सम्पादकीय
पछिल्लो समय राजनीतिक पार्टी र नेतृत्वका विषयमा तिब्र आलोचना हुन थालेको छ । तर, त्यस्तो आलोचना जायज नै भए पनि आलोचनालाई निषेध गर्ने र नेतृत्वको आलोचना गर्नै नहुने जबरजस्त मान्यता स्थापित गर्ने प्रयास जारी छ । चाहे त्यो लोकतान्त्रिक पार्टी दाबी गर्ने शेरवहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस होस् या केपी ओली नेतृत्वको नेकपा एमाले वा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र या अहिलेको नयाँ शक्तिको रुपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी होस् । पार्टी र पार्टी नेतृत्वको आलोचना ग्रहण नगर्ने प्रवृत्ति बढ्दो छ । यदि कसैले गरिहाल्यो भने पनि सुध्रिनुको साटो आलोचकलाई बहिष्कार गर्ने अभियान नै चलाउने अतिवादी प्रवृत्तिले नेपाली समाजमा आलोचनात्मक चेत हराउँदो छ ।
सोमबार मात्रै नेपाली कांग्रेसले पार्टी नेतृत्वका विषयमा सार्वजनिक स्थलमा विरोध नगर्न पार्टी कार्यकर्तालाई निर्देशन गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको हो । ‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने’ निर्णय गरेको उल्लेख छ । पछिल्लो समय पार्टी महामन्त्री गगन थापा पार्टी सभापति शेरबहादुर देउवा प्रति आक्रामक देखिएका छन् । उनले हालै मात्र एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री देश विश्वमा कतै नभएको उल्लेख गर्दै नेपालमा मात्र यस्तो हुनु अनौठो विषय भएको बताएका थिए । यसले पार्टी सभापति देउवा पटक पटक प्रधानमन्त्री भए पनि काम गर्न नसकेकाले देशको दुरावस्था भएको प्रष्ट बुझिन्छ । तर, कांग्रेस नेता एनपी साउदले महामन्त्री थापाको भनाईको तत्काल खण्डन गर्दै देउवा कसैको दया मायाले नभई आफ्नो क्षमताले प्रधानमन्त्री भएको बताएका थिए ।
नेपाली कांग्रेसको पछिल्लो निर्णय पार्टी नेतृत्व प्रति आलोचना नै गर्न नपाउने गलत नजिरको निरन्तरता तर्फ उन्मुख छ । नेकपा एमालेमा अध्यक्ष केपी ओली माथि नेतृत्वको आलोचनामा निषेध गरेको आरोप छ । आलोचना गर्ने भीम रावल, घनाश्याम भुसालहरुलाई किनारा लगाएको र अहिले पनि आफ्नो आलोचना गर्नेलाई पूर्वाग्रह साँधेको गुनासो छ । यो एमालेमा मात्र होइन, माओवादीमा अध्यक्ष प्रचण्डको आलोचना गर्नेहरु पनि यस्तै नियति भोग्न बिबश छन् भने अरु पार्टीहरुमा पनि आलोचनालाई सहज रुपमा स्वीकार नगर्ने प्रवृत्ति मौलाउँदो छ । चौतर्फी प्रशंसा र गुणगान मात्र सुन्न चाहने नेतृत्वमा जसले चाकडी गर्छ, असक्षम भए पनि त्यही व्यक्तिलाई काखी च्याप्ने प्रवृत्तिले नेपाली राजनीति समेत प्रदृषित बनिरहेको छ । प्रतिशोधपूर्ण आलोचना गलत हो । तर, सही र स्वस्थ आलोचना निषेध कदापि निषेध गरिनु हुन्न । स्वस्थ आलोचनाले त नेतृत्वलाई थप सुधार्छ, सच्चिन सहयोग गर्छ । यसर्थ हार्दिकतापूर्वक स्वीकार र समीक्षा गरेर अघि बढ्न जरुरी छ । आजको समय र व्यवस्थामा नेतृत्वको आलोचना गर्न नपाउने या नगर्न निर्देशन दिने विषय लोक लज्जाको विषय हो ।