अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बजेट पारित


अमृत बास्कुने, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोड बढीको बजेट पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले ५३ करोड ५४ लाख ४३ हजार छ सय रुपैंयाँको बजेट सार्वजनिक गर्नुभएको थियो । उपाध्यक्षले सार्वजनिक गरेको बजेट सभाले छलफल पछि पारित गरेको हो । बजेटमा चालुतर्फ ३५ करोड ५१ लाख ५९ हजार छ सय र पुँजिगत तर्फ १८ करोड दुई लाख ८४ हजार रुपैंयाँ बजेट बिनियोजन भएको उपाध्यक्ष तिलिजाले जानकारी दिनुभयो ।

एक करोड ४७ लाख १० हजार आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ । गाउँपालिकाले यस वर्ष छ करोड २५ लाख ६ हजार बजेट खर्च हुन नसक्ने भएकोले त्यसलाई आगामी वर्षको बजेटमा थपेर समावेस गरेको छ भने संघीय र प्रदेश सरकारले दिने अनुदानलाई बजेटको प्रमुख स्रोत मानेको छ ।

चालु आ.व.मा ४८ करोड ६१ लाख ४२ हजार पाँच सय ७९ रुपैंयाँ बजेट बिनियोजन गरेको अन्नपूर्णले जेठ मसान्त ५३ दशमलब ८८ प्रतिशत बजेट खर्च गरेको छ । आगामी आर्थिक वर्षका लागि सामाजिक विकास शिर्षकमा २१ करोड १९ लाख ४१ हजार पाँच सय रुपैयाँ बिनियोजन गरेको छ । शिक्षामा सिकाई कुना निर्माण गर्न, हाम्रो विद्यालय राम्रो विद्यालय, अध्यक्षसँग विद्यार्थी भेटघाट जस्ता प्रत्यक्ष सरोकारवाला कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नागरिकको मौलिक हकलाइ मध्येनजर गर्दै स्वास्थ्यतर्फ गर्भवतीलाई अण्डा, सुत्केरीलाई भाले र घ्यू तथा बच्चालाई कपडा, पोषण पोका वितरण कार्यक्रमलाई आमासँग जनप्रतिनिधि कार्यक्रमको रुपमा अगाडी सारेको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा एक करोड ४३ लाख ५० हजार बिनियोजन गरेको छ । गाउँपालिका भित्रका सुनौलो हजार दिनका आमाहरुको पोषण सुधारका लागि १० लाख रुपैंयाँ बिनियोजन गरेको छ ।

युवा लक्षित कार्यक्रमका लागि ५८ लाख ५० हजार, लैगिङ्गक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा ८३ लाख २० हजार, एक वडा एक गौरवको आयोजनाका रुपमा सडक स्तरोन्नति गर्ने कार्यक्रम पनि गाउँपालिकाले बनाएको छ । यातायात पूर्वाधार निर्माण गर्न चार करोड ६४ लाख ५६ हजार बिनियोजन गरेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद गर्न दुई करोड बिनियोजन गरेको छ ।

एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण गर्न ४४ लाख पाँच हजार र गोर्खा वेल्फेयरसँगको साझेदारीमा निर्माण हुने खानेपानी आयोजनाहरुका लागि थप एक करोड ७२ लाख ९३ हजार पाँच सय ९४ बिनियोजन भएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न ३१ लाख, गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमलाई २३ लाख २० हजार, कामको लागि पारिश्रमिक र युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना अन्तर्गत प्राप्त ५६ लाख ८५ हजार रकमले बेरोजगार युवालाई सय दिन रोगजार प्राप्त गर्ने वातावरण मिलाउन बिनियोजन भएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, उपाध्यक्षले प्रस्तुत गरेको बजेटमाथी गाउँसभा सदस्यहरुबीच छलफल पछि पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *