सात वर्षपछि टुङ्गियो काठेखाेलाको केन्द्र, सामबोटमा प्रशासनिक भवन बन्ने

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन । छ वर्षदेखि प्रशासकनिक भवन निर्माणका विषयमा कार्यापालिका बैठकमा धेरै पटक छलफल भए पनि सार्थकता पाएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नम्बर ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ ले अक्षते र वडा नम्बर ५, ६, ७ र ८ ले हाल कार्यालय संचालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्दै आएका थिए ।

गाउँपालिकाले अहिले पालिका स्तरीय अस्पताल, प्रहरी चौकी अक्षते र बहुउद्देश्य सभा हल तथा आयुर्वेदीक अस्पताल सुलडाँडामा बनाउने सहमति भएपछि सामबोटमा प्रशासनिक भवन निर्माण गर्ने निर्माण भएको गाउँपालिकाका प्रवक्ता टीका संगम विकले बताउनुभयो । सामबोटमा भवन बनाउनका लागि कार्यपालिका बैठकले निर्णय गरि १३ औँ गाउँसभाबाट पारितसमेत भएको छ । भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ मा एक करोड रुपैयाँ विनियोजन गरेको प्रवक्ता विकले बताउनुभयो ।

उहाँले भन्नुभयो – “करिब छ वर्ष अगाडि हामीहरुले बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक कामकाज सुरु गरेका थियौँ, अहिले पनि सोही घरबाटै काम भइरहेको छ, कार्यालय संचालन भएको घरमा पनि पर्याप्त कोठाहरु छैनन् त्यसले गर्दा विभिन्न शाखाहरु गाउँपालिकाले भिमशेन प्राविको भवनबाट संचालन गरेको छ ।”

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरि सक्दा काठेखोला अहिले बल्ल केन्द्र टुङ्गो लगाएको छ । केही महिना अगाडि गाउँपालिकाले जग्गा व्यवस्थापनका लागि सूचान आह्वान गरेको सात स्थानमा जग्गा उपलब्ध गराउने आवेदन गरेकोमा दुई स्थानमा निःशुल्क, दुई स्थानमा सशुल्क र तीन स्थानमा सार्वजनिक जग्गा उपलब्ध गराउने निवेदन परेको थियो ।

सोही अनुसार गाउँपालिकाले सामबोटमा जग्गा छनोट गरेको हो । गाउँपालिकाले अहिलेसम्म प्रशानिक भवन बनाउन नसक्दा वार्षिक सात लाख २६ हजार रुपैयाँ गुमाइ रहेको छ । हरेक महिना पालिकाले ६० हजार ५०० रुपैयाँ कार्यालय भाडा तिर्दै आएको छ । यसै वर्षदेखि भवन निर्माणको कार्य सुरु गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो ।

“अहिलेसम्म गाउँपालिकाको कामकाज सबै भाडाको घरबाट संचालन भएको छ, एकै घरमा पर्याप्त कोठाहरु नहुँदा ठाउँ–ठाउँमा घर भाडामा लिएका छौँ, सेवाग्राहीले एकै ठाउँबाट सेवा लिन पाउनु भएको छैन, यसले समस्या बनाइ रहेको छ,” अध्यक्ष थापाले भन्नुभयो – “धेरै समयको कसरतपछि अहिले समबोटमा जग्गा प्राप्त भएको छ, नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै भवन निर्माणको काम सुरु गर्ने गरि बजेटसमेत विनियोजन भएको छ, हाम्रै कार्यकालमा सक्ने गरि काम गर्छौँ ।”

सुलडाँडा र अक्षते १५ मिनेटको दुरीमा पर्छन् । अक्षतेमा सानो बजार रहेको छ । जुन मध्यपहाडी लोकमार्गमै पर्छ । अहिले कार्यालय रहेको सुलडाँडा भने लोकमार्गभन्दा केहीमाथि पट्टी पर्छ । गाउँपालिकामा सेवा लिन आएका सेवाग्राही एकै ठाउँमा सबै शाखाहरु नहुँदा छुट्टाछुट्टै ठाउँमा जानु पर्ने बाध्यतामा छन् । प्रशासनिक भवनसहित अन्य संरचना बनाउन स्थानीय लगायतको सहयोग आवश्यक परेको अध्यक्ष थापा बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *