कमजोर विद्यार्थी आन्दोलन, अराजकतामा सक्रिय ?

सम्पादकीय

कुनै समय यस्तो थियो, जतिबेला विद्यार्थी आन्दोलनले मुलुकका बेथिति, मनपरीमा धावा बोल्न साथ ठुलै उथल पुथल हुन्थ्यो । चाहे त्यो निजी र सरकारी स्कुलहरुले मनपरी बढाउने शैक्षिक भर्ना र मासिक शुल्कमा होस् या सरकारले बढाउने पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा होस् । तत्काल सडकमा आन्दोलित भएर सरकार र सम्बन्धित निकायलाई झुकाएरै छाड्नै सामथ्र्य र हैसियत राख्थ्यो । मुलुकको व्यवस्था बदल्ने आन्दोलन र अभियानमा पनि विद्यार्थी आन्दोलनको भूमिका र योगदान उल्लेख्य रहेकोमा दुई मत छैन । तर, पछिल्लो समय भने विद्यार्थी आन्दोलन इतिहासकै कमजोर अवस्थामा पुगेको छ । बिभिन्न पार्टीका भातृ संगठनका रुपमा विद्यार्थी संगठनहरु न शैक्षिक मुद्धामा केन्द्रित हुन सकेका छन्, न राजनीतिक सामाजिक मुद्धामा नेतृत्वले गलत कदम उठाउँदा खबरदारी गर्न सकेका छन् । बरु अराजक गतिविधिहरुमा सम्लग्न भएर समग्र विद्यार्थी आन्दोलनकै बदनाम भइरहेको छ ।

यसमा पछिल्लो केही साता यताको घटनाक्रम हेर्दा पनि विद्यार्थी आन्दोलन कुन स्तर र अवस्थामा पुगेको छ, सहजै अनुमान गर्न सकिन्छ । नेपाल विद्यार्थी संघ (नेवि संघ), मोरङका विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेर दुव्र्यवहार गरे । जसको भिडियो अहिले आम सञ्चारका माध्यम र सामाजिक सञ्जालमा भाइरल छ । नेविसंघ कार्यकर्ताले ‘विश्वविद्यालय अराजक’ भएको भन्दै मोसो दल्नुपरेको तर्क गरिरहेका छन् । विश्वविद्यालयमा अराजकता भएको दाबी गर्ने नेविसंघ आफैंले अराजकता प्रदर्शन गर्दै मोसो दल्ने कार्य कुनै पनि हिसावले ठिक होइन । नेवि संघ कार्यकर्ताको यस किसिमको कार्यको सर्वत्र आलोचना पनि भइरहेको छ । उता भक्तपुर क्याम्पसमा नयाँ क्याम्पस प्रमुख नियुक्ति विवाद उत्कर्षमा पुग्दा विद्यार्थी आन्दोलनको नाममा उस्तै दुर्दशा देखियो । क्याम्पस प्रमुख बन्ने दौडमा रहेका प्राध्यापकहरु बिचको टकरावका साथै दलिय भागबण्डाका कारण त्यहाँ पनि नेवि संघ कार्यकर्ताले अराजकता प्रदर्शन गरे । २२ जेठमा नवनियुक्त क्याम्पस प्रमुख लुइँटेलको कुर्सी, नेमप्लेट लगेर नजिकैको रुखमा झुन्ड्याइदिए । वक्तव्य पनि टाँसिदिए, रुखमै । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखाशाखामा ताला लगाए । नेवि संघ संलग्नताको अहिलेको दुई ताजा घटना मात्र होइन, अरु विद्यार्थी संघ संगठनका बिभिन्न क्याम्पसका गतिविधि पनि उस्तै उदेकलाग्दो र अराजक छन् ।

त्रिवि या त्यस सम्बद्ध क्याम्पसहरु सही रुपमा चलिरहेका छन् ? त्यहाँ अध्यापनरत प्राध्यापकहरु सही छन् ? या सरकारले प्राज्ञिक महत्व राख्ने यस्ता निकायमा कति ध्यान र निगरानी राखेको छ ? निश्चय पनि यी र यस्ता प्रश्न र सवालहरु असरल्ल छन् । जसबारे जरुर छलफल, बहस गर्न अपरिहार्य छ । यसका अतिरिक्त अहिले विद्यार्थी आन्दोलनका नाममा संघ संगठनमा आवद्ध विद्यार्थीहरुले जे जस्ता हर्कत र अराजकता प्रदर्शन गरिरहेका छन् ? त्यसलाई कदापि आन्दोलनको नाम दिँदा समग्र विद्यार्थी आन्दोलन नै बदनाम हुन्छ । क्याम्पस प्रशासन, सरकार, सम्बन्धित निकायबाट गलत हुँदा बिरोध र आन्दोलन गर्न सकिन्छ । तर, त्यसको पनि सीमा र दायराहरु छन् । जसमा विद्यार्थी संगठन र नेताहरु चुकिरहेका छन् । आन्दोलन र विद्यार्थी संगठनका नाममा भएका अहिलेका क्रियाकलाप खेदपूर्ण छन् । विद्यार्थी र शैक्षिक सवाल बिर्सिरहेका विद्यार्थी संगठनहरु आफ्नो मुल एजेण्डा छोडेर यी र यस्तै अराजक गतिविधि गर्दै जाने हो भने विद्यार्थी आन्दोलन अझ दया लाग्दो अवस्थामा पुग्ने निश्चित छ । बेलैमा ध्यान पुग्न सकोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *