विपदबाट हुने जोखिम न्यूनिकरण गर्न ‘विपद प्रतिकार्य योजना’ सार्वजनिक

आदर्श अनलाइन, बागलुङ
विपद्बाट प्रभावितलाई आपतकालिन आवश्यकता, पुर्नलाभ र पुर्नस्थापनाका लागि सहज बनाउँने उद्देश्यले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना सार्वजनिक गरिएको छ ।

विपद् पूर्व, विपद्को समय र विपद् पश्चातको चरणहरुमा प्रभावितलाई तत्काल खोज, उद्दार तथा आपतकालिन राहत उपलब्ध गराउने उद्देश्यले ‘विपद् प्रतिकार्य योजना’ सम्बन्धी पुस्तक सार्वजनिक गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति बागलुङले गैर सरकारी संस्था महासंघ बागलुङ शाखाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको प्राविधिक सहयोगमा पुस्तक प्रकाशन गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधरणको जीउज्यान, सार्वजनिक नीजि तथा व्यक्तिगत सम्पत्ती, प्राकृतिक एवं साँकस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नको लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्नुपरेको प्रजिअ श्रेष्ठले बताउनुभयो ।

हरेक वर्ष प्रतिकार्य योजना निर्माण गरेर जिल्ला विपद् व्यवस्थापन समितिको वेभ साइडमा राख्ने गरेको भएपनि यसलाई थप प्रभावकारी बनाउनको लागि यसवर्ष गैससको सहयोगमा पुस्तक प्रकाशन गरेको श्रेष्ठले बताउनुभयो ।

पुस्तकमा बागलुङ जिल्लाको परिचय, विपद् प्रतिकार्य योजनाको उद्देश्य, प्रकोप नक्साङ्कन, जोखिम तथा संकटाभिमुखता विश्लेषण, क्षमता विश्लेषण र श्रोत साधनको आँकलन, निकायगत भूमिका र जिम्मेवारी, खोजतलास उद्दार, आपतकालिन आवास तथा गैर खाद्य सामाग्री व्यवस्थाप, आपतकालिन शिक्षा, स्वास्थ्य सरसफाई तथा पोषण लगाएतका विषयहरु समावेश गरिएको छ ।

पुस्तकमा बागलुङ जिल्लाका १० स्थानीय तहमा हुनसक्ने विपदुलाई छुट्टा छ्ट्टै विश्लेषण गरिएको छ । यसरी विपद्को प्रकार र प्रकृतिलाई छुट्याएर विश्लेषण गर्दा जोखिमको आँकलन र उद्दारको तयारी गर्न सहज हुने प्रजिअ श्रेष्ठले बताउनुभयो ।

‘विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना’ पुस्तकको विमोचन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सडक संरचनाहरु निर्माण गर्दा सचेत नभएको कारणले वर्षनी विपद्को जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले प्रत्येक स्थानीय तहले भौगोलिक हिसावले हुनसक्ने विपद्बाट हुनसक्ने क्षतीको आँकलन गरि व्यवस्थापनको लागि पूर्व तयारी गर्नुपर्ने बताउनुभयो ।

जिल्लामा अझैपनि पँधेरा, शौचालय र जुठेल्लो समेत खोलानै भएका धेरै वस्ती रहेको भन्दै वर्षातको समयमा बाढी, पहिरोबाट हुनसक्ने क्षतीलाई कम गर्नु ठुलो चुनौती रहेको बताउनुभयो । उहाँले प्रत्येक स्थानीय तहमा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र गठन गरि संयन्त्रलाई परिचालन गर्न सक्ने हो भने समयमै उद्दार र राहतमा जुट्दै क्षतीलाई कम गर्न सकिने बताउनुभयो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *