सरोजराज पन्त
नेपाल विश्वमै अनुपम देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै संस्कृति र परम्पराहरु रहेकोले भाषा, कला, रीतिरिवाज, रहनसहन आदि पनि फरक फरक किसिमका छन् । प्राकृतिक सम्पदाले धपक्क बलेको नेपालमा सदा मुस्कुराउने हिमश्रृखलाहरु, कल्कलाउँदा झरनाहरु, शिरशिरे बताससँगै दुनियालाई मोहित पार्ने हरिया जंगल, मनोरम दृश्यहरु रहेका छन् । ती मध्ये रेश एक हो । नेपालको गण्डकी प्रदेशको बागलुङ जिल्लामा अवस्थित एक रमणीय गाउँ हो । सदरमुकाम बाग्लुङ बजारबाट करिब १४ किलो मिटर दुरीमा अवस्थित रेश काठेखोला गाउँपालिका वडा नं ७ मा पर्दछ । यसको कूल क्षेत्रफल १७.०५ वर्ग कि.मी. रहेको छ । ‘रेश’ नामाकरणका सन्दर्भमा दुईवटा किम्वदन्तीहरु रहेका छन । पहिलो किम्वदन्ती अनुसार यहाको जमिन उत्तर मोहडा भै बसेको जमिन भएको र दक्षिणदेखि उत्तर ढलान हुनुको साथै दक्षिणतर्फ जंगल तथा उत्तरतर्फ खेतीयोग्य जमिन रहेकोले सुख्खा याममा पनि प्रशस्त खेतीहुने साथै बागलुङदेखि गाजा दह हँुंदै यहिवाटो भएर बुटवल जाने आउने बटुवाहरुले यस स्थानलाई अति रसिलो रस भएको ठाउँ भनेको र यही अपभ्रंश भै रेश भएको हुन सक्ने किम्वदन्ती रहेको छ । यसै गरी अर्काे किम्वदन्ती अनुसार यस गाउँमा प्रशस्त खोला खोल्साहरु भएको र टाढावाट हेर्दा रेखा कोरिएको जस्तो देखिने भएकोले रेखै रेखाको गाउँ भन्न थालिएको र पछि यस शब्द अपभ्रंश भई रेश भएको हुन सक्ने भनाई रहेको छ।
यहाँ बिविध जात जाति, धर्म तथा पेशाका मान्छेहरूको बसोबास रहेको छ । मुख्य गरी क्षेत्री,मगर,बाहुन,गुरुङ,ठकुरी, कामी,सुनार,दमाई र सार्की जातको बसोबास छ । कृषिको क्षेत्रमा हेर्दा यहाँ सुन्तला, नास्पाती, पलम, आरु, भोगटे, कागती, निबुवा, बिमिरो, केरा लगायतका फलफूल पाइन्छ भने आलु, मुला, धान, कोदो, मकै, गँहु, जौ आदिको खेती पनि गर्ने गरिन्छ ।यो क्षेत्र माहुरी पालन, भेडाबाख्रा, गाई–बस्तु, हाँस–कुखुरा आदि पशुपंन्छीको लागि पनि उपयुक्त मानिन्छ । पर्यटकीय सम्भावना बोकेको यो गाँउबाट धौलागिरी, निलगिरी, माछापुच्छ«्रेर अन्नपूर्ण जस्ता चारवटा ठूला हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।
पर्यटनको सम्भावना भएको रेश बागलुङ जिल्लाको घरबास कार्यक्रम सुरुवात गरिएको गाउँ हो । नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले पर्यटन प्रवद्र्धनका लागि अगाडि सारेका चक्रपथ तथा पदमार्ग निर्माण संगै स्थानीय क्लवहरुले विभिन्न चाडपर्वका अवसरमा लगाउने मेला महोत्सव आदिका कारण रेशमा पर्यटकको आगमन बढेको छ । रेशमा आउने पाहुनाहरुको व्यवस्थापनको लागि घरबास कार्यक्रमको अवधारणा ल्याइएको हो । रेश भन्ने वित्तिकै बागलुङ जिल्लाको एक सुन्दर रमणीय पर्यटकीय स्थल हो भन्ने बुझिन्छ । यहाँ घरबासकार्यक्रम सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गाउँकै मौलिक खानपान, सांस्कृतिक लोकभाका तथा झाँकी प्रस्तुत गरी पर्यटन प्रर्वद्धन गर्ने कार्य यहाँका समूह ले गरिरहेका छन् । घरबासकार्यक्रम सँग जोडिएका केही सांस्कतिक कार्यक्रमहरुको झलकहरु हामीले ईन्द्रेणी कार्यक्रमको युट्युव च्यानलमार्फत हेर्न सकिन्छ ।
रेशमा हेर्न लायक थुप्रै ठाउँहरु छन् ,जसमा भुरे राजाहरुले राज्य गरेको ठाउँ जहाँ अहिलेसम्म पनि ढिकी, जाँतो सहित विभिन्न हात हतियारहरु रहेकोे रेश सिगाना कोट, ओदानडाँडा शिवालय मन्दिर, भैरवस्थान मन्दिर, सत्यवती मन्दिर, निर्माणाधिन अवस्थामा रहेको गाउँपालिका कै नमूना खेलकुद मैदान आदि रहेका छन् । त्यस्तै पर्यटकहरुको लागि विहानीपख देखिने सूर्योदय, रातमा लाग्ने टहटह जूनको उज्यालोमा स्वेतदन्त फिजाएका हिमश्रृङ्खलाहरु धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी जस्ता पिकहरुको दृश्यावलोकन गर्न र ग्रामीण रहनसहनमा रमाउन पर्यटकहरुलाई भरिपूर्ण छ । यसै गरी गाउँको वीचबाट गाजाको दहसम्म जाने मदन भण्डारी पदमार्ग, बर्माथान भ्यूप्वाईन्ट, रेशको कोटवाट टाढाटाढासम्मका दृश्यहरु सजिलै अवलोकन गर्न सकिन्छ । मौसम सफा रहेको अवस्थामा विभिन्न दुरदराजमा रहेका चुचुराहरु देख्न सकिन्छ ।
विज्ञान र प्रविधिसंगै नयॉ–नयाँ प्रयोग तथा वर्तमान भूमण्डलीकरणको युगमा ग्रामीण अर्थतन्त्रको निर्माण, ग्रामीण जनताको सामाजिक र आर्थिक जीवनको उन्नतिको लागि ग्रामीण पर्यटन एउटा सरल, सहज र वैकल्पिक उपाय हो । ग्रामीण पर्यटनले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा आय आर्जन गर्न विदेशी मुद्रा समेत महत्वपूर्ण योगदान गरेको छ ।रेशलाई पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार तथा विकास गर्नको लागि रेशको नुन्थलामा हरेक वर्ष भाद्र महिनामा हरितालिका तिज पर्वको अवसर पारी लाग्ने तिज विशेष खुल्ला भलिवल तथा विविध सांस्कृतिक कार्यक्रम लगायतका अन्य महत्वपूर्ण चाड पर्वको अवसरमा रेशमा स्थापना भएका विभिन्न युवा क्लव तथा सामाजिक संघसंस्थाले विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।
२०७६ जेष्ठमा रेशको नुन्थालामा शैक्षिक महोत्सवको आयोजना भयो । जसले रेशलाई ऐतिहासिक पर्यटकीय स्थलको रुपमा प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण भूमिका खेल्यो । त्यस अवसरमा रेशमा आउने पाहुनाहरुको व्यवस्थापनका लागि घरबास कार्यक्रमकले ठूलो मद्धत पु¥यायो । बागलुङ जिल्लाको रेश भन्नाले माथिघनाजंगल तल खेतको फाँट फनक्क घुमेको वीचको क्षेत्रमा घना बस्ती र वीच वीचमा रेखा कोरेजस्ता खोला र खोल्सा देखिने एक सुन्दर पर्यटकीय स्थल हो भन्ने बुझिन्छ । यस स्थानमा न्युनतम पर्यटकीय पूर्वाधारहरु बन्दै गएका छन् । यहाँ घरबासकार्यक्रम सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गाउँकै मौलिक खानपानसंगै सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्य वडा कार्यालय लगायत पर्यटन प्रर्वद्धन समूहले गरिरहेको छ ।
रेशमा हेर्नलायक थुप्रै ठाउँहरु भध्ये भुरे राजाहरुले राज्य गरेको ठाउँ (कोट) र त्यतिबेला प्रयोग भएका विभिन्न हात हतियार लगायत ढिंकी, जाँतो, ओखल, परम्परागत पानी घट्ट, परम्परागत माहुरी घार आदि हेर्न लायक बस्तुहरु रहेका छन् । त्यस्तै पर्यटकहरुको लागि कोटको डाँडावाट विहानपख देखिने सूर्योदय, रातमा लाग्ने टहटह जूनको उज्यालोमा दन्त फिजाएका हिमश्रृङ्खलाहरु धौलागिरी, माछापुच्छ«्रे, अन्नपूर्ण, निलगिरी, जस्ता पिकहरुको दृश्यावलोकन गर्न, रमाउन र पर्यटकहरुलाई आकर्षण गर्न भरिपूर्ण आधार रहेका छन् ।
यहाँको मुख्य पेसा कृषि हो । यहाँ उत्पादन हुने वालीहरुमा कोदो,मकै,गहुं, धान आलु, मुला, मुख्य वाली हुन् । अन्य वालीहरुमा जौ, भटमास, तोरी, खुर्सानी, अदुवा काउली, गोलभेडाका साथै अन्य हरिया सागपातहरु हुन् । कृर्षि पछिको अर्को आम्दानीको स्रोत प्रमुख पशुपालन हो । यहाँ गाई भैसी दुध उत्पादन र प्राङगारिक मल उत्पादनको लागि पालिन्छन् । सुंगुर, बाख्रा, भेडा मासुको लागि र हाँस, कुखुरा मासु तथा अण्डा उत्पादनको लागि पालिन्छ । व्यवस्थित बजार र उचित मुल्याङ्कनको अभावमा पशुपालन व्यवसायप्रतिको आकर्षण घटिरहेको भएता पनि हाल आएर यसको महत्व बढिरहेको छ ।
यस वडाको प्रमुख व्यापारिक उत्पादनमा डोका, थुन्से, सेखु, नाम्ला, खुर्पेटो, फलामका भाँडाकुडा, औजारहरु, छालाका जुत्ता जस्ता वस्तुहरु यहाँका परम्परागत उत्पादन हुन् । समयको क्रमसँगै अहिले झोला, च्यादर (सल), घरबास (होम–स्टे), पसल, तरकारी तथा फलफूल खेती, नगदेवाली उत्पादनले व्यवसायिक रुप धारण गर्ने प्रयास गरी व्यवसायहरु संचालनमा छन् । यहाँ उत्पादित सामग्रीहरु बागलुङ वजार र अन्य छिमेकी वडाहरुमा विक्री वितरण हुने गर्दछन ।
यस वडामा यातायातको रुपमा प्रायजसो स्थानमा कच्ची सडक पुगेको छ । कच्ची सडकका साना ठूला ट्रयाकहरु सवै तिर खेलिएका छन् । बागलुङ सदरमुकामबाट यातायातको रुपमा जीप, ट्याक्सी, मोटरसाइकल र वर्षा बाहेकको समयमा बसहरु समेत जाने गर्दछन् । बर्षा यामका लागि वडाको पहलमा गाउँपालिकाले अस्थाई पुलको ब्यवस्था गरेको छ । विँहु र रेश जोड्ने मोटरेवल पुल निर्माण भएको छ । पैदलमार्गको प्रयोग गरेर पनि यो वडासँग जोडिएका अन्य स्थान तथा बागलुङ बजारबाट पनि सजिलै जान सकिन्छ । संचारको क्षेत्रमा नेपाल टेलिकम र एनसेलले सुविधा दिएका छन्् भने केवल तथा डिसहोमको माध्यमबाट टेलिभिजनको पनि सुविधा रहेकोछ । साथै वाईफाई तथा मोवाईल डाटाको प्रयोगबाट ईमेल र ईन्टरनेटको सुविधासमेत उपलब्ध छ ।
यस वडामा १ माध्यमिक विद्यालय, १ आधारभूत विद्यालय र ६ प्राथमिक विद्यालय गरी कूल ८ वटा तथा बालविकास केन्द्र ९ वटा समेत रहेका छन्। त्यसैगरी निजी क्षेत्रबाट सञ्चालित न्यू मोडेल ईगलिस बोर्डिङ स्कूल र सेन्टमेरिज ईङलिस बोर्डिङ स्कूल पनि रहेका छन । उच्च शिक्षाका लागि बागलुङ, पोखरा तथा काठमाडौँ जाने गर्दछन् ।यस वडामा एक स्वास्थ्यचौकी रहेको छ । यो स्वास्थ्य चौकी २०३७ सालदेखि भकुण्डे, सिगाना,तित्याङ,रेश, लेखानी र विहुँलाई सेवा दिने उद्देश्यका साथ स्थापना भएको थियो । पछिल्लो समय रेशलाई कार्यक्षेत्र बनाएको यस स्वास्थ्य चौकीमा प्राथमिक उपचारदेखि प्रसूति केन्द्र बर्थिङ सेन्टरको समेत सेवा उपलब्ध रहेको छ ।
धार्मिक मन्दिरहरुमा भैरव मन्दिर जिरेदी, भैरव मन्दिर हेरल्थान,माईको मन्दिर जिरेदी र माईको मन्दिर दुरामारे,सत्यवती मन्दिर गलैना,शिवालय मन्दिर ओदानडाँडा र पिंडाल्ला,गणेश मन्दिर चकमके र आरिमपाटा, राधाकृष्ण मन्दिर काफलबोट, कोट तथा रानीभूमे मन्दिर, सरस्वती मन्दिर नुन्थला, श्रीराम मन्दिर पल्लाचौरी, कालिका मन्दिर बौर,बर्माको थान साथै बौद्ध गुम्वा गुरुङथर आदि रहेका छन ।
नेपाली भाषा प्रयोग गर्दा यहाँका मगर र गुरुङ हरुले आफ्नो भाषाप्रति सम्मान हुँदाहुँदै पनि भाषा नजानेको र क्षेत्री मगर र ब्राह्मण समुदायहरुमा हिन्दु धर्म तथा चालचलन र रीतिरिवाजलाई मान्दै आएका छन् । पहिल्लो चरण केहीले वौद्ध धर्मलाई अवलम्बन गरे पनि चाडपर्व मनाउने सवालमा कुनै पनि प्रकारको मतभेद त्यहाँ देखिदैनन् । यहाँका मानिसहरु हिन्दु तथा बौद्ध धर्मलवाम्बी भएकोले चाडपर्व उनीहरुको संस्कार अनुसार मनाउनु स्वाभाविक देखिन्छ । विशेष गरेर अध्ययन क्षेत्रका मानिसहरुले वैशाख पुर्णीमा, साउने सक्रान्ति, तीज, बौद्ध पुर्णीमा, ल्होसार, दशै, तिहार, माघे संक्रान्ति र चैते दशै मनाउने गर्दछन् । गुरुङहरुले दशैं तिहारमा रमाईलो गरेता पनि टिका भने लगाउदैनन् ।
यसैगरी एैतिहासिक एवम पुरातात्विक महत्वको कोट तथा रानी भूमेको मन्दिर रेश र सिगानाको बीचमा अवस्थित भुरे राजाको दरवार रहेको स्थान सिगानाले पूजागर्ने ठूलो कोट तथा रेशले पूजा गर्ने सानो कोट । आश्विन शुक्ल पक्षको नवरात्रीमा उपवास वसी भुरे राजाहरुले प्रयोग गरेका हतियार र नवदूर्गाको पूजा अर्चना गर्ने गरिन्छ । जिविकोपार्जनको लागि रहेको कृषि तथा पशुपालन पेशाले माात्रै मानिसका आवश्यकताहरु पुरा गर्न नसक्ने भएकोले कृषि पेशाका अतिरिक्त अन्य पेशा खोज्नु पर्ने अध्ययन क्षेत्रका समुदायको बाध्यता र आवश्यकता दुबै हो कृषि पेशा मुख्य पेशाको रुपमा रहे पनि अध्ययन क्षेत्रका मानिसहरु जागिर र व्यवसायमा संग्लग्न भएको देखिन्छ । जागिरको सवालमा कोही शिक्षक, कोही विदेशी लाहुरे त कोही तेश्रो मुलुकमा वैदेशिक रोजगारमा रहेको देखिन्छ भने व्यवसायको हिसाबले घरबास कार्यक्रम नै आयस्रोतको राम्रो स्रोत बन्न सक्ने देखिन्छ ।
पर्यटन विकासमा अगाडि बढेको रेश गाउँले जसरी आज स्थानीय श्रोत र साधनको परिचालनमा आफ्नै मौलिकतालाई झल्काएको छ । स्थानीय जडिबुटीहरुको समुचित प्रयोग गरी औषधीमा आत्मनिर्भर बन्न, वैदेशीक मुद्रा आर्जन गर्न, युवा सशक्तीकरण, रोजगार सिर्जना, पर्यटकीय विकास, संस्कृतिको प्रचार प्रसार, स्वावलम्बी भएर देशको सेवामा लाग्न सकिने प्रशस्त सम्भावनाहरु यस गाउँमारहेका छन् । तर पनि समय अनुसार सम्भावनाका हिसावले यस क्षेत्रको विकास जुन रुपमा हुनुपर्दथ्यो सो अनुसार हुन सकेको छैन । । तसर्थ यसका लागि पुँजी, प्रविधि, जनशक्ति, सम्पर्क, समन्वय, शान्ति सुरक्षा, स्थिरता सकारात्मक सोच हुनुपर्दछ । यस गाउँमा कच्ची बाटो भएकाले बढी जोखिम यात्रा गर्नु परेकोले कम मात्रामा पर्यटन भित्रिएका छन् । सडक पीच, मर्मत सम्भार, सुविधासम्पन्न होमस्टे, उच्च शिक्षाको लागि राम्रो व्यवस्था, विदेश जाने युवाहरुलाई रोक्ने थुपै चुनौतिहरु यस गाउँमा छन् तर यी चुनौतिहरुको सामना गरेर आफ्ना कला संस्कृति, भाषा, रीतिरिवाज, चालचलनको निरन्तरताबाट नै विकासका कार्य अगाडि बढाउन सकिन्छ । यस्तो सुन्दर वस्ती रहेको गाउँलाई अझ बढी विकसित गराउनका लागि यस क्षेत्रमा स्थानीय स्तरबाट र सरकारी तहबाट सक्रिय रुपमा पहल गर्नुपर्ने देखिन्छ । यदिअहिलेका प्रयासलाई निरन्तर अगाडि बढाउन सक्ने हो भने रेशगाउँलाई देशकै नमूना गाउँ बनाउन सकिन्छ ।
मानिसहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न तालिमहरू दिन हरेक क्षेत्रमा तत्पर रहि आफ्नो छुट्टै किसिमको पहिचान बनाउन सफल भएका छन् । यस गाउँमा विभिन्न शिपहरु सिकाई रोजगारका कार्यहरु सञ्चालन गरिएको छ । अझै यहाँको सामुदायिक वनमा पाइने भरुवाबाट नेपाली कागज निमार्ण स्थानीय,पलमबाट जाम, क्याण्डी उत्पादन, माछा पालन, चौरी पालन विभिन्न किसिमका हाते मेसिनबाट तयार पारिएका झोला टोपी, रुमाल, स्वीटर जस्ता सामानहरु निर्माण गर्ने आलु, भुईस्याउ, नर्सरी उत्पादनबाट यस गाउँका मानिसहरुले आर्थिक क्षेत्रमा परिवर्तन गर्न सकिन्छ ।