सडक अलपत्र छोडेर निर्माण व्यवसायी सम्पर्क बिहिन


आदर्श अनलाइन, बागलुङ

सम्झौता मिति सकिदा सम्म सकड कालोपत्रे नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्दको स्थानीयले माग गरेका छन् ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने एक्लेखेत देखि काफलबोट जाने सडक निर्माणको जिम्मा पाएको निर्माण केम्पनी पटक–पटक सडक अलपत्र छोडेरसम्पर्क बिहिन भएको छ ।

स्थानीयले ठेक्का रद्दको माग सहित रेशका वडा अध्यक्ष प्रेम लामिछाने, वडा सदस्य तथा स्थानीयहरुले काठेखोला गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।

रेश जाने चार किलोमिटर सडक कालोपत्रेको जिम्मा पाएको निर्माण व्यवसायीले सडक अलपत्र छोडेपछि स्थानीय तथा जनप्रतिनिधिहरुलेनै गाउँपालिका समक्ष ठेक्का रद्दको माग गरेका हुन् ।

२०७७ सालमा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दा समेत कालोपत्रेका लागि कुनैपनि काम गर्न नसकेको स्थानीय गोबिन्द बहादुर कार्कीले बताउनुभयो ।

उहाँले निर्माण व्यवसायी तुरुन्तै सम्पर्कमा नआए चरणबद्ध आन्दोलनको तयारी गर्ने बताउनुभयो ।

“गाउँपालिकालाई ठेक्का रद्द गर्न माग गरेका छौं, गाउँपालिकाले सुनुवाई गरेको छैन, यस्तो वेतिथि गर्ने ठेकेदारको सम्झौता रद्द गरेर नयाँ सम्झौता गर्न आवश्यक छ” कार्कीले भन्नुभयो “म्याद सकिएर पुन थप भएको म्याद सकिदा सम्म सडक कालोपत्रे नगर्ने ठेकेदारलाई गाउँपालिकाले कार्वाही नगरे स्थानीयहरुले आन्दोलन गर्न बाध्य हुनेछौ ।” यसअघि निर्माणव्यवसायी हराएको सूचना टाँस गरेर रेशका स्थानीयहरुले आन्दोलन गरेका थिए ।
निर्माण कम्पनीले म्याद थप गर्नुअघि काममा फर्केपनि एक सय मिटर सडक ढलान गरेर सम्पर्क बिहिन भएको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

“गाउँपालिकाले निर्माण व्यवसायीलाइ म्याद थप्दा समेत काम भएको छैन, थपिएको म्याद समेत असार मसान्त मात्रै हो, निर्माण व्यवसायीको चरम लापरर्वाहीका कारण रेशका जनताले सास्ती खेप्नु परेको छ” वडा अध्यक्ष प्रेम लामिछानेले भन्नुभयो “म सहित स्थानीयहरुले गाउँपालिकामा ठेक्का रद्दको माग गरेका छौं, गाउँपालिकाले सुनुवाई गरेको छैन, काठेखोला गाउँपालिकाको मुख्य योजनाको रुपमा रहेको उक्त सडक कालोपत्रे भएमा गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने पहिलो कालापत्रे सडक हुनेछ ।”

उक्त सडकमा निर्माण व्यवसायीले काम नगर्दा यात्रुलाई सास्ती भएको मात्रै छैन ढलान गर्न ढुङ्गामा विच्छइएको रडले दुर्घटनाको जोखिम समेत निम्ताएको छ ।

संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्रे गर्न रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु. ६ करोड ७१ लाखमा सम्झौता भएको थियो ।

दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी÷निशान÷आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्त सम्म म्याद थप गरेको थियो ।

ठेक्का सम्झौता पश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम मात्रै सकेर निर्माण व्यवसायी पटक–पटक सम्पर्क बिहिन भएको हो ।
निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष राजु थापाले असार मसान्त सम्म सम्झौता रहेको र सम्झौता अगावै ठेक्का रद्द गर्न नसक्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीले तत्कालै काम गर्छु भनेको बताउदै म्याद सकिदा सम्म काम नभए ठेक्का रद्दको प्रकृयामा जाने बताउनुभयो ।

सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ । काम नगर्ने निर्माण व्यवसायीलाई गाउँपालिकाले म्याद थपेको भन्दै गाउँपालिका निर्माण कम्पनीको पक्षमा उभिएको स्थानीयहरुको आरोप छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *