उज्यालोका लागि टुकीकै भर

आदर्श अनलाइन, बागलुङ
विद्युत तथा नविकरणीय उर्जाको पहुँच नपुगेका बागलुङका दुगर्म स्थानका केही घरहरुमा उज्यालोका लागि टुकीकै भर छ । सरकारले आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गर्ने लक्ष्य लिएपनि जिल्लाका कतिपय घरमा अझै उज्यालोका लागि टुकीको नै भर पर्नुपर्ने बाध्यता रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बागलुङमा २ सय १४ परिवार उज्यालोका लागि टुकीकै भर परेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ । जिल्लाको दुर्गम स्थानमा अझै केन्द्रिय विद्युत मात्रै हैन स्थानीय विद्युत समेत पुग्न नसक्दा उज्यालोको साहरा टुकी रहेको पाइएको छ । तथ्याङ्क कार्यालय बागलुङले हालै सार्वजनिक गरेको जिल्लाको तथ्याङ्क अनुसार उज्यालोका लागि टुकीको प्रयोग गर्ने २१४ परिवार रहेको तथ्याङ्क कार्यालय बागलुङका प्रमुख चन्द्र कान्त पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार जिल्लामा धमाधम विद्युतीकरण भएपनि अझै उज्यालोका लागि टुकीकै भर पर्ने परिवार समेत रहेको पाइएको छ । जनगणनाका क्रममा उज्यालोका लागि प्रयोग गर्ने इन्धनमा नखुलेका ४२३ परिवारहरुले समेत गुइठा सहित अन्य घरेलु इन्धनको प्रयोग गर्ने गरिएको पाइएको छ ।

“जिल्लामा चार सय २३ परिवार बिजुली, सोलार, बयोग्याँस र मट्टितेलको पहुँचभन्दा समेत टाढा छन्” सुवेदीले भन्नुभयो “उनिहरुले कुनै इन्धन नै प्रयोग नगरेको गणकहरुलाई बताएका छन्, उनिहरु स्थानीय इन्धनको प्रयोग गर्ने र अन्धकारमा बस्नेहरु हुनसक्नेछन् ।”

अहिलेको जनगणना अनुसार जिल्लाभर ६४ हजार ९६ परिवारको बासोबास छ । जसमध्ये ६२ हजार २ सय २८ परिवारमा बिजुलीको पहुँच छ भने एक हजार २ सय २० परिवारले सौर्य उर्जाको प्रयोग गर्दे आएका छन् । जिल्लाभर जम्मा ११ परिवार बायो ग्याँसको सहारामा उज्यालो उपभोग गरिरहेको तथ्यांक रहेको छ ।

जिल्लाको दुर्गम क्षेत्रमा अहिले पनि विद्युतको सर्वसुलभ पहुँच छैन् । स्थानीय खोलाको विद्युतले जिल्लाको पश्चिम भेग उज्यालो भएपनि विकट गाउँका टोलमा विद्युतको पहुँच पुग्न नसकेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलिप मरासीनीले बताउनुभयो ।

मरासीनीका अनुसार जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा विद्युतीकरण विस्तार गर्न थालिएको बताउनुभयो । उहाँले स्थानीय विद्युतको समेत पहँुँच नपुगेको गलकोटको रमुवा, निसीखोलाको निशेलढोर, बडिगाडको सिसाखानी र तमानखोलाको नर्जा र खुङ्खानीका केही पातलो बस्ती रहेको बताउनुभयो ।

विद्युत प्राधिकरणले जिल्लाका सबै स्थानमा विद्युत पु¥याउनका लागि काम गरिरहेको र जिल्लाका १० पालिका मध्ये निसीखोला र तमानखोलामा बल्ल केन्द्रिय प्रशासरण लाईन विस्तारको काम थालिएको मरासीनीको भनाई छ । यस्तै ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका केही वडामा केन्द्रिय विद्युत पुग्न सकेको छैन ।

स्थानीय खोलाबाट उत्पादन गरिएका लघुजलबिद्युत आयोजनाहरुबाट ती पालिकामा बिद्युतिकरण गरिएको भएपनि छरिएको बस्तीमा विद्युत पुग्न नसकेको विद्युत कार्यालयले जनाएको छ । सरकारले आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसंख्या विद्युतको पहुँच पु¥याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने आगमी वर्षको बजेट तथा कार्यक्रममा समेटेको भने छ ।

सरकारले आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४५० किलोवाट घण्टा पु¥याउने घोषणा गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *