आठ सय रोपनी जग्गालाई चक्लाबन्दी गरेर नगदेबाली


खेमराज गौतम, बागलुङ

बाँझो जग्गाको सदुपयोग संगै उत्पादनमा वृद्धि भएपछि बागलुङका किसानहरु चक्लाबन्दी तर्फ आर्कषित भएका छन् ।

बसाईसराईका कारण बाँझो जग्गा बढ्दै गएको, एकल खेति भन्दा सामुहिक खेतिले उत्पादन बढाउने र एकिकृत उत्पादनले बजारीकरणमा समेत सहयोग पु¥याउने भएपछि जिल्लाका किसानहरु चक्लाबन्दी तर्फ आकर्षीत भएका छन् ।

बाँझो जग्गालाई एउटै पलट बनाउने, जग्गाकोे खण्डिकरण मिलाउने र एकल बाली लगाउदा उत्पादनमा वृद्धि हुने भएपछि जिल्लाका किसानहरुले फर्म, समूह र सहकारी मार्फत चक्लाबन्दी गर्न थालेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको अगुवाईमा बागलुङ जिल्लामा पछिल्लो तीन वर्ष यता १२ स्थानको कृषि फर्म, समूह तथा सहकारी मार्फत ८०० रोपनी जग्गा चक्लाबन्दी भइसकेको मात्रै छैन चक्लाबन्दीमा गरिएको किबी तथा कागतीले उत्पादन दिन थालेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यालय बागलुङ अन्र्तगत रु. ५० लाख लगानी तथा स्थानीय फर्म, कृषि समूह तथा सहकारी मार्फत ४५५ रोपनी जग्गामा कागती खेती, ओखर खेति किबी खेति, तरकारी खेति र स्याउखेति थालिएको आयोजनाका प्रमुख बरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताउनुभयो ।

“शुरुमा किसानहरु चक्लाबन्दीको विषयमा जानकार नभएर कम निवेदन आउथ्यो, अहिले निवेदन धेरै आउछ, यो वर्ष २१ फर्म, समूह र सहकारीमा आबद्ध किसानहरुले चक्लाबन्दीका लागि निवेदन दिनुभएको थियो, हामीले पाँच वटा फर्मलाई मात्रै स्विकृत गरेर चक्लाबन्दीका लागि थालिएको प्रस्तावना अनुसार काम भइसकेको छ” पौडेलले भन्नुभयो “एउटै पलटमा एकल बाली लगाउदा उत्पादन लागत घट्ने, धेरै परिणाममा उत्पादन हुँदा उत्पादनको बजारीकरणमा सहजता लगायतका कारण चक्लाबन्दीमा किसान आर्कषित भएका हुन् ।”

पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा चक्लाबन्दी कार्यक्रम अन्र्तगत गतेरा पशुपन्छी युवा कृषक समूह निसीखोला गाउँपालिका वडा नम्बर ४ मा ५६ रोपनी बाँझो जग्गामा ८५० वटा किबीका विरुवा लगाइएको छ भने ८५० थान नै क्रंकिटको पोल व्यवस्थापन गरिएको छ । उक्त समूहमा २५ जना किसान आवद्ध रहेका छन् । बाँझो जग्गालाई सदुपयोग गर्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको उद्देश्य अनुसार यहाँका किसानहरु उत्साहित भएर किवि खेति गरिरहेको गतेरा पशुपन्छी युवा कृषक समूहका अध्यक्ष लिला घर्तीले बताउनुभयो ।

“बाँझो जग्गा थियो, चक्लाबन्दी भनेको जग्गा सम्माउने मात्रै होला भन्ने थियो, एउटै प्लटमा एकै प्रकारको खेति ६० रोपनी भन्दा माथी गरेपछि चक्लाबन्दी हुँदो रहेछ” घर्तीले भन्नुभयो “परियोजनाको रु.८ लाख ६० हजार र समूहको रु. तीन लाख गरी रु. ११ लाख ६० हजार लागतमा किबी खेति गरेका छौं भने किविलाई आवश्यक पोल र तार समेत अहिलेनै व्यवस्थापन गरिएको छ ।”

यस्तै जैमिनी नगरपालिका–३ स्थित छन्त्याल कृषि समूहले २०० रोपनी बाँझो जग्गामा ओखर खेति गरेको छ । ३० जना किसानको समूह रहेको उक्त समूहमा सिचाईको समेत व्यवस्था परियोजना मार्फत गरिएको छ ।

यस्तै ढोरपाटन नगरपालिका–९ स्थित नवी गाउँको ८० रोपनी जग्गामा एक हजार २०० स्याउका कलमी विरुवा लगाइएको छ । २० जना किसान आबद्ध रहेको समूहमा सिचाईको व्यवस्था मिलाइएको छ । नवी गाउँमा आलु खेतिमा भन्दा स्याउखेतिबाट दोब्बर आम्दानी गर्न सकिनेभएकाले किसानहरु स्याउ खेतिमा लागेका हुन् । नवी गाउँमा लगाइएका स्याउ तीन वर्षपछि फल्न थाल्नेछ ।

यस्तै चक्लाबन्दी कार्यक्रम मार्फत बागलुङ नगरपालिका–८ गडेलबोटमा गडेलबोट कृषि तथा पशुपालन समूह अन्र्तगत एकिकृत तरकारी खेतिका लागि ३५ वटा अस्थायी र ३ वटा स्थायी प्लाष्टिक टर्नेल स्थापना गरिएको छ भने ७० रोपनी जग्गामा व्यवसायिक तरकारी खेतिका लागि ४० घरलाई समावेश गरिएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ स्थित गैरीखेत कृषक समूहमा चक्लाबन्दी कार्यक्रम अन्र्तगत ४० रोपनी जग्गामा ६०० वटा कागतीका विरुवा लगाउने, तारबार व्यवस्थापन र सिचाईको व्यवस्था मिलाइएको छ ।

चक्लाबन्दी कार्यक्रम अन्र्तगत एउटै प्लटमा ६० देखि १०० रोपनी जग्गामा एकै प्रकारको खेति गर्न आवश्यक हुन्छ । परियोजनाले चक्लाबन्दीका लागि सामाग्री खरिदमा ५० प्रतिशत र निर्माण कार्यमा ८५ प्रतिशत अनुदान दिएर किसानलाई चक्लाबन्दी तर्फ प्रोत्साहित गरेको छ ।

बागलुङ जिल्लालाई बिस्तारै जग्गा चक्लाबन्दी गरेर व्यावसायीक खेति प्रणालीमा लैजान थालिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । उहाँले थोरै जग्गामा खेति गर्दा उत्पादन लागत बढ्ने र बजारीकरणमा समस्या हुने भएकाले एकिकृत ढंगले खेति गर्न चक्लाबन्दी आवश्यक रहेको बताउनभयो ।

बसाई–सराईले क्रमश गाउँका जग्गाहरु बाँझो पल्टिने, जग्गाको खण्डिकरणका कारण यन्त्रिकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दी गर्न थालिएको हो । नगदेवालीको उत्पादन बढाउने, यन्त्रिकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नेका लागि जग्गा चक्लाबन्दीको योजना निरन्तर रुपमा जिल्लामा सञ्चालित भइरहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले जनाएको छ । चक्लाबन्दी कार्यक्रममा समावेश हुँनका लागि फर्मको ६० रोपनी र समूहको १०० रोपनी जग्गाभन्दा माथी हुँन आवश्यक छ ।

चक्लाबन्दी जग्गामा सजिलै यन्त्र उपकरण लैजान सकिने, पानीको निकास हुँने, पहिरो नजाने तथा उत्पादनमा समेत वृद्धि हुँने र उत्पादन लागत घट्ने भएकाले जग्गा चक्लाबन्दीमा किसानहरुको आर्कषण बढेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापाले बताउनुभयो । चक्लाबन्दी भन्दैमा डोजर लगाएर जग्गा सम्माउने मात्रै नभएर जग्गाको खण्डीकरण मिलाउने र अन्न बाहेकको एकल बाली लगाउनेलाई समेत चक्लाबन्दीका रुपमा लिइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *