संसदमै अनुत्तरदायी सांसद

सम्पादकीय
संसद देशका लागि अत्यावश्यक विधेयक बनाउने, जनताका समस्या र आवाज मुखरित गर्ने, सरकारलाई त्यस प्रति जनउत्तरदायी बनाउने सार्वभौम थलो हो । यसकारण मुलुकको सही नीति निर्माणमा संसद निर्णायक हुन्छ । यसमा जनताबाट निर्वाचित भएर संसदमा पुग्ने सांसदहरुको भूमिकाले देशमा कस्ता नीति, नियम, ऐन कानुन छन्, ती कति कामयावी छन्, थप के कस्ता कानुनहरु निर्माण गरिनुपर्छ ? त्यसमा सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ, हुनुपर्छ । तर, नेपालको संघीय संसद र प्रदेश संसदमा सांसदहरुको भूमिका माथि प्रश्न उठ्दै आएको छ । संसदमा जनताका आवाज भन्दा आफ्नै कुण्ठाहरु व्यक्त गरेर संसदकै गरिमा र मर्यादा माथि प्रश्न उठ्ने वातावरण बनाइरहेका छन् । यसले संसद र सांसद प्रति नागरिकको भरोसा कमजोर बन्दै गइरहेको छ भने राजनीति प्रतिको बितृष्णा अनुपात पनि क्रमशः बढ्दो क्रममा देखिन थालेको छ ।

पछिल्लो संसदमा पनि अनेकन बेथिति र संसदीय मर्यादा विपरितका गतिविधि तिब्र देखिन थालेका छन् । आफैँले बनाएको नियमावलीको व्यवस्था उल्लंघन गर्दै प्रतिनिधिसभाका सदस्यहरू संसद्मा अनुपस्थित हुने गरेका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको पहिलो अधिवेशनमा दुई सय पाँच जना सांसद विभिन्न बैठकमा सूचना नै नदिई अनुपस्थित भएका छन् । जबकि प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । पूर्वसूचना दिन नसके उपस्थित भएको तीन दिनभित्र कारण खुलाएर सभामुखलाई जानकारी दिनुपर्छ । अहिले पूर्व सूचना त परको कुरा, तीन दिनभित्र जानकारी नदिने सांसदहरूको संख्या पनि ठूलो छ ।

यसले स्वयंम् सांसदहरु संसद र जनता प्रति कति उत्तरदायी, जवाफदेही र जिम्मेवार छन् ? प्रष्ट देखिएको छ । यसमा पुराना दलका पुराना नेताहरुको प्रवृत्तिमा त सुधार भएन नै, अहिले नयाँ शक्ति र नेताको रुपमा उदाएका नयाँ अनुहार पनि संसद भित्रको ऐन–नियम पालना गरेर सार्थक बहसमा सहभागी हुने, संसद प्रति जवाफदेही बन्न सकिरहेका छैनन् । २५ पुसदेखि १५ वैशाखसम्म चलेको प्रतिनिधिसभाको पहिलो अधिवेशनमा हाजिर गरेर टाप कस्ने र कोरम नपुगेर बैठक स्थगित हुने समस्या पटक–पटक देखिनु संसदकै बिडम्बना हो । लगातार १० वटा बैठकमा सूचना नदिई अनुपस्थित भएमा स्वतः पद रिक्त हुने बाध्यात्मक व्यवस्था छ । यसलाई छल्न सांसदहरूले ढिलो गरेर सूचना दिने गरेका छन् । यसरी सांसदहरुले नियमावलीको बुँदा त छलिरहेका छन्, भोलि पनि छल्न सक्छन्, तर जनताले गैरजिम्मेवार गतिविधि नजिकबाट नियालिरहेको सांसदहरुले हेक्का राख्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *