कुकुरलाई होस्टेल, बाँदरलाई बगैचा

आदर्श अनलाइन, बागलुङ
बागलुङका दुई स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएक ाछन् । जिल्लाको दुईपालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेट ल्याएका हुन् ।

जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने भएको छ भने जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि जंगलमै बाँदर बगैचा बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको हो । जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखिने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि कुकुर होस्टेल स्थापनाका लागि रु. १५ लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका भित्र छाडा कुकुरका कारण दुर्घटना बढेको तथा छाडा कुकुरले टोकेका घटना बढ्दै गएका कारण छाडा कुकुरलाई नियन्त्रण गर्न कुकुर होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेलाई दिने बागलुङ नगरले नीति लिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

“छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पुश कार्यालयको समन्वयमा बन्ध्याकरण समेत गरेका छौ, रेबिज बिरुद्धको खोप लगाएका छौं, छाडा कुकुरलाई शुन्यमा झार्नका लागि कुकुर होस्टेल बनाउने नगरपालिकाको नीति हो, आगमी आर्थिक वर्षमा पहिलो चरणको काम हुन्छ” खड्काले भन्नुभयो “छाडा कुकुर नियन्त्रण गरेर होस्टेलमा राख्दा बजारमा छाडा कुकुरका कारण निम्तने दुर्घटना र रेबिज रोगको संक्रमण घटेर जानेछ, होस्टेलमा राखिएका कुकुरलाई स्थानीयले पाल्नका लागि समेत लैजान सक्नेछन् ।”

नगरपालिकाले कुकुरका लागि छुट्टै निर्देशिकानै बनाइसकेको छ । घरपालुवा कुकुर नगरपालिकामा दर्ता गर्ने, नविकरण गर्ने, अनिवार्य रेबिज विरुद्धको खोप लगाउने कार्यलाई पशु सेवा शाखाबाट काम गर्ने नीति लिइएको छ । नगरपालिकाले छाडा कुकुरलाई मार्न नपाइने भएकाले उत्पादन घटाउन बन्ध्याकरण गर्ने र कुकुरलाई पालन पोषण गरेर कुकुर होस्टेलमा राख्ने भएको हो ।

जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि नगरपालिकाले कुकुर होस्टेलको अवधारण लिएको हो । जिल्ला सदरमुकाममा अहिले छाडा कुकुरको तथ्याङक संकलनको कार्य पशु शाखा मार्फत चलिरहेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरप्रमुख श्रेष्ठले सबै छाडा कुकुरलाई जम्मा गरेर पालन पोषण नगरपालिकाले गर्ने र स्थानीयले कुकुर लगेर पाल्न चाहेमा दिनेगरी योजना बनाएको बताउनुभयो ।

यस्तै बागलुङको जैमिनी नगरपालिकाले बाँदरलाई जंगलमै भुलाउने कार्यक्रम ल्याएको छ । नगरपालिकामा जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढी बाँदरको समस्या रहेको छ । जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएका कारण नगरपालिकाले नगरपालिकाको वडा नम्बर ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैचा निर्माण गर्नेगरप् नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ ।

नगरपालिकाले बाँदर बगैचा निर्माणका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न रु. १० लाख र गण्डकी प्रदेश सरकारबाट रु. १५ लाख गरी रु. २५ बजेट बिनियोजन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

“जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएको छ, बसाईसराइका कारण बाँदरको समस्या जटिल बन्नु स्वभाविक छ, बाँदरलाई जंगलमै भुलाउनका लागि छिस्तीको पुरानो गाउँमा बाँदर बगैचा निर्माण गर्ने र बाँदरलाई बगैचामै भुलाउने नगरपालिकाको योजना छ” नगर उपप्रमुख शर्माले भन्नुभयो “पहिलो चरणमा आगमी आर्थिक वर्ष २०८०÷८१ मा रु.२५ लाख बजेटबाट पूर्वाधार निर्माणको शुरुवात गरिन्छ, बाँदर बगैचामा जैमिनी भित्रका बाँदरलाई त्यहाँ लगेर पालिन्छ, बगैचामा बाँदरलाई मन पर्ने फलफूल लगाइन्छ भने बाँदरलाई बगैचा भित्रै राख्न पूर्वाधार निर्माण गरिन्छ ।”

शर्माले जैमिनीमा निर्माण गर्ने भनिएको बाँदर बगैचा नेपालमै पहिलो भएको दाबी गर्नुभयो । पुरानो गाउँमा रहेको ४ हजार २०० रोपनी समथर भाग बाँदर बगैचा निर्माणका लागि उपयुक्त हुनेछ । बाँदर र अन्य बन्यजन्तुका लागि प्राकृति बासस्थानका रुपमा समेत पुरानो गाउँलाई छनोट गरिएको हो । बाँदर बगैचालाई वन्यजन्तु पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्न सकिने नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *