सरोजराज पन्त
किसानकालागि मानो खाएर मुरी उव्जाउने महिना असार मात्र नभई, नेपालमा आर्थिक दृष्टिकोणले आर्थिक वर्षान्तका जेठ र असार दुई महिना निकै महत्वपूर्ण मानिन्छन । सरकारको परम्परागत खर्च प्रणालीको कागजी यी दुई महिना सबैभन्दा बढी सरकारी खर्च हुने महिनामा गनिन्छन् । यिनै दुई महिनामा आगामी आर्थिक वर्षका लागि नीति, योजना, कार्यक्रम र बजेट ल्याउने, हरहिसाब फरफारक गर्ने, वार्षिक साल तमामी गर्ने, आगामी वर्षका लागि आर्थिक एवं व्यावसायिक योजना निर्माण गर्ने भएकाले यो समय निकै महत्वपूर्ण मानिन्छ । यसैगरी मानो खाएर मुरी उज्जाउने महिनाको रुपमा असारलाई महत्वपूर्ण मानिन्छ ।
कृषिप्रधान देशमा किसानलाईमात्र असार लाग्नुपर्नेमा विकासका ठेकेदारहरू, अध्ययन, अनुसन्धान, तालिम, गोष्ठी, सेमिनार तथा अन्य प्रशासनिक खर्चको हिसाब मिलान गर्न सरकारी, गैरसरकारी संघसस्थाका कार्यालय र कर्मचारीहरुलाई किसानलाई भन्दा अचाक्ली असार लाग्ने गरेको छ ।असारको वर्षामा देशभरि जताततै विकासका कामहरूले तीव्रता पाएको पाइन्छ । सडक, सिँचाइ, कल्भर्ट, तटबन्ध र अस्पताल, भवन निर्माण लगायतका कामले यतिखेर निकै जोडतोडका साथ हुने गरेको पाइन्छ । सडक अवरुद्ध पारेर ‘सडक निर्माणको काम हुँदैछ’ लेखिएको बोर्ड तेस्र्याएर सवारी साधनलाई अन्यत्र डाइभर्ट गर्ने काम हुन्छन । जसबाट सर्बसाधरणदेखि विरामी सबैले दुःख भोग्नु परेको छ । तथापि हाम्रो देशमा हरेक वर्ष किन असार लागेपछि मात्रै विकासको कामले तीव्रता पाउँछ ? भन्ने प्रश्नको जवाफ अहिलेसम्म पाउन सकेका छैनौँ । सडक निर्माण र मर्मत गर्ने काम पनि यही समयमा भइरहेको देख्न पाइन्छ ।
सडक निर्माणको नाउँमा डोजर र स्काभेटरले जथाभावी जग्गा सम्याउने, माटो भर्ने र पहाडको भित्ता फोर्ने काम भइरहेको छ । सडक मर्मतको काम सिमसिम पानीमा सडक कालोपत्रे गरिरहेको, धुलो, माटो र पानीमाथि कालोपत्रे गरिरहेको, कतै कालोपत्रेमाथि नै कालोपत्रे थपिँदै गरेको पनि देख्न सकिन्छ । यस्तै काम सम्पन्न गरियो भनी आर्थिक अनियमितता, भ्रष्टाचार, रक्षक नै भक्षक भएका समाचारको पनि पाउँदै आएका छौँ । तर चुप्प लागेर बस्नु बाहेक अरु केही नगर्दा यो समस्या बर्षेनि बढदै गएको छ ।
नेपालमा जब आर्थिक वर्ष सकिनै लाग्छ अनि जब प¥यो राती तब बुढी ताती भने झैं पूर्वाधार विकासको नाममा विनाशको खेती सुरु हुन्छ । नेपालमा हरेक आर्थिक वर्षको अन्त्यमा हुने असारे विकास धारा टार्ने र केवल बजेट सक्ने काम मात्रै हुने गरेको छ । सरकारले जेठ १५ मा बजेट ल्याई बजेट समयमानै बजेट पास गरेतापनि बजेट सक्ने उद्देश्यले असारमा अर्थात अन्तिम समयमा काम गर्ने नियतिका कारण गुणस्तरमा लापरवाही हुने गरेको छ । यसले गर्दा हरेक वर्ष विकास–निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हालेसरह हुने गरेको छ । त्यस्तै छोटो समयमा काम गर्दा आर्थिक अनियमिता यत्रतत्र तत्र छरपष्ट देख्न र सञ्चारमाध्यमहरूबाट सुन्न पाइन्छ । यो समयमा दुर्गम गाउँ, बिकट गाउँबस्तीदेखि राष्ट्रिय आयोजना, नाम चलेका सहर तथा राजधानीका गल्ली–गल्लीमा विकासको नाउँमा विनाश हुने गरेको छ ।
असार वा असारअघि बनाएको सडक असारपछि नै हराउने अथवा असार वा असारअघि कालोपत्रे गरिएको सडक असारपछि नै हिलाम्मे खेतमा परिणत हुने गरेको छ । रातारात सडक कालोपत्रे गर्ने स्थानीय जनप्रतिनिधि र ठेकेदार कम्पनीहरूको कामको सामाजिक सञ्जालहरूमा पोस्ट भएपछि कमेन्टमा ‘दिउँसो मात्रै काम भएमा अनियमितता आमनागरिकले देखिहाल्छन् नि ।’ छिटो काम सकाउन, टालटुल गरी काम सकाउन, न्यूनतम मापदण्ड पूरा नगरिएका गुणस्तरहीन कामलाई समेत स्वीकृत गरेर योजना सम्पन्न भएको प्रतिवेदन र बिलभर्पाई पेस गरी भुक्तानी लिइहाल्न होडबाजी भइरहन्छ । नेपालमा यस्तो नाटक मञ्चन सधै असार महिनामा पर्वको रुपमा गरिदै आएको पाइन्छ । विकास निर्माणको कामलाई प्रक्रियामा अल्झाउने सरकारी ऐननियम र समय–तालिकाअनुसार काम नगर्ने गुनासो लिएर जाँदा कामचोर ठेकेदार र अनियमितता गर्न पल्केका सरकारका जिम्मेवार पदाधिकारी अनभिज्ञताको नाटक मञ्चन गर्दछन ।
यसरी मध्य बर्खामा हुने विकास–निर्माणका कार्यहरू हतारमा गरिने हुँदा केवल बजेट सक्ने काम मात्र हुने गरेको छ । यस्तो विकास जनमैत्री, दीगो, पारदर्शी नभई जन–समुुदायमा पाइलैपिच्छे विभिन्न समस्या सिर्जना गर्ने गरेको पाइन्छ । यो समयमा गरिने विकासले विनाश ल्याउने गरेका छन् । हतारको विकास निर्माण कार्यहरूले भष्टचार, अनियमिततासँगै भू–क्षय, बाढी पहिरो र जनतामा प्रत्यक्ष तथा अप्रत्यक्ष समस्याहरू उत्पन्न भइरहेका छन । असारे झरीमा गरिने विकास निर्माणका कामले धनसँगै जनको पनि धेरै क्षति र दुर्घटना हुने गरेको छ । यति हुँदाहुँदै पनि आखिर किन असार मसान्तमै विकास निर्माणका कार्यहरू तीव्र गतिमा सञ्चालन गरिन्छ ? यो नीति हो कि नियति ? गहन समिक्षाको बिषय बन्नु पर्नेमा ओझेलमा परिरहेको छ । वर्षभरिलाई छुट्ट्याइएको विकास निर्माण खर्चको लगभग ७० प्रतिशत मात्र काम केवल आर्थिक वर्षको अन्त्यमा समाप्त गरिने प्रचलन भित्र धेरै कारणहरु रहेका छन । ती मध्ये पहिलेदेखि चल्दै आएको चलन हो भन्नेहरु पनि धेरै रहेका छन ।
वर्षौंदेखि बन्दै आइरहेका राष्ट्रिय गौरवका आयोजनादेखि बर्षेनि हुने बाटो, पुल, अस्पताल, सामुुदायिक भवन तथा सरकारी टेन्डरबाट हुने विकास निर्माणका अधिकांश कामका साथै अपुरा कामहरु आर्थिक वर्षको अन्त्यमा नै गर्नुको पछाडि के रहस्य छ ? यस्ता काम जनताको आँखामा छारो हालेर बजेट सक्ने बाहेक अरु के हुन सक्दछन ? यदि सच्चा विकास गरिएको भए आर्थिक वर्ष सकिएपछि काम किन गरिदैन ? यसरी समयमा काम नगर्ने प्रवृत्ति के कारणले आएको छ ? हाम्रा गाउँघर, आफ्नै टोलभित्रका कामको विश्लेषण गर्दा हजुुरवुबाको पालामा सुरु भएका आयोजना नातिको पालामा सम्पन्न हुन सकेका छैनन । बर्षेनि त्यही आयोजना चलिरहेका छन । आयोजनालाई लैनो भैसी ठान्ने नियतिलाई हामी विकास भन्न विवश छौं । अब यस्ताकार्यलाई विकास भन्ने कि विनाश ? यसरी बजेट सक्नेका लागि गरिने नाममात्रका विकासले जनताको जीवनस्तरमा कहिले समृद्धि आउँछ ? यो प्रवृत्तिमा सुधार नभएसम्म कसरी विकास निर्माणका कार्यहरूले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा होला ? सम्झिने पानी छम्किने भन्ने बाहेक अरु के आसा गर्न सकिन्छ र ?
असारे विकास टालटुले भएकाले हतारमा काम गरेर बजेट सक्ने प्रवृत्तिले एउटै कामका लागि पटक–पटक बजेट विनियोजन गर्नुपर्ने बाध्यता छ । यस्तो प्रवृत्तिले आम उपभोक्तालाई सधै दुःख हुने तर ठेकेदार कम्पनी र तिनका मतियारहरूले बर्षेनी लाभ लिन पाउने भएकाले असारे विकासले प्रश्रय पाउँदै आएको छ । अहिले सहरदेखि गाउँसम्म र गाउँदेखि सहरसम्मै सडक, सिचाइँ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका कामले तीव्रता पाएको देख्दा स्थानीय जनप्रतिनिधिहरूले जनतालाई विकासको काम भएको र आफ्नो प्रतिबद्धता पूरा गरेको ठानिन्छ ।
तर असारमा बजेट सक्ने बहानामा जनताले दुःखजिलो गरेर तिरेको करको चरम दुरुपयोग भएको छ । विनियोजित बजेट असारमसान्तभित्र खर्च गरिसक्नुपर्ने र ठेकेदार कम्पनीहरूले असार मसान्तभित्रै योजना सम्पन्न गरी भुक्तानी स्वीकृत गरिसक्नुपर्ने नीति नियमले गर्दा असारमा रोपाइँको भन्दा बढी विकासको चटारो परेको पर्ने गरेको छ । कागजी रुपमा योजना सम्पन्न भएको प्रतिवेदन र बिल भर्पाई पेस गरी भुक्तानी स्वीकृत गराउन असार महिनाभरि सरकारी अड्डाहरूमा ठेकेदार कम्पनी, उपभोक्ता समिति र स्थानीय जनप्रतिनिधिहरूको भीड लाग्ने गर्दछ । विनियोजित बजेट फ्रिज हुनबाट जोगाउन भन्दै हतार र लतरपतर तरिकाले विकासको कामले दिगो विकासलाई सघाउन भन्दा विनास गरेको छ । यसले बजेटको दुरुपयोग मात्रै बढाएको छैन एघार महिना सुस्तेका ठेकेदार कम्पनीहरूलाई जुर्मुराउने र सरकार र सबद्ध निकायलाई विकासको नाममा बिरालो बाध्ने संस्कार, जनताको आँखामा छारो हाल्ने व्यवहार स्वरुप जाँगर देखाउने प्रवृत्तिले प्रश्रय पाउँदै आएको छ । असार लागेपछिमात्र काममा जुर्मुराउने प्रवृत्तिभित्र कुन कुन असल र खराब प्रवृत्ति लुकेका छन भन्ने कुराको गहन खोज अनुसन्धान हुनुपर्ने खाँचो बर्षौदेखि टड्कारो भएपनि हुन सकेको छैन । असारे विकासले दिगो विकासलाई सघाउँदैन बरु केही शतिmशाली मानिसमात्र सम्पन्न हुने गरेको अनुभव आमनागरिकले धेरै पहिलेदेखि गर्दै आएको भएतापनि कुनै टेरपुच्छर लागेको छैन् ।
असारे विकास तथ्यांकीय खर्चमा सीमित छ । यसले विकास निर्माणको गुणस्तरीयता र दिगोपनालाई समेटन सक्दैन । त्यसैले मुलुकमा आर्थिक सुधारकालागि असारे विकासको शैली बदल्नुको विकल्प देखिदैन । यसका लागि प्रशासनिक ऐन कानुन, नियम, संयन्त्र एवं खर्च प्रणालीमा परिवर्तन गर्नु आजको आवश्यक भइसकेको छ । यस्तो अवैज्ञानिक असारे विकास सधैंका लागि अन्त्य गर्नका लागि आर्थिक वर्षलाई परिवर्तन गर्नु अति आवश्यक देखिन्छ । यदि आर्थिक वर्ष पुस वा माघ महिनामा सुुरु गरेमा विकास–निर्माणले तीव्रता प्राप्त गर्ने र विकास–निर्माणका कार्यहरू बजेटको सदुपयोग वा दुरुपयोग जे उपमा दिए पनि तीव्र गतिमा आर्थिक वर्षको अन्त्यमा हुने गरेकाले मध्य झरीमा सम्पन्न गर्नुुभन्दा अरू समयमा गर्दा गुणस्तरमा केही सुधार हुनेछ । यसैगरी कम खर्चमा धेरै काम गर्न सकिने अपेक्षा गर्न सकिन्छ ।
यसरी आर्थिक वर्षको समय असारलाई परिवर्तन गर्न सकेमा थोरै भए पनि विकास निर्माणका कार्यमा सुुधार हुनेछ । अबका दिनहरूमा राम्रो कामको खुलेर तारिफ गर्ने, हौसला दिने र खराव कामको आलोचना गर्न सकेमा मात्र नेपालीको जीवनस्तर सुधार तथा देशमा समृद्धि ल्याउने विकास आउनेछ । यसकालागि असल नागरिक समाज र नागरिकले जनस्तरबाट खबरदारी गर्नु अति आवश्यक छ । असारमा हुने पूर्वाधार विकास तथा निर्माण क्षेत्रमा हुने भ्रष्टाचार, अनियमिता तथा राजनीतिक हस्तक्षेप रोक्न र गुणस्तरहीन भएका काममा सरकार र सम्बन्धित निकायहरूले छिटोभन्दा छिटो अनुगमन तथा निरीक्षण गर्नु अति आवश्यक छ ।