बेइमान बन्न नपाउँदा मात्र इमान्दार ?

सम्पादकीय
नेपाली समाजमा एक भनाई चरितार्थ छ, नेपालीहरु इमान्दार त्यतिबेला सम्म हुन्छन्, जतिबेला सम्म उनीहरु बेइमान हुने काम अवसर पाउँदैनन् । यो उत्ति बेला बेलामा समाजमा भइरहेको घटना प्रवृत्तिले यथार्थ सावित गर्छ । हुन पनि इमान्दार भनिएका मानिसहरु पनि आर्थिक प्रलोभन, बिभिन्न आंकाक्षा र दबाबहरुको परिबन्दमा परेर गम्भिर अपराध कर्ममा सामेल भइरहेका दर्जनौ दृष्टान्त समाजमा घटित छन् । यसले के देखाउँछ भने हाम्रा इमानहरु पनि बेइमान बन्न नपाउँदा सम्मका लागि मात्र कायम छन् । कसैले बेइमान बन्न प्रस्ताव ग¥यो या त्यसमा व्यापक मुनाफा लाभको कुरा बतायो भने त्यसकै रनभुल्लमा परेर आफ्नो इमान, स्वाभिमान बिर्सिने जमात निकै ठुलो देखिसकेको छ ।

पछिल्ला ठुला भ्रष्टाचार प्रकरणहरु नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण यसकै उपज हुन् । अर्को तर्फ हालै चर्चित कलाकारहरु एक अनलाइन गेमको अवैध प्रचारको आरोपमा पक्राउ परेको घटना पनि यसकै उपज हो । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ । उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो । भलै अहिले उनीहरु ५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

समाजले सेलिब्रेटी आइडल ठानेका कलाकाहरु पनि अवैध कार्यमा किन र कसरी जोडिए ? अरु यस्तै चर्चित सामाजिक, राजनीतिक, व्यावसायिक व्यक्तिहरु पनि किन अवैध धन्दामा जोडिन्छन् ? कारण छिटो धन आर्जन गर्ने लालसा र महत्वकांक्षा नै हो । भन्दा जे भने पनि जे गरे पनि चाँडो पैसा कमाउने आशक्तिबाटै यस्ता घटना परिघटनाहरु भइरहेका छन् । बेइमान बन्न नपाउँदा सम्मको इमान्दार बन्ने प्रवृत्तिबाट समाज र देश ग्रसित छ । इमान र बेइमानको सामान्य परीक्षण गर्ने हो भने पनि धन, सम्पत्ति, सत्ता शक्तिका लागि जे पनि गर्न तयार हुने मनोविज्ञान र मनोवृत्ति सर्वत्र छ । जस्तै कठिन अवस्था र परिस्थितिमा पनि इमानको आदर्शबाट च्युत नहुने मान्छे देशका लागि चाहिएको छ । त्यसैले, अब यस्तो प्रवृत्तिका बिरुद्ध पनि आवाज र अभियान बुलन्दित हुनुपर्छ । बेइमान हुन नपाउँदा सम्मको इमान्दार बन्ने प्रवृत्ति पनि समाज र देशका लागि हानिकारक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *