आदर्श अनलाइन, पर्वत
पर्वतको जलजला गाउँपालिका वडा नं. ३ मा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा प्रदान गरिने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट गण्डकी प्रदेशका तर्फबाट मल्लाज बहुउद्देश्यीय सहकारी पुरस्कृत भएको हो ।
१०१ औं अन्तराष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार ललितपुरमा आयोजित विशेष समारोहमा सभामुख देवराज घिमिरेले मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लाल बहादुर अधिकारी सहितका पदाधिकारीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।
महासंघका अध्यक्ष मिनराज कंडेलले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ संस्था र व्यक्तिलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको जानकारी दिनुभयो ।
पुरस्कृत हुने अन्य संघ संस्थाहरुमा कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड झापा, मधेश प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड सर्लाही, बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रे, लुम्बिनी प्रदेशबाट तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड रुपन्देही, कर्णाली प्रदेशबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डोल्पा र सुदुरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलाली पुरस्कृत भएका छन् ।
उत्कृष्ट सहकारी संघ पुरस्कारबाट जिल्ला सहकारी संघ लिमिटड काभ्रे पुरस्कृत हुने भएको छ । महासंघले राष्ट्रिय सहकारी पुरस्कार २०७९ बाट सहकारी अभियन्ता डा.शान्तराज शर्मालाई सम्मान गरेको छ । उक्त पुरस्कराको राशी ५० हजार रहेको छ ।
त्यसैगरी सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी अखबार अनलाइनका सम्पादक खिलानाथ दाहाल पुरस्कृत हुनुभएको छ ।