स्वास्थ्य कार्यालयको वित्तीय प्रगति झण्डै ८४ प्रतिशत

आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा ८३.६३ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ । चालु आर्थिक वर्षको प्रगति सुनाउँदै स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले कार्यालयले ९४.१९ प्रतिशत भौतिक प्रगति गरेको जानकारी दिनुभयो ।

चालु तर्फ तीन करोड ७४ लाख ८१ हजार रुपैयाँ बजेट रहेकोमा तीन करोड १३ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । पूँजीगत तर्फ ९९.७४ प्रतिशत प्रगति भएको भएको उहाँले जानकारी दिनुभयो । पूँजीगत तर्फ २० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १९ लाख ९४ हजार रुपैयाँ खर्च गरेकोे छ । कार्यालयको कूल बजेट ३ करोड ९४ लाख ८१ हजार रहेकोमा ३ करोड ३३ लाख ३९ हजार रुपैयाँ खर्च भएको छ । यो कूल बजेटको ८४.४४ प्रतिशत प्रगति हो ।

संघीय ससर्त अनुदान तर्फ ९७.९६ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ । चालु तर्फ २ करोड ८७ लाख २३ हजार रुपैयाँ बिनियोजन भएकोमा २ करोड ३ लाख ५४ हजार खर्च भएको छ । कार्यालयले यस बर्ष २२३ वटा खानेपानीको मुहान परीक्षण गरेको थियो । परीक्षणमा ७७ वटा मुहानमा कोलिफर्म देखिएको थियो भने १४६ वटा मुहानको पानी पीउन योग्य रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा २ लाख २६ हजार ५८६ जनालाई हात्ती पाईले रोग विरुद्धको औषधी खुवाएको छ । २६ जनालाई आरआरटी (द्रुत प्रतिकार्य) तालिम, ५० जनालाई मानसिक स्वास्थ्य, तालिम, आमा समुह तथा टोल विकास संस्थाका पदाधिकारी १७६ जनालाई अभिमूखिकरण गरेको छ ।

विश्व औलो दिवस, किटजन्य रोगहरुको अनसाइट कोचिङ, किटजन्य रोग सम्बन्धी अभिमूखिकरण, डेंगी सम्बन्धी अभिमूखिकरण विषादी रहीत खाद्य प्रवर्धन, एचआईभी तथा अन्य रोग सर्भिलेन्स, क्षयरोग बिरामीलाई पोषण भत्ता वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्वास्थ्य कार्यालय बागलुङले गाउँ–गाउँ पुगेर सेवा प्रवाह गरेको बताउनुभयो । जिल्लामा प्रस्तुत गरेको कार्य प्रगति र वडा तहसम्मको अवस्था प्रभावकारी रहेको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले स्वास्थ्य कार्यालयले राम्रो काम गरेको भन्दै प्रशंसा गरिन । जिल्लाका धेरै कार्यालयको काम सक्नै बाँकी रहेको अवस्थामा स्वास्थ्यले काम सकेकोमा प्रशंसा गर्नुभयो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख धर्मभक्त बस्यालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *