सम्पादकीय
यतिबेला बर्खायाम सुरु भएको छ । देशका बिभिन्न स्थानमा दैनिक भारी वर्षा भइरहेको छ । जसका कारण पहाडी क्षेत्रमा बाढी पहिरो र तराई क्षेत्रमा डुबानले आक्रान्त बनाउन थालेको छ । शनिवार राति मात्रै बाढी पहिरोले दर्जनौले ज्यान गुमाउन बिबश भएका छन् । संखुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको छ । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पु¥याएको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुर सम्पर्कविहीन छन् । काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएका छन् । अरु कैयन जिल्लामा भारी वर्षा पश्चात आएको बाढी पहिरोले कैयनले ज्यान गुमाएका छन् भने कयौं संख्यामा बिस्थापित भएका छन् ।
नेपालमा हरेक वर्ष वर्षासँगै आउने बाढी पहिरो र विपतबाट हजारौंको संख्यामा मृत्यु हुन्छ । यसमा एक त नेपालको भौगोलिक बनावट नै कमजोर छ । पहाडी भुभागहरु भुकम्प, पराकम्पहरुबाट थर्किएको, चर्किएका अवस्थामा छन् । ती पहाडी थुम्काहरु भारी वर्षा हुन साथ जलमग्न हुने भएकाले जुनसुकै बेलामा भयावह रुप लिन सक्ने खतरामा छन् । अर्को तर्फ बिपतको सम्भावित भवितव्यमा नेपालले सरकारी स्तर र नागरिक स्वयंम्ले गर्ने पूर्ववत तयारीमा यथेष्ट ध्यान र गम्भिरता देखाउन सकिरहेको छैन । हरेक वर्ष ठुलो संख्यामा जनधनको क्षति भइरहन्छ र पनि सरकारले बाढी, पहिरो विपतबाट जोखिम र क्षति सक्दो कम गर्नमा किन ठोस कार्यक्रम र योजना ल्याउदैन ? विपत आइसके पछि, मानिसहरुले अकालमै ज्यान गुमाइसके पछि शोक, समवेदना व्यक्त गर्ने भूमिकामा मात्र किन सीमित गर्छ ? यो निकै संवेदनशील सवाल हो ।
असार लाग्दा नलाग्दै वर्षासँगै विपत सुरु हुने निश्चित छ । जहाँ वर्षेनी सयौं नागरिक अकालमै मर्नुपर्छ, त्यो बारे पनि सरकार र सरोकारवाला बेबखर छैनन् । र पनि विपत आउने सम्भावित स्थानको पहिचान, पूर्ववत तयारी, सचेतनाका योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानीय तिनै तहको सरकार चुकिरहेको छ । अहिले त भर्खत भारी वर्षा, बाढी पहिरो र विपत सुरु भएको मात्र छ । अझ ठुलो वर्षा र विपतको जोखिम सन्निकट छ । जसमा भवितव्यमा हुने घटनाहरु बाहेक पूर्ववत तयारी, सचेतताबाट ठुलो जनधनको क्षति रोक्न सम्भव छ । यसमा विशेषतः स्थानीय सरकार, सरोकारवालाले विशेष पहल र भूमिका खेल्नुपर्छ । यसका अतिरिक्त हरेक नागरिकले समेत मौसम, सम्भावित विपतहरुको बारे सोधखोज र अध्ययन गरेर सुरक्षित स्थानमा बस्ने त भूमिका निभाउनु पर्छ । यस्तो बेला साना कमजोरी र लापरबाहीले पनि ठुलो जनधनको क्षति हुन सक्छ भने सानो सूचना, तयारी, समन्वयले ठुला क्षति रोक्न सकिन्छ । यसतर्फ सरकार र सरोकारवाला सबैको समयमै ध्यान पुगोस् ।