जापानबाट फर्केर बाख्रापलनामा गलकोटका बस्नेत


खेमराज गौतम, बागलुङ
गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रा पालनमा व्यस्त हुनुहुन्छ ।

११ वर्ष अघि विद्यार्थी भिषामा जापान पुग्नुभएका रमेश बस्नेत ८ वर्ष जापानमा बस्नुभयो । कोराना कहरको समयमा नेपाल आउनुभएका बस्नेत पुनः जापान फर्कन चाहानुभएन ।

कोरोना कहरमा धेरै नेपालीहरु समस्यामा परेको सम्झदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गर्नुभयो । बस्नेतले ८ वर्षको जापान बसाई टुङ्गाएर गलकोट नगरपालिका–९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आउनुभएको छ ।

बस्नेतले गल्याङमा झण्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापलन गर्दै आउनुभएको हो । उहाँले बाख्रापलनमा आधुनिक प्रविधिको प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापनबाट बाख्रापलन गर्दै आएको बताउनुभयो ।

बाख्रापालनका लागि विदेशबाट आयातितक घाँस खेती समेत गर्दै आएको बस्नेतको भनाई छ ।
बागलुङको गलकोटका युवाहरु अधिकांश जापान जाने गर्दछन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँ समेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमानै केही गर्ने अठोटका साथ तीन वर्षदेखि वाख्रापालन थाल्नुभएको छ ।

उहाँको वाख्रापालनमा झण्डै ४० लाख लगानी भइसकेको छ । “वैदेशिक रोजगारीका लागि ८ वर्ष जापान बसे, विद्यार्थी भिषामा जापान पुगियो, कोरोना कहरको समयमा नेपालमा आएको थिए, फर्कन मन लागेन” बस्नेतले भन्नुभयो “जापानमा दुःख गरेको कमाईलाई व्यावसायीक काममा लगानी गर्ने सोच आयो, बाख्रापालनमा आफ्नो भविष्य देखे, अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी रहेका छन् ।”

बस्नेतले बाख्रापालनका लागि आधुनिक र प्रविधिमैत्री खोर बनाउनुभएको छ । उहाँले खोर निर्माणमै लाखौ लगानी गर्नुभएको छ । २०० बाख्रा क्षमताको आधुनिक खोरनिर्माण गर्नुभएको छ भने बाख्रा फर्म वरपरको जग्गा तारबार गरेर व्यवस्थित समेत गर्नुभएको छ ।

“विदेशको दुःख समेत भोगियो, नेपालमै केहीगर्न सकिन्छ भन्ने अठोट गरेर फर्म स्थापना गरेको हु, अहिले बाख्राका पाठा–पाठी हुर्काउनका लागि आवश्यक दूधका लागि समेत दुई वटा गाई समेत पाल्दै आएको छु” बस्नेतले भन्नुभयो “पहिलो वर्ष फर्म स्थापना गरियो, दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो, तेस्रो वर्ष मात्रै ५० वटा बोका बिक्रि गर्न सफल भइयो ।” सरदरमा हाल सम्म १२ देखि १५ लाख आम्दानी भएपनि उक्त आम्दानी फर्म विस्तारमै खर्च गरिएको उहाँको भनाई छ ।

अहिले सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन् । बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उहाँको भनाई छ । फर्ममा उत्पादित खासी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको बस्नेतको भनाई छ ।

फर्ममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत बाख्रा ब्लक कार्यक्रम अन्र्तगत गत आर्थिक वर्षमा रु. एक लाख अनुदानमा ट्रस्ट निर्माण गरेको उहाँको भनाई छ ।

बाख्रापालनबाट भइरहेको आम्दानी फर्म विस्तारमै लगानी भइरहेको भन्दै बस्नेतले फर्मलाई पूर्ण क्षमतामा २०० बाख्रा पालन गर्ने जानकारी दिनुभयो । स्थानीय पालिका गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गर्दै आएको बाख्रापालन किसान बस्नेतको भनाई छ । फर्ममा उन्नतजातको बोयर बिउँ बोका समेत रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *