पत्रकार महासंघ विवाद, संवाद र समाधान

सम्पादकीय
पत्रकार महासंघ पत्रकाहरुको साझा र छाता संस्था हो । र त यस संस्थामा १२ हजार बढी पत्रकार आवद्ध छन् । विभिन्न राजनीतिक दल सम्वद्ध भिन्न भिन्न पत्रकार संघ संगठन भए पनि पत्रकार महासंघमा सबै आस्था र विचार राख्ने अटाउँछन् । यो नै पत्रकार महासंघको सबै भन्दा सुन्दर पक्ष र विशेषता हो । उसो त पत्रकार महासंघले पत्रकारिता, पत्रकार हकहितका सवालमा भूमिका खेलिरहेको छ नै, त्यसका अतिरिक्त विभिन्न समय कालक्रममा भएका ऐतिहासिक आन्दोलन, अभियानहरुमा समेत नागरिक समाजका तर्फबाट उल्लेख्य भूमिका खेल्दै आएको छ । जसका कारण पत्रकार महासंघलाई देशभरमा एक मर्यादित र गरिमामय संस्थाको रुपमा लिइन्छ । यद्यपी, पछिल्लो समय भने पत्रकारहरु बीचका अस्वस्थ, आन्तरिक टकराव, राजनीतिक प्रतिशोध लगायतका कारण पत्रकार महासंघ विवादित मात्र होइन, कार्यालय तालाबन्दी गर्ने कार्यले सिंगो पत्रकारिता, पत्रकार महासंघ र प्रेस युनिनय स्वयंम्को समेत कद घटाएको छ ।

अहिले नेपाल पत्रकार महासंघ बागलुङ शाखा जबरजस्त विवादको चंगुलमा फसेको छ । शाखा कार्यालयमा नेपाल प्रेस युनियन बागलुङले तालाबन्दी गरेको छ । युनियनबाट महासंघ शाखा अध्यक्ष बनेका नरेश कंडेलले कार्यवाहक अध्यक्ष दिएका नवीन शिशिर विक अध्ययन र रोजगारीका लागि विदेश गएको सन्दर्भमा केन्द्रीय समितिले अर्का उपाध्यक्ष सरिता खत्रीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनु विधि सम्मत नभएको जिकिर छ । जबकी शाखा अध्यक्ष रहेका कंडेल उद्योग वाणिज्य संघको अध्यक्षसमेत भएकाले पत्रकार महासंघको दैनिक क्रियाकलाप सञ्चालनमा असहजता आएपछि शाखाकै पत्राचारमा केन्द्रले खत्रीलाई कावाको जिम्मेवारी दिएको हो । अहिले यही विषयले जिल्लाको पत्रकार महासंघ अनिर्णयको बन्दी बनिरहेको छ । यस्तो दु:खद परिस्थिति निर्माण हुनुमा केही पात्र र प्रवृत्ति जिम्मेवार छ । मुख्यतः वर्तमान अध्यक्ष कंडेल अधिवेशनबाट तीन वर्षका लागि सर्वसम्मत चयन भएपछि त्यस अनुसारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपथ्र्यो । उक्त जिम्मेवारी बिर्सेर केही महिनामै उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित भएपछि पत्रकारको पेशागत संगठन केही हदसम्म विवाद र प्रश्नको घेरामा प¥यो । अहिले कार्यवाहक अध्यक्ष केन्द्रले उपाध्यक्षलाई तोकेपछि अध्यक्ष सम्बद्ध प्रेस युनियन विरोधमा मात्रै होइन, तालाबन्दीमै उत्रिएको छ ।

देशभरका शाखाहरु सदस्यता शुद्धिकरणको अभियानमा लागिरहेका बेला सदस्यता शुद्धिकरण, पत्रकारको पेशागत सुरक्षा, नागरिकका आवाजलाई अझ टड्कारो रुपमा मुखरित गर्नुपर्ने बेला पत्रकारहरु आफै आफै भिड्ने अवस्था पैदा गरिनु बिडम्बना हो । यही विषयलाई लिएर आफूलाई लोकतन्त्रवादी पत्रकारको संगठन दावी गर्ने प्रेस युनियन बागलुङ तालाबन्दी जस्तो कार्यमा उत्रिनु गैरजिम्मेवारी र दुःखद कुरा हो । पत्रकार महासंघ बागलुङको इतिहासमा प्रेस युनियनकै नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्दा गरिएको गतिशील महासंघको अपेक्षामा तुषरापात गरिएको छ । जसको निर्मम समिक्षा नगरी युनियन स्वयंम्ले महासंघ कार्यालयमा तालाबन्दीमा गर्ने कार्य कुनै पनि हिसाबले तर्कसंगत देखिन्न । जिल्लादेखि प्रदेश र केन्द्रको पत्रकार महासंघमा समेत युनियनकै नेतृत्व भएकाले अझ बढी विवादको समाधान र निकास खोज्ने जिम्मेवारी र नैतिकता युनियनकै हुन्छ । कुनै एक सवाललाई लिएर पत्रकार महासंघ जस्तो साझा संस्थाको मर्यादा र गरिमा माथि कसैले पनि खेलवाड गर्नु हुँदैन । सौहार्द छलफल, वार्ता र सहमतिबाटै समाधान खोज्ने कार्य सिंगो पत्रकारिता र समग्र पत्रकारको हितमा हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *