श्रमदान संस्कृति ब्युँझाउने साम्पाङलाई स्यालुट

सम्पादकीय

यो देशमा तीन तहको सरकार छ । संघीय सरकार सहित ७ प्रदेश र ७ सय ५३ पालिका छन् । त्यही संख्याका आधारमा उल्लेख्य मात्रामा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद, जनप्रतिनिधि छन् । उनीहरु सबै जनअभिमतबाट जनताका माग, आवश्यकता सम्बोधन सहित मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्पका साथ निर्वाचित भएका हुन् । तर, निर्वाचित भएको वर्ष दिन बितिसक्दा अधिकांश जनप्रतिनिधि गुमनाम जस्ता छन् । आफ्नै जिम्मेवारी र भूमिकाले थिचिएका जस्ता छन् । विवादै विवाद, बिभिन्न काण्ड र बिरोधाभासबाट गुज्रिएका छन् । यी र यस्ता असंख्य पात्रका बिच दलिय व्यवस्थामा पनि स्वतन्त्र उम्मेदवारी दिएर चामत्कारिक जित हासिल गरेका केही पात्रले कार्यकालको पहिलो वर्षमै प्रशंसनीय कार्य गरेर देशव्यापी रुपमा वाहवाही कमाइरहेका छन् ।

यतिबेला धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको चर्चा चुलिएको छ । विगतमा भूइँमान्छेकै रुपमा आन्दोलनबाट उठेका हर्क मेयर निर्वाचित भए पश्चात पनि सादा जीवन र जीवनशैलीमै छन् । मेयर निर्वाचित भए पछि उनले थालेको श्रमदान संस्कृतिको अभियानले छोटो समयमै धरानवासीको उल्लेख्य साथमा सार्थक परिणाम समेत पाएको छ । चुनावको बेला खानेपानी दिलाउने एकसूत्रीय घोषणा वाचा जस्तो गरेका हर्कराजले निरन्तर आफै मैदानमा उत्रिएर पाइप काँधमा हाले, ढुंगा बोके, त्यसमा नागरिकको अपार साथ समर्थन प्राप्त गरे । यसकै फलस्वरुप ९९ दिनमा ४० किलोमिटर टाढाको दूरीबाट धरानमा पानी ल्याउन सफल भए । र उनले प्राथमिकताका साथ आफ्नो कबोल गरेको वाचा पूरा गरे । अब प्रक्रिया पु¥याएर घरघरमा पानी वितरण हुनेछ । यसबिचमा उनले अनेकन मुद्धा मामिला, आरोप, लाञ्छना पनि उत्तिकै सामना गरे । जसलाई अहिलेको सफलताले ओझेलमा पारिदियो ।

पछिल्लो समय नेपालमा श्रमदान संस्कृति हराउँदो छ । युवाहरुको विदेश पलायनको श्रृंखला उच्च छ । पुरानो एकआपसमा सहयोग गर्ने, सामूहिक रुपमा झर्राली लगायतको कार्य गर्ने श्रम संस्कृतिमा आधारित प्रचलन लोपोन्मुख प्रायः अवस्थामा छ । यसबेला धरानबाट मेयर हर्कराज साम्पाङले देशव्यापी रुपमा सुखद सन्देश प्रवाह गरेका छन् । भलै उनले निर्वाचित भएको एक वर्षमै खानेपानीको प्रबन्धका लागि दिलोज्यान दिएर पानी ल्याए पनि त्यो प्राप्त भने छैन । तर, यति भन्दै गर्दा उनले निर्वाचित भएको एक वर्षमै खानेपानीको प्रबन्धका लागि दिलोज्यान दिएर पानी ल्याए पनि त्यो प्राप्त भने छैन । अरु स्थानीय तहमा योजना, आयोजना सञ्चालनका लागि मन्त्री, मेयर, उपमेयर, प्रमुख उपप्रमुख, करोडौं बजेट चलखेल, कमिसनमा मुछिरहेका बेला बिना पैसा नागरिकको श्रमदानमा यति बृहत आयोजना सम्पन्न गर्नु भनेको कुनै चान्यचुन्य कुरा होइन । यो नेपाली इतिहासमा श्रमदान संस्कृतिको पुनः उभार ल्याउने एक महत्वपूर्ण कोशे ढुंगाको रुपमा स्मरणीय रहनेछ । यसले नयाँ पुस्तालाई श्रमसँग कसरी जोड्ने भन्ने एक प्रेरक पाठ पनि सिकाउन उल्लेख्य भूमिका खेलेको छ । यसका लागि मेयर साम्पाङ धन्यवादको पात्र छन् । मेयर हुँदा साथ तडकभडकको जीवन देखिने जनप्रतिनिधिका बिच साधारण जीवनशैलीमा उनको कार्यशैली, जनता र देश प्रतिको समर्पण र दृढता प्रशंसनीय छ । यो निरन्तर रहिरहोस् । कार्यकाल पूर्ण हुँदाका बखत उनलाई देशकै एक रोलमोडेल धरान र मेयरको रुपमा देख्न पाइयोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *