन्चार्ज तोकिएको छ । सापकोटाले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको इन्चार्जका रुपमा जिम्मेवारी पाउनु भएको छ ।

केन्द्रीय सदस्य डा.सूर्य पाठकले रिटर्नी फेडरेशनको इन्चार्ज तथा जनसंगठन समन्वय संयन्त्र गण्डकीको संयोजनको जिम्मेवारी पाउनु भएको छ । अर्का केन्द्रीय सदस्य कृष्ण बहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुखको र केन्द्रीय सदस्य सावित्रा रानाले बागलुङ प्रतिनिधिसभा क्षेत्र नं.२ अन्तरगतका पालिकाको इन्चार्जको जिम्मेवारी पाउनु भएको हो ।

रानाले गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको इन्चार्जको रुपमा काम गर्नु हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *