वर्षेनी दोहोरिने सडक सास्ती र समाधान

सम्पादकीय
हरेक वर्ष जब बर्खायाम आउँछ, तब नेपाल र नेपालीको सास्ती र सकको नियति वर्षेनी दोहोरिरहन्छ । भारी वर्षा, त्यही वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्र डुबानको समस्याले आक्रान्त बन्छ । कैयनले अकालमै ज्यान गुमाउन बाध्य हुन्छन्, सैयन घाइते, अंगभंग हुन्छन् त हजारौ मानिसहरु विस्थापित जीवन व्यतित गर्न बिबश हुन्छन् । बर्खाको बेला नेपालका बिभिन्न भुभागमा लामो तथा छोटो दुरीको यात्रा उस्तै सकस र सास्तीपूर्ण हुन्छ । कैयन यस्ता सडक मार्गहरु छन्, जहाँ वर्षेनी पहिरो खस्छ र पनि त्यसको चुस्त समाधान र व्यवस्थापन आजको दिन सम्म हुन सकेको छैन । यही नै नेपाल र नेपालीको दुर्भाग्य हो ।

पछिल्लो एक साता याता सबै भन्दा धेरै अवरुद्ध भएको सडक हो नारायणगढ–मुग्लिन सडक । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेर सडक अवरुद्ध हुँदा यो बाटो भएर आवत जावत गर्ने यात्रुहरु मात्र समस्या बेहोरिरहेका छैनन्, अन्य सडक मार्गबाट काठमाडौं भित्रिने र काठमाडौंबाट मुग्लिन हुँदै अन्यत्र जानेहरुले समेत सकस खेपिरहेका छन् । यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । लामो समय पश्चात पहिरो पन्छाउने कार्य भए पनि पहिरो खस्ने क्रम जारी रहेकाले कतिबेला अवरुद्ध हुन्छ ? केही भन्न सक्ने अवस्था छैन । जसका कारण निश्चित समय सीमा लिएर गन्तव्य तर्फ हिँडेका यात्रुहरु बढी समस्या र चिन्तामा छन् ।

एउटै सडक, लोकमार्ग वर्षेनी पटक पटक पहिरो खस्छ, अवरुद्ध हुन्छ, हजारौ यात्री अलपत्र पर्छन् । तर, यो देशमा राज्य सत्ता चलाइरहेका शासकहरु यति गम्भिर समस्याको दीर्घकालीन समाधानमा निकम्मा देखिन्छन् । दुई दशक बढी समयदेखि एउटै नियति खेपिरहेको नारायणगढ–मुग्लिन सडक मात्र होइन, धेरै सडक र स्थानहरु वर्षेनी यही र यस्तै नियति दोहोरिरहन्छ । यसले देशको बागडोर सम्हालिरहेका नेताहरु मुलुकको विकास र समृद्धिमा कति जिम्मेवार र संवेदनशील छन् भन्ने प्रष्ट हुन्छ । नारायणगढ–मुग्लिन सडकको पहिरो या बर्षेनी पटक पटक एउटै खालको समस्याबाट आक्रान्त सडक मार्गहरुको सम्भावित पहिरो, जोखिम व्यवस्थापन गर्न के कुनै विकल्प छैन होला त ? अवश्य सम्भव छ । बरु यसको यथोचित समाधान र व्यवस्थापनमा राज्य र यसका सम्बन्धित निकायबाट बारम्बार बेवास्ता हुँदै आएको मात्रै हो । अब कुनै पनि विषय र बाहनामा एकै समस्याबाट नागरिकले वर्षेनी सास्ती र सकस पाउने अवस्थाको अन्त्य गर्नुको विकल्प छैन । सरकार र सम्बन्धित निकायले समयमै गम्भिरतापूर्वक ठोस योजनाका साथ समाधानमा ध्यान दिओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *