रघुगंगाको १६६ योजना कार्यान्वयन


अमृत बास्कुने, म्याग्दी

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा १६६ योजनाहरु कार्यान्वयनमा आएका छन् ।

गाउँपालिकाले उक्त आर्थिक वर्ष छनौट गरेका १६८ योजना मध्ये १६६ योजना कार्यान्वयन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकालले बताउनुभयो । रघुगंगा गाउँपालिका–२ भगवती र ५ झिँ को वडा कार्यालय निर्माण सम्पन्न भएका छन् ।

त्यस्तै झिँ–टोड्के सडक, भगवती र झिँमा कोल्डस्टोर, घुमाउनेताल–तिल्केनी–राहुघाट नदी नियन्त्रण जस्ता महत्वपूर्ण योजना कार्यान्वयन भएका छन् । मुक्तिधाम माविको भवन, रघुगंगा माविको भवन र धौलागिरी आधारभूत विद्यालयको भवन पनि निर्माण सम्पन्न भएको छ ।

वडा नम्बर ७ चिमखोलाको स्वास्थ्यचौकी भवन निर्माणाधिन छ भने वडा नम्बर ८ को रितुङ माध्यमिक विद्यालयको भवन पनि यो वर्ष निर्माण सम्मन हुन नसके पनि अन्तिम चरणमा पुगेको गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले बताउनुभयो ।

गौतमका अनुसार खानेपानी आयोजनाबाट पाँच सय ७३ घरका दुई हजार दुई सय ६९ जना लाभान्वित भएकाछन् । १.२७ किलोमिटर ढल निर्माण, २ वटा झोलुङ्गे पुल निर्माण, १७६ मिटर सडक ढलान, ३७९ मिटर सडक ग्रावेल, सात किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको छ ।

त्यस्तै १३ वटा खेल मैदान निर्माण, १५ वटा सामुदायिक भवन निर्माण, एक हजार चार सय १२ मिटर गोरेटोबाटो, विद्यालयहरुमा दुई सय ७५ मिटर घेराबार, १६९ मिटर तटबन्ध तथा तीन वटा पोखरी एवम् तालतलैया संरक्षणको काम आव ०७९/०८० मा भएको छ ।

गाउँपालिकाको चालु आर्थिक वषको कुल ५३ करोड ९९ लाख पाँच हजार बिनियोजन गरेकोमा ४६ करोड ९१ लाख २४ हजार आम्दानी भएको थियो भने उसले असार अन्तिम सम्ममा ४२ करोड ६७ लाख ३४ हजार रुपियाँ खर्च भएको जनाएको छ ।

चालु तर्फ ३५ करोड ११ लाख ५१ हजार विनियोजित भएकोमा २९ करोड १८ लाख ९६ हजार खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ १८ करोड ८३ लाख ५४ हजार मध्ये १२ करोड ७८ लाख ३७ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *