जलजला गाउँपालिकाको गाउँ सभा : दिनभर बिबाद राती बजेट पारीत

आदर्श अनलाइन, पर्वत

म्याग्दी सदरमुकाम बेनी सँगै जोडीएको पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । अध्यक्ष तथा उपाध्यक्षले एकलौटी तबरले नीति कार्यक्रम तथा बजेट ल्याएको भन्दै नेकपा एमाले बाट निर्वाचित गाउँसभा सदस्यहरुले बिरोध गरेर दिनभर रोकिएको सभा अबेर राती सहमती पछि प्रस्तुत भएर पारित भएको हो ।

लामाखेतमा विहिवार अबेर राती सकिएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम एवम् बजेट पारीत भएको हो । अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम एवम् उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट छलफल पछि पारित भएको हो ।

गाउँपालिकाले ४७ करोड १० लाखको बजेट ल्याएको छ । केन्द्र सरकारको ४२ करोड १६ लाख पचास हजार एवम् प्रदेश सरकारको दुई करोड ८१ लाख २८ हजार तथा दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रकमलाई बजेटमा समावेश गरीएको छ ।

गाउँपालिकालाई केन्द्रसरकारबाट प्राप्त हुने अनुदान घटेको तथा सर्वोच्च अदालतको आदेशका कारण पवित्र कालिगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण आम्दानीमा गिरावट आएको बजेटमा देखिएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको साझेदारीमा जलजला गाउँपालिका–८, को सडक निर्माणमा दुई करोड र केन्द्र सरकारको साझेदारीमा वडा–७, धाईरिङको गण्डकी गोपाल गौशाला निर्माणमा एक करोड ६० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले भवन निर्माणका लागि भनेर जग्गा खरिद गरेर संरचना निर्माणमा समेत रकम खर्चि सकेको भए पनि गाउँपालिकाको अस्थायी संरचना निर्माणका लागि समेत बजेट बिनियोजन गरिएको छ । गाउँपालिकाको लागि अस्थायी संरचना निर्माण गर्न र कोल्डस्टोर भवन बनाउन जग्गा खरिदका लागि एक करोड ६० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । वडा नम्बर १,२,३,४,६,७ र ८ ले सिफारिस गरेका वडा स्तरीय योजनालाई जनही ४० लाख र वडा नम्बर ५ लाई ४५ लाख र ९ नम्बर वडालाई ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वर्थीङ सेन्टरको भवन निर्माण साझेदारीमा १४ लाख २० हजार, एम्बुलेन्स सञ्चालन गर्न ५ लाख, विपन्नको स्वास्थ्य विमाका लागि ९ लाख, महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च सात लाख असी हजार, ग्राम प्रकाश माध्यमिक विद्यालयमा बालिविज्ञान विषय पढ्ने विद्यर्थीको छात्रवृत्तीका लागि तीन लाख २४ हजार विनियोजन गरिएको छ ।

गाईगोरु पाल्ने किसानलाई अनुदान दिन ८ लाख, पशु विमाका लागि ३ लाख, कृतिम गर्भाधानमा अनुदान दिन दुई लाख, आलु खेतीको कार्यक्रमलाई ३५ लाख, विपद् तथा निजी आवास भुक्तानीमा ४० लाख, रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रमलाई ३० लाख विनियोजन गरिएको छ ।

दिनभर तनावग्रस्त

यस अघि बोलाइएका १० गतेको पहिलो र १२ गतेको दोस्रो वैठकमा गणपुरक संख्या नपुगेपछि गाउँसभा सञ्चालन सम्बन्धी कार्यबिधी अनुसार बिहिबार बिहान १० बजे १४ औ गाउँसभाको तेस्रो बैठक बोलाइएको थियो । पहिलो र दोस्रो बैठकमा उपस्थित नभएका एमालेका गाउँसभा सदस्यहरु तेस्रो बैठकमा सहभागि भएका थिए । गाउँसभाका ४७ सदस्यहरु मध्ये एमालेका २७ र नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रका २० जना सदस्यहरु छन् ।

अध्यक्ष आचार्य र दुई जना वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित तथा उपाध्यक्ष दिपक आचार्य र दुई जना वडा अध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ । एमालेका पाँच जना वडा अध्यक्ष सहित कार्यपालिकाका बहुमत सदस्य छन् ।

गाउँपालिकाले असार १० गते आब्हान गरेको बैठक बहुमत गाउँसभाका सदस्य उपस्थित नभएपछि असार १२ गते बैठक आब्हान गरेको थियो । उक्त बैठकमा पनि कोरम नपुगेपछि गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत २५ प्रतिशतले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउनसक्ने प्रावधानलाई टेकेर बिहिबार गाउँसभाको बैठक आब्हान गरेको थियो ।

अध्यक्ष आचार्यले गाउँसभा शुरु गर्ने तयारी गर्नासाथ वडा नम्बर ५ का अध्यक्ष तिलक जिसीले नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकमा छलफल र पारित नगरी गाउँसभा नचलाउन र प्रस्तुत नगर्न अध्यक्षलाई अनुरोध गर्नुभयो । सदस्यहरुले पनि कार्यपालिका बैठकबाट पारित नगरेसम्म नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नगर्न अनुरोध गरिरहनु भएको थियो ।

बिरोधकै बीच अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि एमालेका कार्यपालिका र गाउँसभा सदस्यहरु रोष्ट्रममा पुगेर अबरोध गरेपछि गाउँसभाको हल तनावग्रस्त बनेको थियो । करिब डेढ घण्टासम्म सदस्यहरुको बिरोध जारी रह्यो । त्यसपछि केही समयका लागि भनेर अध्यक्षले साढे १ बजे स्थगित गरेको बैठक साँझ ७ बजेपछि मात्रै चलेको थियो ।

बिहिबारको वैठक स्थगित गरेर कार्यपालिकामा छलफल गरेर मात्र गाउँसभामा पेस गर्नुपर्ने अडानबाट बहुमत सदस्य पछि हटेका र बजेट, नीति तथा कार्यक्रम संसोधन गरेर वडा समितिले सिफारिस गरेका योजनामा बाँड्ने बजेटको सिमा प्रस्तावित भन्दा दश लाख बढाउन अध्यक्ष तयार भएपछि सहमति जुटेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *