आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यवसायिक कृषि गर्दै आएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।
गाउँपालिकाले हाते ट्याक्टरका साथै सुन्तला खेती गर्ने कृषकहरुलाई सुन्तला टिप्नका लागि प्रयोग गर्ने भ¥याङ लगायतका कृषि औजारसमेत वितरण गरेको छ । किसानलाई आधुनिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार अनुदानमा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
अगुवा कृषक र कृषक समुहलाई गरि १६ वटा मिनिटेलर हलो, १० वटा तौल मेशिन, नौ वटा सुन्तला टिप्ने भ¥याङ, २३ वटा सिकेटर र २० वटा आरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको अन्नपुर्ण गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्तबहादुर शाहीले बताउनुभयो ।
चालु आर्थिक वर्षको ११ लाख ९८ हजार पाँच सय रुपैयाँ बजेटमार्फत कृषकको मागका आधारमा छिटो छरितो र सहज रुपमा काम गर्ने प्रविधिहरु खरिद गरेर कृषकलाई वितरण गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी र कृषि शाखा प्रमुख शाहीले कृषकलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
अध्यक्ष पुनले कृषि खेती गर्ने परम्परागत प्रणालीलाई सुधार गर्दै आधुनिकीकरण तर्फ लैजाँदै कृषकको उत्पादन वृद्धि गराउनका लागि कृषि औजार वितरण गरिएको बताउनुभयो । असली किसानहरुलाई सहयोग, प्रोत्साहन र सम्मान गर्न पालिकाले सधै तत्परता देखाउने अध्यक्ष पुनको भनाई थियो ।
कृषितर्फ पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी आर्थिक बर्षमा कृषिलाई प्राथमिकता दिएर करिब एक करोड बजेट विनियोजन गरेको अध्यक्ष पुनले बताउनुभयो ।