काठेखोलाको सकरात्मक प्रयास

सम्पादकीय
बागलुङ जिल्ला काठेखोला गाउँपालिका साविकको धौलागिरी अञ्चल सदरमुकाम बागलुङ बजारसँगै जोडिएको गाउँपालिका हो । यो बजारसँगै जोडिएको डाँडावारिकै गाउँहरुको पालिका भए पनि यसभित्रैका दुर्गमता, समस्यता र जटिलताहरु प्रशस्त छन् । भौतिक पूर्वाधारदेखि शिक्षा, चेतना, जागरणका अनेक बाधा व्यवधानहरु छन् । जुन सदरमुकामको नजिकै भएर पनि बर्षौदेखि बत्ति मुनिको अध्यारो जस्तो भएको छ । करिब दुई दशक जनप्रतिनिधिबिहिन अवस्था खेपेका गाउँ शहर मुलुकको नयाँ संघीय अभ्याससँगै केही मुहार फेरिने चरणमा छन् । जनताबाट निर्वाचित जनप्रतिनिधिको आगमन पछि सर्वसाधारण नागरिकमा आशा भरोसा बढ्दो क्रममा छ । विगतको बेवारिसे योजना, काम र अनेक प्रवृत्तिहरुमा उल्लेख्य सुधार पनि आएको छ । तर, अपेक्षित गतिमा काम नभएको नगरेको या समय र सर्वसाधारणको अपेक्षालाई सम्बोधन गर्न नसकेको गुनासो भने यथावत छ ।

नागरिक महत्वंकाक्षा, अपेक्षाका बीच जिल्लाको काठेखोला गाउँपालिकाले के कति काम गरेको छ ? त्यसका लागि नागरिकहरुका बीचमा पुगेर गहिरो सर्वेक्षण र रिर्पोटिङ जरुर होला । तर, सामान्य हिसावले हेर्दा पनि अहिले काठेखोला गाउँपालिकाका नागरिक सदरमुकाम नजिकै भएर पनि सहज यातायात सेवा पाइरहेका छैनन् । सडकको सकस उस्तै देखिन्छ । बाटोघाटो विगतको तुलनामा सुधार र केही स्तरोन्नति त भएका छन् । यद्यपी, फराकिलो सुविधा सम्पन्न सडकमा यात्रा गर्ने अवसरका लागि अझ केही बर्ष पर्खनु पर्नेछ । हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य यात्राको सास्ती यथावत छ । यसमा पनि काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा, वडा नम्बर ४ तंग्राम तथा वडा नम्बर ७ रेशमा बर्खामासमा सवारी अवरुद्ध हुने समस्या विद्यमान छ । गत बर्ष अस्थायी हिम पाइप हालेर सवारी सञ्चालनको प्रयास गरिए पनि बर्खे भेलले जोखिम र अनिश्चितताको अवस्था सिर्जना गरिदियो । यही समस्या र जोखिम टार्न काठेखोला गाउँपालिकाले अहिले एकसाथ रेश तर्फ पक्की पुल निर्माणलाई तिव्रताका साथ अघि बढाइरहेको छ भने धम्जा,तंग्राम तर्फ पक्की पुल निर्माणका लागि मंगलबार शिलन्यास गरिएको छ । यो सकरात्मक कदम हो ।

अहिले बन्न थालेको रेश तर्फको पुल सम्पन्न भए बाह्रैमास सवारी चल्ने छ भने धम्जा, तंग्राम तर्फ अहिले शिलन्यास भएको पुल बने पनि अझै सकस बाँकी रहनेछ । उपल्लो डुडियाखोलामा अर्को पुल अपरिहार्य छ । जसका लागि गण्डकी प्रदेश सरकारले तत्काल काम अघि बढाउने गरि बजेट बिनियोजन गर्ने स्वयम् मुख्यमन्त्रीले उद्घोष समेत गरेका छन् । काठेखोला गाउँपालिकाका अरु वडामा बाह्रैमास सवारी आवागमन भइरहेको परिवेशमा बाँकी तीन वडाको सहजताका लागि एक साथ दुई पक्की पुल निर्माण थालनी हुनु र थप अर्को पुलका लागि मुख्यमन्त्रीबाट कबुल हुनु उत्साहप्रद र दीर्घकालिन महत्व र प्रभावी बिषय हो । अब यि तीन पक्की पुल बने गाउँपालिकामा बाह्रै महिना सडक सुविधा पु¥याउने निर्वाचित जनप्रतिनिधिको चुनावी प्रतिवद्धता पनि पुरा हुनेछ । यसले काठेखोलावासीलाई बर्खायाममा हुने सडक सकसको समस्यालाई सहज रुपमा समाधान गर्नेछ । यति मात्रै होइन, अरु स्थानीय उत्पादनको बजारिकरण, सम्भावनालाई उजागर तथा व्यवस्थापनका लागि समेत उल्लेख्य भुमिका खेल्नेछ । अहिले जरुर तीन ठाउँमै पक्की पुल तत्काल निर्माण गर्न सके स्वभाविक काठेखोला गाउँपालिका धन्यवाद र प्रशंसाको हकदार बन्नेछ ।
-जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *