सरोजराज पन्त
रेश नेपालको गण्डकी प्रदेशको बागलुङ जिल्लामा अवस्थित एक रमणीय गाउँ हो । सदरमुकाम बागलुङ बजारबाट करिब १४ किलो मिटर दुरीमा अवस्थित रेश काठेखोला गाउँपालिका–७ मा पर्दछ । यसको कुल क्षेत्रफल १७.०५ वर्ग कि.मी. रहेको छ ।
रेशमा भैरव मन्दिर जिरेदी, भैरव मन्दिर हेरल्थान, माईको मन्दिर जिरेदी र माईको मन्दिर दुरामारे, सत्यवती मन्दिर गलैना, शिवालय मन्दिर ओदानडाँडा र पिंडाल्ला, गणेश मन्दिर चकमके र आरिमपाटा, राधाकृष्ण मन्दिर काफलबोट, कोट तथा रानीभूमे मन्दिर, सरस्वती मन्दिर नुन्थला, श्रीराम मन्दिर पल्लाचौरी, कालिका मन्दिर बौर, बर्माको थान साथै बौद्ध गुम्वा गुरुङथर जस्ता धार्मिक मठ मन्दिरहरु रहेको रेशमा एैतिहासिक एवम पुरातात्विक महत्वको कोट तथा रानी भूमेको मन्दिर रहेका छन । रेश र सिगानाको बीचमा अवस्थित भुरे राजाको दरवार रहेको स्थान सिगानाले पूज शागर्ने ठूलो कोट तथा रेशले पूजा गर्ने सानो कोट, आश्विन शुक्ल पक्षको नवरात्रीमा उपवास वसी भुरे राजाहरुले प्रयोग गरेका हतियार र नवदूर्गाको पूजा अर्चना गर्ने स्थान महत्वपूर्ण रहेका छन ।
धार्मिक मन्दिरहरु काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा चारवटा समूहका ३६ घरमा घरबास कार्यक्रम सञ्चालन भएको छ । बौर सामुदायिक होमस्टेमा मगर समुदायका ५ घरले सञ्चालन गरेका छन । यहाँ स्थानीय उत्पादन गुन्दु्रक, भटमास, सिमि, आलु, बांकोको सिन्की (गुन्द्रुक) चामलसंग साट्ने कामको सुरुवात भएको छ । आन्तरिक र वाह्य पर्यटकहरुको आकर्षण चिया खेति नमूना बनेको छ । होमस्टेसंगै चिया वगानमा रमाउनका लागि पर्यटकको आगमन वढ्ने सम्भावना देखिएको छ । भकुण्डेको होमस्टेवाट गाजाधुरी जान सहज हुने भएकोले यस होमस्टे दीगोे रुपमा सन्चालन गर्न सकेमा फाइदा हुनेछ ।
डोेटा देउराली सामुदायिक होमस्टेमा ८ घरधुरी रहेका छन । ब्राह्मण, क्षेत्री र मगर समुदायको सहभागितामा होमस्टे स्थापना भएको र स्थानीय उत्पादनलाई जोड दिने उद्धेश्यले कोदोको रोटी, खिर मकै, भटमास, मकैसंग मोही लगायतको खाना खुवाउने गरेको र बेमौसमी तरकारी उत्पादन गर्न प्लास्टिक टनेलको प्रयोग गर्ने, कोदो मकैको उत्पादनमा जोड दिने गरेको पाईयो । डोटामा रहेको छानो सहितको प्रतिक्षालय, पार्क, माहुरीपासो, ढुंगेसाँघु, पिकनिक स्पट, मदन भण्डारी पार्क, सामुदायिक स्नानगृह, विसौनीहरुमा छानो सहितको प्रतिक्षालयको निर्माण र यस समुदायमा पहिले प्रयोगमा रहेका परम्परागत वस्तुहरुको संकलन गरी डोटा देउराली संग्राहलयको स्थापना आदिले सम्भावना बोकेको छ ।
यसैगरी रेशको केन्द्रविन्दुमा रेश सामुदायिक होमस्टे रहेको छ यसमा ८ जनाको सहभागिता रहेको छ । वडा कार्यालय, नुन्थला मा.वि., रेश स्वास्थ्य चौकी संगै बौद्दगुम्बा रहेको छ । रेशको केन्द्र यही स्थान भएकोले यहाँंको होमस्टेमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन हुने गरेको छ । होमस्टेमा गोल घरहरु बनाउन सुरु गर्नु पक्की घरहरुको निर्माणले बाहिरवाट रेशमा आउने पाहुनाहरुलाई होमस्टेले खान बस्नको लागि सहज बनाएको छ ।
माहुरी झरना सामुदायिक होमस्टेमा १५ घरको मिश्रित जातजातिको सहभागिता रहेको छ । यहाँ पर्यटकीय स्थल माहुरी झरना सामुदायिक होमस्टेको पहलमा समुदायले पर्यटकिय गन्तब्य माहुरी झरनासम्म पुग्ने पदमार्ग निर्माण, नेटेस्वांरामा भ्युटावरको निर्माण, मौसमी तथा बेमौसमी तरकारी उत्पादन, बागलुङ बजारवाट अर्थात कांठेखोला प्रवेश गरी गाजाको दहसम्म जाने पर्यटकको लागिे होमस्टेको राम्रो प्रभाव पर्ने देखिन्छ । पर्यटनको क्षेत्रमा भएका विकासले रेशको पहिचान, संस्कृतिको प्रचार तथा प्रसार, आर्थिक उन्नति र जीवन शैलीमा परिवर्तन आएका छन् ।
घरबास कार्यक्रमले विकास निर्माण, उत्पादन, सामाजिक सहकार्य, मठ, मन्दिर, गुम्वाको संरक्षण, झरना, सांघु, माहुरी पासो जस्ता स्थानको ब्यवस्थापन, पदमार्ग, सडक सञ्जाल, मोटरवाटो, नालिहरुको निर्माण, आधुनिक घरहरुको निर्माण भएका छन । घरबास कार्यक्रमको सुरुवातसंगै ब्यवस्थापनको लागि तालिम गोष्ठी, घरबास कार्यक्रम सञ्चालकलाई पर्यटकहरुको आगमन तथा बसाईवाट आय आर्जनमा वृद्धि, बेमौसमी तरकारीको उत्पादनमा वृद्धि भएकोले उत्पादित बस्तुको विक्रि वितरण मार्फत आय आर्जनमा वृद्धि, व्यवसायिक रुपमा पालन गरिएका कुखुरा,वाख्रा तथा बंगुरको विक्रि वितरण मार्फत आय आर्जनमा वृद्धि, प्लास्टिक टनेलको स्थापना गरी उक्त टनेल भित्र टमाटर लगायतका अन्य तरकारी उत्पादन तथा विक्रि वितरण मार्फत आय आर्जनमा वृद्धि, विकास निर्माणले तिव्रता पाएकोले उक्त निर्माणमा धेरै जसो सिपको प्रयोेग भएकोले स्थानीय स्तरमा रोजगारीको सिर्जना भएकोले रोजगारवाट आय आर्जनमा वृद्धि, घरबास कार्यक्रमका लागि आवश्यक प्राविधिक ज्ञान तथा सिप हस्तान्तरण मार्फतको आम्दानी, स्थानीय स्तरमा सञ्चालनमा रहेका सार्वजनिक यातयातका संचालकको आय आर्जनमा वृद्धि, ईन्टरनेट सेवा लिने ग्राहक वृद्धि भएकोले ईन्टरनेट सेवा प्रदायकको समेत आय आर्जनमा वृद्धि भएकोे छ ।
घरबास कार्यक्रमको सुरुवात पछि तालिम गोष्ठी र भ्रमणहरु भएका र ती तालिम तथा भ्रमणले ा ब्यक्तिहरुमा बोल्न सक्ने क्षमता, नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको छ । सामुदायिक वन, विद्यालय ब्यवस्थापन समित, स्थानीय स्तरमा हुने विकास निर्माण समितिमा घरबास कार्यक्रमको प्रभाव परेको छ । धार्मिक प्रभाव घरबास कार्यक्रम सञ्चालन पछि पर्यटकिय स्थलहरुको विकास र प्रवद्र्धन गर्न, धार्मिक स्थलहरु मठ मन्दिर गुम्वाको मर्मत सम्भार गर्न घेरावाल पर्खाल लगाउने काम गरेको पाइयो । घरबास कार्यक्रम सञ्चालन पछि भाषा संस्कृतिमा प्रभाव परेको छ ।
रेशमा घरबास कार्यक्रमको सुरुवातसंगै विकास निर्माणका कामले अत्यन्तै तिव्रता पाएको देखिन्छ । युवा बडाध्यक्ष प्रेम लामिछानेको नेतृत्वमा विकास निर्माणका नियमित रुपमा सञ्चालन भएका छन । शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, ढल, पदमार्ग, कृषि लगायतका कामहरु केही सम्पन्न र केही सुरुवातको चरणमा रहेका छन । अहिले रेशका सवै टोलमा केन्द्रिय विद्युतिकरण भएको छ । सुरुमा काठका पोलहरु रहेकोमा अहिले फलामे पोल मार्फत विद्युतिकरण भएको छ । ईन्टरनेटको पहँुच सुरुवाती चरणमा वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीमा सिमित इन्टरनेट सेवा अहिले आएर अधिकांशको पहँुचमा पुगेको छ ।
रेशको सडक सञ्जालको कुरा गर्दा गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म कालोपत्रेको तयारी भैरहेको छ । केही भागमा कालोपत्रे भै सकेको छ । रेश वडा कार्यालय र बागलुङ नगरपालिका वडा नंं. ८ सडक संजालमा जोडिएको छ । चांपाखर्क हुंदै गाजाको धुरी, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका तथा गल्कोट नगरपालिकासंग जोडिएको छ । काठेखोला गाउँ पालिकाको वडा नं ८ लेखानीवाट रेश हुंदै गाजाको दहसम्म जाने वाटोले जोडिएको छ । रेशमा सवैभन्दा ठुलो पदमार्गको रुपमा मदन भण्डारी पदमार्ग र पार्कको निर्माण भएको छ । पदमार्गको गाजाको धुरीसम्म पुग्न सिमेन्ट प्रयोग नगरी स्थानीय स्तरमा पाइने स्लेट ढुंगा (ढुंगाको छपनी) प्रयोग गरी स्थानीय सिप र जनशक्तिवाट निर्माणकार्य भै रहेको छ ।
यसैगरी रेशको पुरानो अवस्थाको झझल्को दिलाई राख्ने संग्राहलय यहाँको अर्को आकर्षण हो । डोटा देउराली सामदायिक होमस्टे र वडा कार्यालयको पहलमा रेशमा पहिले प्रयोग हुने गरेका विभिन्न सामग्रीहरुको संकलन गरी संग्राहलयको स्थापना गरिएको छ । यहाँ ठिकी, जांतो, ठेकी, गौवा, लालटिन, रेडियो, क्यामेरा लगायतका सामग्रीहरु राखिएको छ ।पर्यटक र पैदल यात्रीदेखि घांस सोत्तर गर्ने सवैलाई सहज बनाउन विभिन्न स्थानमा छानो सहितको प्रतिक्षालय निर्माण गरिएको छ ।
रेशमा विकासको विश्लेषण गर्दा घरबास कार्यक्रम आम्दानीको बलियो स्रोतको रुपमा स्थापित हुन सक्ने भएकोले यसको थप विकास र प्रवद्र्धन हुन आवश्यक छ । स्थानीय कला, संस्कृति, भेषभूषा र पहिचानको जर्गेना तथा प्रचार प्रसार गरी यसलाई परिमार्जित गर्न सकेमा टेवा पुग्ने छ । सामुहिक भावनाको विकास गरी नयाँ पुस्तालाई आकर्षण गर्ने र आत्म निर्भर बनाउन र स्थानीय र विषादि रहित खाद्यान्न उत्पादन गरी आन्तरिक र बाह्य पर्यटकमा जोड दिन जरुरी छ । मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँको मर्म अनुरुप मौसमी र बेमौसमी ताजा तरकारीहरु उत्पादन रोजगारीको सृजना गर्न आवश्यक छ ।
रेश गाउँ प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले पर्यटक गन्तव्य स्थलको रुपमा रहेको छ । तथापि पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटकीय स्थलको पहिचान बनाउन सकेको छैन । दीगो ग्रामीण पर्यटनको बारेमा बहस र आवश्यक प्रचार प्रसार नहुनु, व्यवसाय सिजनमामात्र चल्ने, आम्दानी कम भएर आकर्षण नबढनु, पूर्वाधारहरूको अभाव, प्रचारप्रसारको कमी, पहुँच तथा प्राविधिक ज्ञानको कमी जस्ता समस्या तत्काल समाधान गर्न जरुरी देखिन्छ । पर्यटकहरु अभाव र असुविधा हुने ठाउँमा आउर्दैनन् । यसको लागि आवास, यातायात र स्थानीय खानेकुरा, गाउँघरको सरसफाई, निर्माण भएका सडकको मर्मत संभार, पार्कहरुको निर्माण र अन्य ग्रामीण बस्तीहरुमा पक्की सडक सञ्जालको विकास गर्न जरुरी छ ।
परम्परागत बस्ती, छुट्टै संस्कार र संस्कृति, स्थानीय अर्गानिक उत्पादन कोदो, मकै, धान, गहुँ, जौँ, उवाँ, जुनेलो, लट्टे, भटमास, भाँगो, सिमी, केराउ, बोडि, मास विभिन्न मौसमी तथा बेमौसमी तरकारीहरू, फलफूल , दुध, घ्यू, लोकल कुखुरा र बोका, खसीको मासु, माछा, स्थानीय भिर मौँरीको मह, सफा र शान्त वातावरण , बाटोको सहज पहुँच, सञ्चार सेवाको सुविधा, सुरक्षाको राम्रो प्रबन्ध यी होमस्टेमा उपलब्ध गराउन सकेमा पर्यटक भित्राउन सहज हुनेछ । दीगो ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि सीमानाका नाकाहरुमा सूचना बोर्डहरु राख्ने, जिरेदी, नुन्थला र बौँडाईचौरमा पर्यटन सूचना केन्द्रको स्थापना गर्ने र सवारी धनीसँगको समन्वयमा यातयातका साधनहरुको उचित व्यवस्थापन र भाडा समायोजन गर्ने, सडक कालोपत्रेको कामलाई समयमा सम्पन्न गर्न जरुरी छ ।