आदर्श अनलाइन, पर्वत
पर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिम सुरु भएको छ । सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा जानकारी दिने उदेश्यले उक्त तालिम शुरु भएको हो । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको आयोजना, जिल्ला सहकारी संघको समन्वयमा विहीवारदेखी शुरु भएको छ । जेठ ३० गतेसम्म सञ्चालन हुने भएको छ ।
तालिममा पर्वतका विभिन्न सहकारीका अध्यक्षहरु सहभागी भएका छन् ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराका प्रमुख रोशन अर्यालको अध्यक्षतामा भएको छ । अर्यालले सुसासन कायम गर्न सहकारीले कुनै पनि सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले प्रचलित ऐन, कानुन, नीति नियममा रहेर सहकारी दर्ता गर्ने र सञ्चालन गर्ने देखि संस्थामा आर्थिक पारदर्शिता कायम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
ऋण लगानी र असुलीमा नयाँ खालको योजना बनाउन आवश्यक रहेको बताउनुभयो । सहकारीका समस्याका बारेमा आफुहरु जानकार रहेको भन्दै रजिष्टार अर्यालले समस्या समाधानका उपायहरुको बारेमा बृहत्तर रुपमा छलफलहरु भैरहेका जानकारी दिनुभएको थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले समस्यामा रहेका सहकारी लाई यो तालिमले धेरै कुरा सिकाउने अपेक्षा रहेको सुनाउनुभयो । उहाँले सहकारी देशको आर्थिक क्षेत्रको मेरुदण्ड रहेको भन्दै सहकारीको उन्नतीमा सबैले ध्यान दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रमको स्वागत जिल्ला सहकारी संघका अध्यक्ष शेषराज रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका सहकारी शाखाका प्रमुख ऋषिराम शर्माले सहकारीको नियमन, पारदर्शिता, ऐन, नियमको पालनाको बारेमा नगरपालिकाले संधै ध्यान दिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन सहकारी रजिष्ट्रार कार्यालयका शाखा अधिकृत ईश्वरी ढकालले गर्नुभएको थियो ।