सम्पादकीय
जनप्रतिनिधि जनताबाट निर्वाचित पात्र हुन् । निर्वाचित भएकाले जनताप्रति थप उत्तरदायी र प्रतिवद्ध हुन जरुर हुन्छ नै । नागरिकबाट पनि आँफुले मतदान गरेको जनप्रतिनिधि प्रतिको आशा अपेक्षा पनि त्यही किसिमको हुनु स्वभाविक नै हो । तर, जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो सर्वत्र छ । यसो हुनुमा लामो समयको जनप्रतिनिधिविहिनताको अवस्थाको रिक्तताले पनि काम गरेको हुन सक्छ । करिब दुई दशक सुस्त, बेवारिसे र गतिहिन रहेको विकास जनप्रतिनिधिको आगमन पछि उल्लेख्य रुपमा अघि बढ्छ भन्नेमा ठुलो आशा, भरोसा थियो । यो आशा भरोसा विगतको तुलनामा केहि न केहि, कुनै न कुनै रुपमा पुरा भएका छन् र काम भएका छन् । तर, अपेक्षाकृत हुन नसकेको यथार्थता हामीसँग छ । यही अनुक्रममा काम भन्दा बढी बदनामका घटनाको परिदृश्य बढ्दो छ ।
शनिवार बागलुङको जैमिनी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनोट खेलमा मेयर इन्द्रराज पौडेलले टि–टेबल माथी उभिएर सलामी ग्रहण गरेको तस्बिर भाइरल भयो । टेबुल र पिर्कामा उभिएर यसरी सलामी ग्रहण गर्दा धेरै मन्त्री, मेयर र अध्यक्ष भाइरल बनेर सर्वत्र आलोचित भइसकेका छन् । उता, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यकक्षमा रक्सीको बोतल सहित देखिएको तस्विरका कारण भाइरल र आलोचित बनिरहेका छन् । यद्यपी, त्यो कार्यकक्ष नभनई आफ्नै निवासमा बिदेशबाट आफन्त आएका सन्दर्भको बसाई भएको निजी सचिवालयले जनाएको छ । जैमिनीका मेयर पौडेल सस्तो चर्चा र लोकप्रियताका पछाडी लाग्ने पात्र होइनन् । किनकी यो उनको विगतहरुको व्यवहार र अभ्यासहरुबाट पुष्टि हुन्छ । यस्ता घटनामा आयोजकको तयारी, आग्रह र अञ्जानको अज्ञानताले जनप्रतिनिधि बढी शिकार बनिरहेका छन् । यहाँ भएको पनि यही कारण प्रष्ट छ । तर, जनभावना अनुसार पुराना सुधारिनु पर्ने स्वागत, सत्कार र सँस्कारका बिषयमा आयोजकले जे भन्छन् या गर्छन्, त्यही स्वीकार गर्ने प्रवृत्ति भने अब त्याग्नुपर्छ । टेबलमै चढेर सलामी ग्रहण गर्ने यस्तो परिपाटी पुरानो सामन्ती राज्य व्यवस्थामा भएको र अहिलेका जनप्रतिनिधिले सोही प्रवृत्तिलाई आत्मसाथ गरेको भन्दै सर्वत्र आलोचना हुने गरेको छ । पछिल्लो जैमिनी सलामी प्रकरणमा आयोजक र रेफ्रिको बिशेष आग्रह स्वीकार गर्दा यस्तो परिस्थिति सिर्जना भएको मेयर स्वयम्ले स्वीकार सहित सामाजिक सञ्जाल मार्फत कमजोरी भएको र यो नदोहो¥याउने कबुल गरेका छन् । यो सकरात्मक बिषय हो ।
अहिलेको नेपाली समाजमा नकरात्मकता हावी छ । केही साना सामान्य लाग्ने बिषय पनि तिव्र प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगले एकैछिनमा भाइरल बन्छ । यस कारण समाज संवेदनशिल बनेको छ । हामीले गर्ने हर साना साना काममा पनि मानिसहरुको नजर र निगरानी छ भन्ने हेक्का राखेर काम गर्नुपर्ने अवस्था छ । अर्को पाटो देशमा व्यवस्था परिवर्तन भएको छ । व्यवस्था परिवर्तनसँगै नागरिकहरुको पुराना व्यवस्थाका खराब अभ्यास, प्रवृत्तिहरु पनि अन्त्य होस् भन्ने चाहना र अपेक्षा छ । यो पाटोमा हाम्रा मन्त्री, सांसद, जनप्रतिनिधिहरु सचेत र संवेदनशिल नभएको चाही सत्य हो । अनुहारनै पुरै छोपिने गरि लगाउने माला मोह होस् या पिर्का र टेबुल माथि बसेर ग्रहण गरिने सलामी होस् । यो व्यक्ति प्रतिको आग्रह पूर्वाग्रह होइन, प्रवृत्तिगत रुपमा पनि राम्रो होइन । यसमा एउटा कुरा चाही बुझ्नुपर्छ कि खेल क्षेत्रमा स्वागत, सत्कारको आफ्नै खालको तौरतरिका र मर्यादा हुन्छ । तर अहिलेको परिवर्तित अवस्थामा यो हद सम्म गर्नुहुँदैन भन्ने पछिल्लो घटनाले प्रष्टाएको छ ।