तातोपानी कुण्डबाट संकलन भयो ६३ लाख

अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा रहेको तातोपानी कुण्डमा नुहाउनका लागि आउने बिरामीहरुले झण्डै ६३ लाख रुपैयाँ प्रवेश शुल्क वापत तिरेका छन् । कुण्डले उक्त आम्दानीलाई आफ्नो भौतिक पूर्वाधार निर्माण प्रशासनिक खर्च एवम् सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिको आठौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको क्रममा समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९–०८० मा कुण्डको प्रवेश शुल्क वापत ६२ लाख ९७ हजार पाँच सय ५० रुपैयाँ संकलन भएको हो । त्यस्तै कुण्डलाई स्वेच्छिक चन्दाबाट ४० लाख १६ हजार एक सय ९२, कुण्ड परिषरमा भएको मन्दिरमा भेटी पाँच लाख ३० हजार पाँच सय ८५ रुपैयाँ संकलन भएको थियो । त्यस्तै आजिवन सदस्यता वापत तीन लाख आठ हजार छ सय ९० र मिनि कुण्ड सञ्चालन बाट २५ लाख ८८ हजार चार सय रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षको हाल सम्म कुण्डले कुल एक करोड ३७ लाख ४१ हजार चार सय १७ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै खर्च तर्फ कुण्डले बेनी नगरपालिकालाई २३ लाख ७४ हजार नौ सय ७३, ऋणको ब्याज तथा साँवा भुक्तानी ३८ लाख ६२ हजार तीन सय ९९, कर्मचारी तलबमा ११ लाख ३३ हजार सात सय छ रुपैयाँ खर्च गरेको छ । त्यस्तै कुण्डले सरस्वती माध्यमिक विद्यालयको शिक्षका लागि तलब वापत१३ लाख ६४ हजार एक सय ९५ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कुण्डको उचित प्रचार प्रसार र मुहान संरक्षणका लागि योजना बनाइएको बताउनुभयो । कुण्ड वरपरको क्षेत्रमा घर निर्माणका लागि नयाँ मापदण्ड तयार गरीएको बताउँदै साउन देखि उक्त घरनिर्माण मापदण्ड कडाइका साथ पालना हुने बताउनुभयो । तातोपानीको मुहान संरक्षण र सम्बद्र्धनका लागि उक्त नियम कडाइ गर्नुपर्ने उहाँको भनाई थियो ।

उपप्रमुख ज्योती लामिछानेले कुण्ड व्यवस्थापन समिति सँग नगरपालिका साथ रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको फरक तबरले प्रचार गर्नुका साथै अगाडी बढाएर पर्यटक आगमन बढाउनका लागि सबैले प्रयास गर्नु पर्ने उहाँले बताउनुभयो । थप आम्दानी बढाउनका लागि बृहत्तर गुरुयोजना बनाएर अगाडी बढ्नु पर्ने उहाँको तर्क थियो ।

वडा अध्यक्ष भगवान खड्काले राज्यको आफ्नो सम्पत्ती राज्यले संरक्षण गर्न सक्ने बताउँदै, राज्य आफ्नो सम्पत्ती संरक्षण गर्न सक्षम रहेको तर्क गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य प्रेम श्रीष, तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्व सचिव मिनबहादुर बानियाँ, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, मगर संघ तातोपानी इकाइ अध्यष कृष्ण घर्ती, टोल विकास समितिका अध्यक्ष दिपक बानियाँले मन्तव्य राख्नु भएको थियो । अध्यक्ष बीरेन्द्रमान शाक्यको अध्यक्षता, जेष्ठ सदस्य गणेश बानियाँको स्वागत र सचिव कृष्ण खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त प्राकृतिक चिकित्सालयको रुपमा रहेको कुण्डमा नुहाउन आउनेहरुले तिर्ने शुल्कबाट शिक्षा, स्वास्थ्य तथा यातायातको क्षेत्रमा लगानी हुने गरेको छ । प्राकृतिक रुपमै तातोपानी निस्कने र गन्धक र बिरेनुनका गन्ध सहितको पानीको कुण्डमा नुहाउँने (कुण्डमा बसेर नुहाउनेलाई स्थानीय भाषामा डुब्ने भन्ने गरिन्छ) गर्दा विभिन्न रोग निको हुने मान्यता सहित मानिसहरु आउने गर्दछन् । तातोपानी कुण्डमा नुहाँउँदा छाला सम्बन्धी रोग, बज्रेको, मर्केको, ग्याष्टिकलगायतका समस्या निको हुने गरेको कुण्डमा नुहाउन आउनेहरुको भनाई छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यका अनुसार बेनी नगरपालिका–सिंगा तातोपानी क्षेत्रमा ढल व्यवस्थापन कुण्डकै आर्थिक सहयोगबाट भएको थियो । कुण्डको आम्दानीलाई खर्च गरेर साविको सिंगा गाविस–४ तातोपानी क्षेत्रमा ढल व्यवस्थापन गरिएको थियो । त्यस्तै तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा १२ जना शिक्षकलाई कुण्डले तलब व्यवस्था गर्दै आएकोमा हाल दरवन्दी मिलान भए पछि ६ जना शिक्षकलाई वार्षिक १२ लाख रुपैयाँ कुण्डले उपलब्ध गराउने गरेको छ । प्रावि दरवन्दीको विद्यालयमा माध्यमिक तह सम्म अध्ययन गर्ने विद्यार्थी हुँदा पढ्न टाढा पठाउन भन्दा कुण्डले आर्थिक व्यवस्थापन गरेर बिद्यालयमा मावि सञ्चालन गरेका थियौं कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले भन्नुभयो । तातोपानी नजिकैका क्षेत्रमा सिंचाइ तथा खानेपानी र सडकमा समेत कुण्डकै रकमबाट निर्माण गरिएका छन् ।

कुण्ड सँगै प्राकृतिक चिकित्सालय सञ्चालनका लागि डेढ करोड खर्चेर भवन निर्माण गरेको छ । पहिला खुल्ला आकाश मुनि कुण्डमा बस्नु पर्ने बाध्यता थियो भने अहिले जस्ताले छाएको कुण्डमा चर्को घाम होस या वर्षा जुन सुकै समय पनि नुहाउन मिल्ने व्यवस्था छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिले तीन वटा कुण्ड निर्माण गरेको छ । बिरामीहरुले नुहाउनका लागि तीन सय जनाले एकै पटक नुहाउन मिल्ने कुण्ड रहेको छ । त्यस्तै एक दिन नुहाउनका लागि मात्रै जानेहरुका लागि ३५÷३५ जना क्षमताको दुई वटा साना कुण्डहरु रहेका छन् । ठूलो कुण्डमा ७ दिनका लागि ३५० रुपैयाँ लाग्छ भने एक दिनका लािग एक सय रुपैयाँ लिने गरिन्छ । त्यस्तै सानो कुण्डमा बेलुका ५ बजे सम्म एक सय रुपैयाँ र बेलुका ५ देखि ९ बजे सम्मका लागि जनही दुई सय रुपैयाँका दरले शुल्क कुण्ड व्यवस्थापन समितिले लिने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *