बागलुङमा माओवादीको बन्द प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ
सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागलुङले पार्टीको नीति, आर्थिक लगायत समसामयिक अवस्थाका बारेमा पार्टी नेता कार्यकर्ताहरुलाई सचेत बनाउनका लागि ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङको आयोजनामा जेठ २६ देखि २८ गतेसम्म नेपाल मगर संघको सभाहल बागलुङमा सञ्चालित प्रशिक्षणमा केन्द्रदेखि जिल्लास्तरका नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

धेरै समयपछि यस्तो प्रशिक्षणमा बसियो, कार्यक्रमका एक सहभागीले भने, –‘पार्टी सत्तामा जान थालेपछि यस्ताखालका प्रशिक्षणहरु हराउदै गएका थिए, सत्ता, पद र प्रतिष्ठाका कारण आजको दिनमा दलहरुप्रति जनतामा नैरास्यता देखिएको छ, पार्टीहरुले कार्यकर्ताहरुलाई यस्ता खालका प्रशिक्षण दिएर जनताका बीचमा अभियान सञ्चालन गर्न सके अझै पनि दलहरुप्रतिको विश्वास बढ्न सक्छ ।’

स्कुलिङ नाम दिइएको प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टीका केन्द्रीय सचिव दिनानाथ शर्मा र समापन अर्का सचिव देवेन्द्र पौडेलले गर्नु भएको थियो । ३ दिनसम्म सञ्चालित स्कुलिङ कार्यक्रममा पार्टी सचिव शर्माले नेपाली कम्युनिष्ट आन्दोलन तथा वर्ग र वर्गहरुको विश्लेषण विषयमा सहजीकरण गर्नु भएको थियो ।
नीति तथा योजना तर्जुमा विषयमा सुभाष अधिकारी, संविधान, कानुन र स्थानीय तह विषयमा खिमलाल देवकोटा, समाजवादको विकास क्रम र प्रयोग तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विषयमा लेखनाथ न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

यस्तै पार्टी नेताहरु परशुराम तामाङले अर्थशास्त्र (समाजवादी अर्थव्यवस्था), बलावती शर्माले महिला आन्दोलन र जनयुद्ध, कृष्ण केसीले उत्पादन र पर्यटन रामराज रेग्मीले द्वन्द्वात्मक भौतिकवाद, चन्द्र बहादुर बुढाले संघीयता, ज्ञामनाथ गैरेले बागलुङ जिल्लाको कम्युनिष्ट आन्दोलन, सुनिल पाण्डेले सूचना प्रविधि, राजिव घिमिरेले पार्टी संगठन र अनुशासन लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

समापन कार्यक्रम जिल्ला इन्चार्ज बलावती शर्माको अध्यक्षता र राजिव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा पार्टी सचिव देवेन्द्र पौडेल, वैकल्पिक केन्द्रीय सदस्य निल बहादुर पुन, केन्द्रीय सदस्य रामदिप आचार्य, सहभागीहरुका तर्फबाट तमानखोलाका नारायण सुनार, बागलुङ नगरपालिकाका राम बहादुर विक, जैमिनी नगरपालिकाका कृष्ण थापा लगायतले बोल्नु भएको थियो ।

मेस चलाएर खाना खाने, पार्टीका कार्यकर्ताहरुले निर्धक्क नेताहरुसंग जनताका समस्या र पार्टी संगठनमा देखा परेका गलत प्रवृतिहरु, पार्टी र जनतासंगको सम्बन्ध टुट्दै गएका विषयमा खुलेर छलफल गर्ने काम धेरै समय पछि भएको एक सहभागीले बताएका छन् ।

सहभागीहरुलाई खाना लगायतको व्यवस्थापनको संयोजन अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला संयोजक ललिता थापाले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *